भर्खरै :

गोर्खा भर्तीको ‘गुदी’

मेरी आमाको सपना अधुरै रह्यो मेरै कारण । उनको सपना थियो, छोरालाई लाहुरे बनाउने । उनी माइतीबाट प्रभावित थिइन् । मामाका छोराहरू अधिकांश लाहुरे थिए । तर, लाहुरे मेरो रहर बनेन । कारण, मेरा काकाहरू र गाउँका सबैजसो दाइहरू शिक्षक थिए ।
मेरी आमालाई अझै पनि मैले हासिल गरेको डिग्रीमाथिको हर्षभन्दा लाहुरे नभएकोमा दुखेसो छ । आमाको मानसिकता लाहुरे समुदायको एउटा प्रतिविम्वित मानसिकता मात्रै हो । लाहुरे समुदायमा आमाहरू छोरा होइन, लाहुरे जन्माउने प्रतिस्पर्धा गरिरहन्छन् । त्यसैले त कवि भूपि शेरचनले लेखेका छन्, ‘जहाँका स्वतन्त्र आमाहरूले, छोरा होइन लाहुरे मात्र जन्माउँछन् ।’
गोर्खा भर्तीको सङ्क्षिप्त इतिहास
गोर्खा भर्तीलाई नेपालीहरूले निरन्तरता दिइराख्नुको खास कारण औपनिवेशिक बेलायत तथा नेपालका तत्कालीन शाह र राणा शासकहरूको स्वार्थद्वारा निर्मित बाध्यता हो । पृथ्वीनारायण शाहको राज्य विस्तारभन्दा पहिलेदेखि नै नेपालमा ‘इस्ट इन्डिया कम्पनी’ ले आफ्नो चासो र उपस्थिति जनाउन थालेको थियो । यसरी पृथ्वीनारायण शाहले पनि आफ्नो राज्य विस्तारको क्रममा र ब्रिटिस साम्राज्यले पनि नेपाली भू–भागमा आफ्नो प्रभुत्व जमाउन खोज्ने क्रममा भैराख्ने युद्धमा नेपालको पहाडे जातिहरूले देखाएको युद्ध कौशलप्रति बेलायतका सैन्यविद्हरू अकर्षित भएका थिए ।
प्रथम विश्वयुद्धमा २ लाख गोर्खा सेना रहेको ब्रिटिससँग हाल ३१ सय मात्र गोर्खा सेना रहनु र पछिल्ला वर्षहरूमा जम्मा २ सयका दरले मात्र गोर्खा भर्ती लिनुलेपनि ब्रिटिस स्वार्थ प्रस्ट हुन्छ ।
ब्रिटिस फौज सन् १७६७ सेप्टेम्बरमा कप्तान किनलकको नेतृत्वमा २४ सयको शक्तिशाली फौज नेपाल प्रवेश ग¥यो । आधुनिक र वैज्ञानिक अध्ययनका साथ नेपाल प्रवेश गरेको फौजलाई सिन्धुलीको पौवागढीमा लुकेर बसेका गोर्खाली सेनापति वंशु गुरुङ र वंशराज पाँडेको टोलीले छापामार आक्रमण गरी परास्त ग¥यो । युद्धको क्रममा अङ्ग्रेजहरूतर्फ झन्डै एक हजार र गोर्खाली फौजतर्फ करिब तीन सय मारिए । यो नै गोर्खाली फौज र बेलायत साम्राज्यबीचको पहिलो मुठभेड थियो ।
त्यसपश्चात्, ब्रिटिसले नेपालमाथि आक्रमण गर्न चाहेन । तर, ब्रिटिस सरकारले दुई महत्वपूर्ण रणनीति तय ग¥यो । पहिलो, नेपाली शासकहरूलाई तराईको जमिनबाट लखेट्ने र त्यसैको आम्दानीको भरमा धनी भएको दरबारलाई कमजोर बनाउने । दोस्रो, गोर्खालीहरूलाई आफ्नो सेनामा लिन सक्दा नेपालमा गरिने कब्जाबाट भन्दा बढी फाइदा हुने आँकलन ।
नेपाल र तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीबीच सन् १८१४—१८१६ मा भएको लडाइँमा नेपाली सेनापति तथा पश्चिम कमान्ड सम्हालेका जनरल अम्मरसिंह थापा र अङ्ग्रेज कमान्डर जनरल डेभिड अक्टरलोनीका बीचमा भएको भनिएको तर नेपाल पक्षलाई जर्बजस्ती गर्न लगाइएको जस्तो लाग्ने एउटा सम्झौता पत्रले नै नेपालीहरूलाई ब्रिटिस सेनामा काम गर्ने बाटो खुलाएको थियो । सन् १८१६ मार्च ७ मा भएको सुगौली सन्धिसँगै नेपाल अङ्ग्रेजबीचको युद्ध समाप्त भएको हो ।
सन् १८१५ अप्रिल २४ बाट गोर्खाहरूलाई तीनवटा गोर्खा बटालियन (फस्ट नासिरी, सेकेन्ड नासिरी र सिरमुर) स्थापना गर्ने निर्णय गरे । मलाउँको किल्ला ढलेपछि युद्धबन्दी बनाइएका गोर्खालीहरू यी बटालियनमा सहभागी थिए । पहिलोपटक युद्धबन्दीहरूबाट झन्डै पन्ध्र सय गोर्खालीहरू अङ्ग्रेज पल्टनमा भर्ना भएका थिए ।
राणा प्रधानमन्त्री जङ्गबहादुर राणा गोर्खा भर्तीको विपक्षमा उभिए । उनको पालामा सन् १८४३ मा गोर्खाहरूलाई भर्ती गर्न नेपाल पसेका गोरा गल्लाहरू गिरफ्तार समेत परे । सन् १८६८ ताका जङ्गबहादुरले एउटा कानुन नै निर्माण गरे । जसअन्तर्गत आफ्नो जिल्ला छाडेर जानेको जग्गा सरकारको हुने, कोही गए उसकी स्वास्नी पोइला गएको खण्डमा जारी नपाउने, कसैले पनि ब्रिटिस सरकारको लुगा लगाएर नेपाल घुम्न नपाउने, भर्ती हुन जानेको घर खेत हडप्ने जस्ता कानुनहरू निर्माण गर्दा समेत गोर्खा भर्ती रोकिएन ।
जङ्गबहादुरपछि प्रधानमन्त्री बनेका राणाहरूले भने गोर्खा भर्तीलाई उच्च प्राथमिकता दिए । राणा प्रधानमन्त्री चन्द्रसमशेरले पहिलो विश्वयुद्ध सुरु नहुँदै ब्रिटिसहरूलाई सहयोगको प्रस्ताव गरे । चन्द्रसमशेरले त जङ्गबहादुरको ठीक उल्टो गाउँ—गाउँमा गल्ला पठाए । त्यसका साथै करोड रूपैयाँभन्दा बढी सिक्काहरू ब्रिटिसहरूलाई उपलब्ध गराए । चन्द्रशम्शेरको सहयोगकै कारण सन् १९०८ सम्ममा गोर्खा रेजिमेन्टहरूको सख्या १० पु¥याएको थियो । १० वटा रेजिमेन्टमा २६ हजार गोर्खालीहरू कार्यरत थिए ।
पहिलो विश्वयुद्धमा भाग लिन गोर्खाहरूको सङ्ख्या दुई लाख थियो । त्यतिबेला नेपालको जनसङ्ख्या जम्मा ५६ लाख थियो । विश्वयुद्धमा मारिनेको आधिकारिक तथ्याङ्क नभए तापनि करिब २० हजार गोर्खा सेनाहरूले ज्यान गुमाएको अनुमान छ । त्यस्तै अपाङ्ग बनेकाहरू, युद्धपश्चात् रित्तो हात र नाङ्गो खुट्टा नेपाल फर्किनेहरूको सङ्ख्या पनि कम थिएन ।
अर्का राणा प्रधानमन्त्री जुद्धशमशेरले पनि दोस्रो विश्वयुद्धमा गोर्खा रेजिमेन्टहरूलाई भर्तीका लागि दिल खोलेर सहयोग गरे । दोस्रो विश्वयुद्धमा २ लाख ५० हजार गोर्खाहरू सहभागी थिए । ब्रिटिसहरूको तथ्याङ्कअनुसार दोस्रो विश्वयुद्धमा ७,५४४ मारिए । १,४४१ बेपत्ता भए भने २३,६५५ घाइते भएका थिए ।
दोस्रो विश्वयुद्ध समाप्त भएको २ वर्षपछि भारत ब्रिटिस उपनिवेशबाट मुक्त बन्यो । त्यसपश्चात् गोर्खा रेजिमेन्टहरू पनि बेलायत र भारतको बिचमा भागबन्डा गरियो । मतवालीहरूका पल्टन अर्थात् गुरुङ, मगर, राई र लिम्बुका भनिने पल्टनहरू द्दलमरन्च्, टतजरन्च्, ठतजरन्च्रज्ञण्तजरन्च् ब्रिटिसहरूको रोजाइमा पर्न गए । अन्य ६ रेजिमेन्टहरू भारतको मातहत रहे ।
भारतले आफ्नो उपस्थिति बलियो बनाउन र गोर्खाहरूलाई थप भर्ती गर्ने उद्देश्यले पछि ४ वटा बटालियन स्थापना ग¥यो । हाल भारतमा रहेका सातवटा रेजिमेन्टमा करिब ३५ हजार गोर्खाहरू कार्यरत छन् । उता बेलायतमा कार्यरत गोर्खाहरूभने मलाया र इन्डोनेसियाको लडाइँ सकिएपछि धेरै कटौतीमा परे । हाल झन्डै ३१ सयजति गोर्खाहरू बेलायती सेनामा कार्यरत छन् ।
देशमा प्रजातन्त्रको उदयपश्चात् बनेका सरकारहरूले गोर्खा भर्तीलाई गलत मात्र भनिरहे । पञ्चायतकालीन नेताहरू र नेपाली काङ्ग्रेस भने सधैँ गोर्खा भर्तीको पक्षमा देखिए । खासगरी बेलायतबाट आउने आर्थिक सहयोग, रेमिट्यान्स र पछिल्लो समयमा भर्तीमा थपिएका आकर्षणका कारण वामपन्थी सरकार र राजनीतिक दलहरूले समेत गोर्खा भर्तीलाई बन्द गर्न हिच्किचाए ।
शक्तिशाली दुईतिहाइ बहुमत भएको ‘कम्युनिस्ट’ सरकारका प्रधानमन्त्री केपी ओलीले बेलायत भ्रमणको क्रममा सन् १९४७ मा गरेको गोर्खा भर्तीसम्बन्धि सन्धी पुनरावोलकन गर्न ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्रीले आफ्नो समकक्षी टेरेजा मेसँगको औपचारिक भेटमा गोर्खा भर्तीसँग सम्बन्धित सन्धि त्रिपक्षीय नभई द्विपक्षीय हुनुपर्नेमा जोड दिएका थिए ।
हालसम्म शासन गरेका शासकहरू कोहीपनि गोर्खाहरूको सेवा र सुविधाको बारेमा बोलेनन् । सन् १९४७ मा भारत स्वतन्त्र हुने बेला नेपाल, बेलायत र भारतबीच भएको त्रिपक्षीय सन्धिको एनेक्स–३ मा सम्बन्धित मुलुकहरूले गोर्खा सैनिकहरूलाई आ–आफ्ना सैनिकसरह व्यवहार गर्नुपर्ने उल्लेख छ । साथै गोर्खा सैनिकमाथि भाडाका सिपाही भएको भन्ने आरोप नलागोस् भन्नका लागि उनीहरूको पदोन्नतिलगायत विषयमा हरेक सुविधा दिनुपर्ने पनि उल्लेख छ ।
बेलायति सरह नै सेवा सुविधा पाउनुपर्ने माग राख्दै गोर्खाहरू वर्षाैदेखि आन्दोलमा छन् । त्यसको नेतृत्व गोर्खा भूतपूर्व सैनिक सङ्घ (गेसो) ले गरिरहेको छ । मुलुकमा पटक–पटक शासन व्यवस्थासँगै आएका नयाँ अनुहार पनि यसबारे मौन छन् ।
ब्रिटिससँग गोर्खा भर्तीको बारेमा लेखिएका पुस्तकहरू सयौँको सङ्ख्यामा रहेका छन् । नेपालसँग त्यसको खास तथ्य र पुस्तकहरू निकै कम छन् । गोर्खा भर्तीको बारेमा नेपाल र नेपालीमा लेखिएका पुस्तकहरूमध्ये ‘ब्रिटिस साम्राज्यको नेपाली मोहरा’ र केही अवकाशप्राप्त लाहुरेहरूद्वारा लिखित केही पुस्तकहरूभन्दा अन्य तथ्यहरू नेपाल सरकारसँग पनि भएजस्तो लाग्दैन ।
प्रिय शब्द ‘लाहुरे’
‘फलानोको छोरो त लाहुरे भएछ’ लाहुरे जन्माउने आमा कति भाग्यमानि ?’ लाहुरे समुदायमा धेरैको मुखबाट उच्चारित हुने वाक्यको अंश हो यो । अझ यसो भनौँ, लाहुरे सबैभन्दा सम्मानित र खाइलाग्दो शब्द हो । यो शव्दको भावमा विशेष प्रकारको शक्ति छ । जसले अन्य पेशा र व्यवसायलाई छायाँमा पारिदिन्छ र वर्षाैदेखि हामी त्यही शब्दको पेरिफेरिमा छौँ । हामीले लाहुरे शब्दलाई लक्ष्मण रेखाजस्तै मानेका छौँ, मानौँ हामीले त्यस घेरालाई तोड्न मिल्दैन या हाम्रो धर्मले दिँदैन ।
विदेशको पल्टनमा हवलदार, जमदार र सुवेदार पद गन्न जान्नेहरूले स्वदेशको प्रशासनभित्र खरिदार, नायव सुब्बा र अधिकृत भन्ने शब्द उच्चारण गर्न किन चाहेनन् ? लाहुरे पेशालाई परिष्कृत गर्दै त्यसभित्रको सुवेदारभन्दा माथिको पद उच्चारण गर्न कहिले सिक्ने ? होइन भने पुस्तौँदेखि एउटै पदमा रहँदै आफ्नो सन्तानलाई पनि उही लाहुरेको विल्ला भिराएर गर्व गर्नुको खास अर्थ नहोला ।
उपलब्धि
इतिहासमा कहिल्यै उपनिवेश नभएको मुलुक नेपालको लागि २१ औँ शताब्दीमा पनि उपनिवेशवादीहरूको भाडाको सिपाही भएर काम गरिराख्नुले कस्तो सन्देश दिन्छ ? अर्काेतर्फ विभिन्न सन्धि र सम्झौताको बहानामा पहाडी बस्तिका राष्ट्रवादी जनजातिहरूको इमानदारितालाई गोर्खा भर्तीजस्तो उपनिवेशवादी दलदलमा लगेर फसाउन मुख्य भूमिका खेल्ने नेपाली शासकहरू र बेलायती साम्राज्यवादीहरू दुवै उत्तिकै जिम्मेवार छन् ।
जे जसरी नेपालीहरू गोर्खा भर्तीमा सहभागी भएता पनि उनीहरूको कतिपय सामाजिक योगदानहरू प्रशंसायोग्य र अति नगण्य छ । राणा शासनकै समयमा पनि लाहुरेहरूले गाउँ–गाउँमा शिक्षाको ज्योति फैलाउन विद्यालयहरू खोलेका थिए । दोस्रो विश्वयुद्धको समाप्तिको लगभग २ वर्षपछि सन् १९४७ मा भारत ब्रिटिस साम्राज्यबाट स्वतन्त्र भयो । बेलायतले भारत छाडेर जाने समयमा गोर्खाहरूको पारिश्रमिकबाट कटौती गरेर राखिएको पैसा फिर्ता दिने निर्णय ग¥यो । इण्डियाका तत्कालीन प्रधानसेनापतिले नेपालका तत्कालीन प्रधानसेनापति बबरसमशेरलाई सम्पर्क गरी रकम फिर्ता दिएका थिए ।
बबर समशेरले भूपू गोर्खा अफिसरहरूलाई वि.सं. २००५ मा काठमाडौँ बोलाई बैठक गरे । सो बैठकमा बबरसमशेरले सोधेका थिए, ‘यो पैसा तिमीहरूले के गर्छौ ?’ उनीहरूले आफूले पाउने रकमबाट गाउँ–गाउँमा शिक्षाका लागि स्कूलको स्थापना गर्ने र औषधालय र स्वास्थ चौकीको निर्माण गर्ने निर्णय सुनाएका थिए । त्यस समयमा रु.१३ करोड नेपाल भित्रिएको थियो ।
लाहुरेहरूले देशमा ००७ सालमा प्रजातन्त्र स्थापना गर्न समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । देशका विभिन्न भू–भागहरूमा रहेका अवकाशप्राप्त लाहुरेहरूले राणा शासनविरुद्ध बन्दुक नै उठाएका थिए ।
यसरी समाज, शिक्षा, संस्कार, र परिवर्तन सिकाउने लाहुरे र तीनका सन्तानहरू भने कहिल्यै परिवर्तन भएनन् । देशमा विद्यालय स्थापना गर्दै हिँडेका लाहुरेहरूले आफ्ना सन्तानलाई पनि गोर्खा भर्तीबाट चटक्कै छुटाएर शिक्षामा लगाएको भए सायद उतिबेला विश्वयुद्ध लडेका सन्तानहरू आज मुलुकको बागडोर सम्हाल्ने ठाउँमा हुन्थे कि ?
भविष्य
नेपालका विभिन्न कालखण्डका शासकहरू र ब्रिटिस शासकहरूको स्वार्थको कारण जबर्जस्त गोर्खा भर्ती जान बाध्य भएका पहाडे जनजातिका पुस्ताहरू पछिल्लो समय राम्रो कमाइका कारण लाहुरे हुन मरिहत्ते गर्छन् ।
लाहुरे समुदायका युवाहरू अहिले पनि बीचैमा पढाइ छाडेर गोर्खा भर्तीको सपना देख्दै एकाबिहानै डोकोभरि बालुवा बोकेर कुदेको देखिन्छ । गाउँमा केन्द्रित गल्लावालाहरूको चहल–पहल अचेल शहरहरूमा व्यापक देखिन थालेको छ । खाइलाग्दा र अङ्ग्रेजी जानेका युवाहरू ब्रिटिसको पहिलो रोजाइमा पर्छन् ।
अबको युग विज्ञान र प्रविधिको युग हो । हिजोजस्तो बलले लड्ने जमाना छैन । त्यसैले ब्रिटिस शासकहरूले गोर्खा भर्तीको सङ्ख्या कटौती गर्दै लगेका छन् । प्रथम विश्वयुद्धमा २ लाख गोर्खा सेना रहेको ब्रिटिससँग हाल ३१ सय मात्र गोर्खा सेना रहनु र पछिल्ला वर्षहरूमा जम्मा २ सयका दरले मात्र गोर्खा भर्ती लिनुले पनि ब्रिटिस स्वार्थ प्रस्ट गराउँछ ।
अर्काेतर्फ उपनिवेशकालको अन्त्य भएको दशकौं भइसक्यो । विश्व राजनीति फेरिएर पहिले उपनिवेशको जालोमा परेका देशहरू अहिले विश्व थर्काउने शक्तिराष्ट्र भइसके ।
अझै पनि हामी नेपालीहरू चाहीँ अर्को मुलुकको सेना भएर काम गर्न सरकारी तवरबाटै औपनिवेशकालको पराधीनतालाई निरन्तरता दिँदै गोर्खा भर्ती कायम राख्नुले नेपालको स्वाभिमान कहाँ पुगेको छ ? त्यसैले अबको पुस्ताले भन्नैपर्छ–गोर्खा भर्ती गलत हो ! गोर्खा भर्ती बन्द गर !

Leave a Reply

Your email address will not be published. Required fields are marked *