भर्खरै :

देशघाती र जनविरोधी उम्मेदवारलाई हराउनुपर्छ

राजनीतिक दलका नेताहरूले नै सरकारको नेतृत्व गर्छन्, दल सञ्चालन गर्छन् र मार्ग निर्देश  गर्छन् । यसकारण, नेताहरू जहिल्यै गम्भीर र संवेदनशील हुनुपर्छ । नेताहरूले गल्ती गरेमा दलको मात्र होइन देशकै हानि हुन्छ । कुनै पनि निर्णय गर्नुभन्दा पहिले, सन्धि सम्झौता गर्नुभन्दा पहिले सोच्नुपर्छ, विचार गर्नुपर्छ । नेताहरूले सोच विचार गरेनन्, बुद्धि पु¥याएर काम गरेनन् भने देश र जनतालाई दूरगामी असर पर्छ । यसकारण, दलका हरेक नेताहरूले आवेगमा, रिसमा जे पनि बोल्नुहुँदैन, तथानाम गाली गर्दै अभिव्यक्ति दिनुहुन्न ।

सत्तासीन र ठूला दलका नेताहरू प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको सन्दर्भ जोडेर बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने बखान गर्दै छन् । एकातिर नेकाको नेतृत्वमा बनेको गठबन्धन दलका नेता र एमालेका नेताहरूले पनि बहुमत ल्याएर सरकार चलाउने कुरा फलाक्दै छन् भने अर्काेतिर राप्रपा र स्वतन्त्र दाबी गर्ने व्यक्तिहरूले पुराना सबै नेताहरूलाई हराउनुपर्छ भनी उद्घोष गर्दै छन् । तिनीहरू निर्वाचन नहुँदै बहुमत ल्याउने सपना बाँडेर जनताको मत आफूतिर तान्ने प्रयास गर्दै छन् । अर्का थरी व्यक्तिहरू तिनीहरूलाई नै हराउने दाबी गर्दै सभा गर्दै छन् । बहुमत ल्याएर अहिले नै फलाना प्रधानमन्त्री बनाउने र सबै नेताहरूलाई हराउनुपर्छ भन्ने विचार सही होइन ।

अबको निर्वाचनमा देशघाती नागरिकता पारित गर्ने, एमसीसी सम्झौता पारित गरेर देश र जनतालाई दूरगामी असर पार्ने दल र दलका उम्मेदवारहरूलाई हराउनुपर्छ । देश र जनताको निम्ति लड्ने दलका उम्मेदवारलाई हराउने होइन जिताउनुपर्छ । नागरिकता विधेयकको विरोधमा सडक र सदनमा सङ्घर्ष गर्ने दल र दलका उम्मेदवालाई जिताउनुपर्छ । देशको स्वाधीनता र सार्वभौम सत्ता जोगाउन एमसीसीको विरोधमा लड्ने दल र दलका उम्मेदवारलाई जिताउनुपर्छ भन्ने सन्देश गाउँ–ठाउँमा पु¥याउनुपर्छ । देशका सबै दलका नेताहरू खराब हुँदैनन्, देशघाती र जनविरोधी हुँदैनन् । देशको सीमा बचाउन, नेपाली भूमि डुबानबाट बचाउन आन्दोलन गर्ने देश र जनताप्रति जिम्मेवार दलका उम्मेदवारलाई मतदान गरेर जिताउनुपर्छ ।

हो, विचारमा अडान नभएका, छिन–छिनमा पार्टी फेर्दै या नयाँनयाँ पार्टी बनाउँदै देशमा गलत सन्देश दिने उम्मेदवारहरूलाई छानी–छानी हराउनुपर्छ । भ्रष्ट नेता, कमिसनखोर, कालाबजारिया र धनाढ्यहरूलाई निर्वाचनमा हराउनुपर्छ । जनतामा भ्रमजाल फैलाउने, सिद्धान्त र विचारको भन्दा जसरी पनि जित्न पैसा बाँड्ने, लोभलालच देखाउने, डर धम्की दिने दल र दलका उम्मेदवारलाई हराउनुपर्छ । देशमा फेरि निरङ्कुश व्यवस्था ल्याउन लागिपरेका राजाभन्दा राजावादीहरूलाई हराउन जनता जाग्नुपर्छ । देश र जनताको लागि दुःख गर्ने, इमानदारीपूर्वक सेवा गर्ने दल र दलका उम्मेदवारलाई जिताउनुपर्छ । अनि हाम्रो मत खेर जानेछैन र हामीलाई गौरवको अनुभूति हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *