भर्खरै :

नेमकिपा केन्द्रीय समितिको बैठक सुरु \ “नेमकिपा निर्वाचनमा भाग लिन्छ तर पुँजीवादी सरकारमा जाँदैन”

नेमकिपा केन्द्रीय समितिको बैठक सुरु \ “नेमकिपा निर्वाचनमा भाग लिन्छ तर पुँजीवादी सरकारमा जाँदैन”

भक्तपुर, १७ भदौ । नेपाल मजदुर किसान पार्टीको केन्द्रीय समितिको बैठक शुक्रबार सुरु भएको छ । पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा बसेको बैठकमा अध्यक्ष बिजुक्छेँले नागरिकता विधेयक देशघाती भएको र यो विधेयकको कारण देश नै नरहने परिस्थिति आउने हुँदा राष्ट्रपतिले सैनिक शासन लागू गरेर भए पनि देश बचाउनुपर्ने धारणा राख्नुभयो ।
उहाँले आगामी निर्वाचनमा पनि नेमकिपाले लेनिनवादी सिद्धान्तअनुसार संसद्को क्रान्तिकारी उपयोग गर्ने स्पष्ट गर्दै देशघाती नागरिकता विधेयक, एमसीसी सम्झौता र एसपीपी समझदारीका पक्षधरहरूलाई निर्वाचनमा हराउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “नेमकिपाले निर्वाचनमा भाग लिन्छ तर पुँजीवादी सरकारमा जाँदैन ।”
उहाँले नेपालका कम्युनिस्ट नामका शासक पार्टीहरूमा समाजवादबारे भ्रम रहेको उल्लेख गर्दै समाजवादमा उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण, शिक्षा र स्वास्थ्य निःशुल्कको व्यवस्था, व्यक्तित्व विकासमा समान अवसर, धनी र गरिबको दूरी कम गर्ने, गाउँ र सहरबीचको भेद कम गर्नेजस्ता बन्दोबस्त लागू हुनुपर्ने बताउनुभयो ।
उहाँले शासक दलहरूको अकर्मण्यताको कारण राजनीतिप्रति नै जनताको वितृष्णा देखिएको उल्लेख गर्दै आगामी निर्वाचनमा पनि सिद्धान्तहीन गठबन्धन गर्नेहरूविरुद्ध सैद्धान्तिक सङ्घर्ष गर्ने स्पष्ट गर्नुभयो ।
बैठकमा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले पार्टी केन्द्रीय समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
पार्टीको केन्द्रीय परिषद् भदौ १८ र १९ मा हुँदै छ । केन्द्रीय परिषद्को बैठकमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, जिल्लाका अध्यक्षहरू, जनवर्गीय सङ्गठन तथा पेशागत सङ्गठनका पदाधिकारीहरूको उपस्थिति हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *