भर्खरै :

काठमाडौँमा डेङ्गु आतङ्क !

“हैन कति धेरै डेङ्गु फैलिएको ? परिवारमा बुबालाई डेङ्गु पुष्टि भएर निको हुन पाएको छैन, छोरालाई देखिने, छोरालाई ठिक हुन नपाउँदै आमामा देखिने, आमालाई ठिक हुनेबित्तिकै छोरीमा देखिने ।” यो मेरा ललितपुर निवासी मित्रसँग भएको कुराकानीको एक अंश हो ।
यो सानो संवादबाट कसरी घरैपिच्छे डेङ्गुले आतङ्क मच्चाइरहेको छ भन्ने स्पष्ट हुन्छ ।
काठमाडौँ अहिले डेङ्गुको ‘हटस्पट’ बनेको छ । सन् २०१९ को डेङ्गु महामारीमा प्रत्यक्ष उपचारमा खटिँदा त्यसबाट सृजित अवस्थालाई नजिकबाट नियाल्ने र अनुभव गर्ने मौका पाएको थिएँ ।
डेङ्गु फैलाउने एडिस जातको लामखुट्टे अर्थात् हेर्दा कालो–सेतो रङ्गको ‘जेब्राजस्तै देखिने लामखुट्टे’ हो ।
काठमाडौँमा यो लामखुट्टेले व्यापक सक्रियता बढाएको देखिन्छ । तर, यसको नियन्त्रणतर्फ भने नागरिक तथा सम्बन्धित निकायको ध्यान अझै गएको देखिँदैन ।
मेरो मित्रले घर–घरमा डेङ्गु आतङ्कको बारेमा वर्णन गर्दैगर्दा नियन्त्रणको बारेमा भने अनविज्ञता प्रकट गरे । अर्थात्, डेङ्गु व्यापक फैलिसक्दा पनि अझै लामखुट्टे नियन्त्रणतिर ध्यान नगएको, नदिएको वा योजना रहेछ भने पनि कार्यान्वयन गर्नेतर्फ सुरसार नगरेको प्रस्टै देखिन्छ । लामखुट्टेले सङ्कलित सफा पानीमा आफ्नो वृद्धि विकास र आफ्नो जीवन चक्र पूरा गर्ने गर्दछ । यो लामखुट्टे विशेषत सूर्योदय भएपछि र सूर्यास्त हुनुभन्दा केही घण्टाअगाडि बढी सक्रिय हुने र टोक्ने गर्दछ । तसर्थ, सोही समयमा डेङ्गु सङ्क्रमण फैलने सम्भावना पनि बढी हुने गर्दछ ।
हाल कतिपय सङ्क्रमितलाई कार्यस्थलमा सङ्क्रमण हुने देखिएको लेखकको अनुभव छ ।
डेङ्गु सङ्क्रमितमध्ये ७५ प्रतिशतमा लक्षण नदेखिन सक्छ । लक्षण देखिएका अधिकांश घरमै बसेर पनि स्वास्थ्य लाभ गर्न सक्छन् । तर, त्यसमध्ये कतिपयमा भने डेङ्गुले कडा रूप लिन सक्छ । तर, घरमा बस्दै गर्दा कस्तो अवस्था देखिए त्यो जटिलताको सङ्केत हो भन्नेबारे चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ भन्नेमा भने अधिकांश सङ्क्रमितलाई थाहा नहुन पनि सक्छ ।
तारन्तार बान्ता भए, अत्यधिक पेट दुखे, नाक, गिजाबाट रगत बगेमा, दिसा, पिसाब वा बान्ता गर्दा रगत आएमा, बेचैन भए, श्वासप्रश्वासमा तीव्रता÷कठिनाइ देखिए सङ्क्रमितको स्वास्थ्य जटिलतातिर जान सक्ने सङ्केतको रूपमा लिनुपर्छ ।
यस्तो अवस्था देखिए तुरून्त चिकित्सकको सम्पर्कमा जानुपर्छ । यी लक्षणसँगै शारीरिक परीक्षण गर्दा पेट वा फोक्सोमा पानी जमेको र कलेजोको आकार बढेको, रगत परीक्षणमा प्लेटेलेट्सको सङ्ख्यामा तीव्र गिरावट हुने गर्छ । यी उल्लेखित स्वास्थ्य समस्या देखिए ‘वार्निङ साइन’ पनि भन्ने गरिन्छ ।
उच्च ज्वरो आए वा शरीरमा अत्यधिक पीडा भएमा औषधि पसलमा आफैँ गएर सबभन्दा कडा÷छिटो निको हुने औषधि माग्ने चलन पुरानै हो । सिटामोलले छुँदैन (दुखाइ कम भएन) भनेर धेरैको रोजाइमा फ्लेकसन, ब्रुफेनजस्ता औषधि बढी प्रयोग गरेको पाइन्छ ।
डेङ्गु सङ्क्रमणको दुखाइ पनि अति कडा हुने भएकोले फ्लेकसन, ब्रुफेनजस्ता औषधि सङ्क्रमितले रोज्नु स्वाभाविक हो । तर, यसको प्रयोगले सङ्क्रमितमा रक्तस्राव हुने सम्भावना बढेर जानेछ । डेङ्गुमा रक्तस्रावलाई जटिल स्वास्थ्य समस्याको रूपमा पनि लिने गरिन्छ । यो अवस्थालाई बेवास्ता गरिए बिरामी ‘डेङ्गु सक सिन्ड्रोम’ मा जान सक्ने र त्यसपछि पनि उपचारमा बेवास्ता गरिए मृत्यु समेत हुनसक्छ ।
अन्तमा, हालको डेङ्गु फैलावटले सन् २०१९ मा देखिएको डेङ्गु महामारीमाको सम्झना गराइदिएको छ । सो समयमा पनि काठमाडौँको घर–घरमा परिवारका सदस्य नै सङ्क्रमित हुने गरेका थिए ।
अचम्म के थियो भने अधिकांश काठमाडौँवासीलाई डेङ्गु के हो र कसरी सर्दछ भन्ने पूर्ण जानकारी भएको भने देखिँदैन थियो । डेङ्गुसम्बन्धी मिथ्या भ्रमले भने व्यापकता पाएको देखिन्थ्यो ।
घर–घरमा डेङ्गु फैलँदा पनि यसको नियन्त्रणप्रति अहिले पनि उदासिन देखिनु विडम्बना नै हो । डेङ्गु नियन्त्रण ‘जेब्रा लामखुट्टे’ को नियन्त्रणबिना सम्भव छैन । तसर्थ, एडिस जातको लामखुट्टे अर्थात् ‘जेब्रा लामखुट्टे’ को नियन्त्रणतर्फ ध्यान जान ढिला भइसकेको छ । त्यसैले सचेत होऔँ ।
(लेखक शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *