भर्खरै :

गोर्भाचेभ र उनको विरासत

पूर्व सोभियत नेता मिखाइल गोर्भाचेभको मृत्यु भयो । शीतयुद्धकालका समाजवादविरोधी नेताकार्यकर्ताले उनको तारिफमा फूल बर्साउँदै छन् । उनको दृष्टिकोण, साहस र स्वाभिमानको प्रशंसा गर्दै छन् ।
हेनरी किसिन्जर र बोरिस जोन्सनले नै उनको महिमागान गरेपछि मृतक गोर्भाचेभले केही त गलत गरेका थिए भन्ने स्पष्ट हुन आउँछ ।
सोभियत सङ्घ अमेरिका र पश्चिमा साम्राज्यवादको आर्थिक, राजनीतिक र सैन्य शक्तिको निम्ति बलियो प्रतिद्वन्द्वी थियो । त्यही सोभियत सङ्घको विघटन गर्ने राष्ट्रपति बनेकोमा गोर्भाचेभको पूजा हुँदै छ ।
गोर्भाचेभका प्रशंसकहरू रूसी दबदबा रहेको ‘सोभियत साम्राज्य’ भङ्ग गरेकोमा उनको महिमा गाउँछन् । उनले राजनीतिक र आर्थिक स्वतन्त्रता ल्याए, शीतयुद्ध टुङ्गयाए, अन्तर्राष्ट्रिय शान्ति र निःशस्त्रीकरणको अवधि आरम्भ गरे भनेर फलाक्छन् । यो एउटा एकतर्फी चित्र हो । यो चित्र सरासर झूट हो । किनभने, यसले लामो र फराकिलो इतिहास लुकाउन खोज्छ ।
सोभियत सङ्घ गैर रूसी जनतामाथि आर्थिक शोषण गर्ने नियतका साथ सैन्य कब्जामार्फत निर्माण गरिएको देश थिएन । गृहयुद्धको अवस्थाबाट पार पाउने क्रममा सोभियत सङ्घको निर्माण भएको थियो । त्यो युद्ध प्रगतिकामी क्रान्तिकारी शक्ति र पश्चिमा साम्राज्यवादका पिछलग्गू शासक र शोषकहरूबीच भएको थियो । ती स्वेच्छाचारी शासकहरूले जारकालीन ‘राष्ट्रहरूको कैदखाना’ मा शासन गर्थे ।
सन् १९४५ पछि पूर्वी युरोपमा समाजवादको निर्माण र सोभियत सङ्घमा समाजवादको पुनः निर्माण गर्नुपर्ने खण्ड आइप¥यो । नाजी कब्जाकारीहरू, राष्ट्रवादीहरू, फासीवादी र यहुदीविरोधी पिछलग्गूहरूले थोपरेको जातीय सफायाबीच पनि सोभियत सङ्घ समाजवादकै निर्माणमा जुटेको थियो ।
दोस्रो विश्वयुद्धपछिका ३० वर्षहरूमा पनि सोभियत सङ्घ र कमेकन देशहरूको आर्थिक वृद्धिदर उच्च नै थियो । यो वृद्धिदर संरा अमेरिका र पश्चिम युरोपका धेरै देशहरूको भन्दा माथि थियो ।
सोभियत सङ्घ र कमेकन देशहरूमा जनताको जीवनस्तर माथि उठेको थियो । सबैले रोजगारी पाएका थिए । समाज कल्याणको दृष्टिले अन्य देशभन्दा माथि थिए । सामाजिक र सांस्कृतिक सेवासुविधामा जनताको पहुँच थियो । तैपनि, ती समाजवादउन्मुख समाजहरूमा आर्थिक र राजनीतिक कमजोरीका जराहरू जीवित थिए ।
विस्तारै स्रोतसाधन विनियोजनका समस्या, फोहर, वातावरण विनाश, अगुवाइ र उत्पादकत्वमा ¥हासजस्ता समस्याहरू पनि पलाउँदै गए । नागरिकहरूले कर्मचारीतन्त्रमाथिको नियन्त्रण गुमाउँदै गएको महसुस गरे । यसले गर्दा प्रजातान्त्रिक जनसहभागितामा ¥हास आयो ।
माक्र्सवाद–लेनिनवादसँगको सम्बन्ध ओइलाउँदै गयो र औपचारिक जडता बलियो हुँदै गयो । विभिन्न क्षेत्रमा प्रगति भए पनि राष्ट्रिय र सांस्कृतिक अधिकारहरूले पूर्ण अभिव्यक्ति पाउन छोडे ।
लगातारको शीतयुद्ध वा हतियारको होडबाजीबीच यी सबै अन्तर्विरोधहरू चर्किँदै गए । पश्चिमा शक्तिहरूले एक क्षण पनि यो होडबाजी रोकेनन् । उनीहरूले सोभियत सङ्घलाई कहिल्यै फुर्सदको सास फेर्न दिएनन् ।
पुँजीवादी समाजमा सैन्यवाद र युद्ध एकाधिकार पुँजीको पक्षमा नाफा सोहोर्ने माध्यम हुन् । समाजवादको झन्डामुनि कसैले पनि नाफा सोहर्न पाउँथेन । हतियार उत्पादन स्रोतसाधनको फुर्मासमात्र थियो । हतियारको होडबाजी नहुँदो हो त ती स्रोतसाधनलाई साझा हितमा लगाउन सकिन्थ्यो ।
सन् १९८५ सम्ममा गोर्भाचेभ उच्च पदमा पुगिसकेका थिए । त्यसबेलासम्म आर्थिक र राजनीतिक सुधार नगरी नहुने भइसकेको थियो । तैपनि, उनको आधा पाकेको घरेलु कार्यक्रमले ठूलो खैलाबैला ल्यायो । कार्यक्रमको नाम भने ‘पेरेस्त्रोइका र ग्लासनोस्त’ (पुनःसंरचना र खुलापन) दिइएको थियो ।
केन्द्रीकृत योजनामा आधारित अर्थतन्त्रलाई बजारु शक्तिले छियाछिया पा¥यो । गोर्भाचेभले जनसमूहको स्वर सुनेजस्तो देखाउन खोजे । वास्तविकता उल्टो थियो । उनले आफ्नै पुँजीवादपरस्त सल्लाहकारहरूको कुरा सुनेका थिए ।
‘खुला बहस’ को मुकुन्डो लगाएका समाजवादविरोधी, राष्ट्रवादी र अन्य पिछडिएका विचारहरूको भाउ बढ्दै गयो । सोभियत कम्युनिस्ट पार्टीसँग ती समस्याहरूसँग जुध्न आवश्यक संशोधन नभएको देखिन्छ ।
अर्थतन्त्र उँधो झर्दै गर्दा सामाजिक सेवासुविधाहरू पातलिँदै गए । सोभियत सङ्घका गणराज्यहरू टुक्रिने दिशातिर लागे । लाखौँ नागरिकहरू गरिबीको खाडलतिर धकेलिँदै गए । रूसी जनताको औसत आयु घट्दै गयो । विश्वमा अन्यत्र यति तीव्रगतिमा औसत आयु घटेको इतिहास पाइन्न ।
त्यसैले गोर्भाचेभको मृत्युमा उनको देशमा आज धेरैले आँसु चुहाउने छैनन् ।
१९८६ अक्टोबरमा रिक्याभिक सम्मेलनमा सामरिक महत्वका आणविक हतियारको निःशस्त्रीकरणको प्रस्तावमा संरा अमेरिकाले सहमति जनायो । तर, नेटोलाई पूर्वी देशहरूमा विस्तार नगर्ने सो सहमतिलाई पछि संरा अमेरिकी, जर्मन र बेलायती नेताहरूले रद्दीको टोकरीमा फाले ।
गोर्भाचेभले ‘साझा युरोपेली घर’ बनाउने दृष्टिकोण राखे । उनको त्यो सपना एकाधिकार पुँजी, युरोपेली युनियन र नेटोले व्यवहारमा उतारिरहे । गोर्भाचेभ र सोभियत सङ्घ मरे, तर पश्चिमा साम्राज्यवाद जीवित छ । हातहतियारले घाँटीघाँटी भएर ऊ नयाँ युद्धको तयारी गर्दै छ ।
(‘एमआर अनलाइन’ बाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *