भर्खरै :

सिद्धान्तनिष्ठ राजनीति आवश्यक

सिद्धान्तनिष्ठ राजनीति आवश्यक

नेपाल मजदुर किसान पार्टी आफ्नो स्थापनाकालदेखि नै सिद्धान्तनिष्ठ भएर इमानदारीपूर्वक आफ्नो राजनीतिक यात्रामा अघि बढिरहेको यथार्थ हो । पार्टीका नेता तथा कार्यकर्ताहरू देश र जनताप्रति समर्पित भएर इमानदारीपूर्वक राजनीति गरिरहनु नेमकिपाको राम्रो पक्ष हो र यो देशका अरु सबै दलहरूले पनि सिक्नुपर्ने पाटो हो । नेमकिपाले समाजवादी व्यवस्थामा मात्रै नेपाली जनताको समस्या समाधान गर्न सकिन्छ भन्ने मान्यताका साथ जिल्ला – जिल्लामा राजनीतिक कक्षा सञ्चालन गरिरहेको छ । तल्लो वर्गका जनतालाई राजनीतिकरूपमा सचेत र सङ्गठित नगरिएसम्म देशमा परिवर्तन सम्भव छैन । नेमकिपा यसै उद्देश्यअनुरुप लागिपरेको छ ।
निर्वाचित जनप्रतिनिधि या सांसदहरूले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभामा होस् नेमकिपाले प्रखर प्रतिपक्षको रुपमा देश र जनताको पक्षमा सङ्घर्ष गरिरहेको छ । नेमकिपाले सदन र सडकमा मात्र होइन गोष्ठी, अन्तरक्रिया, जनसभा र प्रदर्शनहरूमार्फत जनतालाई सुसूचित पार्ने काम गरिरहेको छ । नेमकिपाले आफ्नो दैनिक, साप्ताहिक, मासिक पत्रिका र विभिन्न पेशागत तथा वर्गीय सङ्गठनमार्फत सैद्धान्तिक, राजनैतिक, वैचारिक र सांस्कृतिक स्तर उठाउने काम पनि भइरहेको छ । तर, अन्य दलहरूले कम्युनिस्ट शिक्षा नदिई जो कसैलाई पनि टीका र माला लगाउँदै पार्टी प्रदेश गराइरहेका छन् । ठेकेदार, वन तस्कर, भ्रष्टाचारी, लोभीपापी, स्वार्थी, अपराधी एवम् बिचौलियाहरूलाई पार्टी सदस्यता दिएर पार्टी ‘ठूलो’ बनाउने काम गरिरहेको छ । त्यस्ता व्यक्तिहरूलाई पार्टीमा हुल्याएर देश र जनताको सेवा कसरी हुन्छ ? नेपालका शासक दलहरूले पैसा बाँडेर, जागिरको लोभ देखाएर कार्यकर्ता तान्ने काम गरिरहेका छन् । उनीहरू पार्टीको मुख्य उद्देश्य जसरी भए पनि जित्नु हो, सरकारको नेतृत्व गर्नु या सहभागी हुनु हो, सहभागी भएर जागिर खानु हो भन्दै सर्वसाधारणलाई फकाउँछन् । उनीहरू भन्छन्, सरकारमा नगई पार्टी ठूलो हुँदैन, काम पाइँदैन, यसकारण निर्वाचनमा जसरी भए पनि जित्नुपर्छ । त्यही कारण उनीहरू अरु दलको कार्यकर्ता भाँड्ने, विचलित पार्ने, बिगार्ने काम गर्न पछि पर्दैनन् । शासक दलहरूले सिद्धान्तच्युत र विश्वासघाती व्यक्तिहरूलाई सांसद र मन्त्री बनाएका छन् । ठग्ने, जालसाजी गर्ने व्यक्तिहरूलाई सांसद र मन्त्री बनाउने सरकारले देश र जनताको सेवा कसरी गर्छ ?
हो, समाजका राम्रा र नराम्रा पक्षहरू पनि राजनीतिक दलहरूमा घुस्नु स्वाभाविक हो । खराब आचरणका, गलत बाटोमा लागेका आपराधिक व्यक्तिहरू पार्टीमा हुलेपछि त्यस्तो दलले कसरी सही काम गर्छ ? कसरी बहुमत जनताको सेवा गर्छ ? तिनीहरू दल ठूलाको नाउँमा दलगत र व्यक्तिगत स्वार्थमात्र हेर्छन् । ती शासकहरू देश बचाउने, देशको सीमा रक्षा गर्ने काममा लाग्दैनन् । उनीहरू विदेशी इसारामा विदेशीको स्वार्थ पूरा गर्न अभिप्रेरित हुन्छन् । त्यही कारण देश आत्मनिर्भर नभएको हो । देशले चौतर्फी विकास गर्न नसकेको हो । शासक दलका यस्ता कुकृत्य कार्यको विरोध गर्न र त्यसबारे जनतालाई सुसूचित पार्न देशभक्त र सच्चा कम्युनिस्ट पार्टीहरू लाग्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *