भर्खरै :

नागरिकता विधेयकले देशलाई दूरगामी असर पु¥याउने

राष्ट्रपतिद्वारा पुनर्विचारका लागि सन्देशसहित फिर्ता पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ कुनै संशोधनविना दुवै सदनबाट पुनःपारित गरिएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकले उक्त विधेयक बहुमतले पारित गरेको हो । गत साउन २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त केही व्यवस्था पुनर्विचारका लागि विधेयक फिर्ता गर्नुभएको थियो । प्रतिनिधि सभाले भदौ २ गते विधेयक पारित गरेको थियो । यसले माओवादी केन्द्र, एकीकृत समाजवादी, राजपा, जनमोर्चा सम्मिलित नेकाको नेतृत्वमा बनेको सरकार फेरि एकचोटि भारतपरस्त भएको पुस्टि ग¥यो । यसले अन्य सत्तासीन दलहरू नेकासँगै सती भएको पुस्टि ग¥यो । यो विस्तारवादी भारतलाई खुसी पार्ने अर्काे कदम हो । यसले सरकार भारतको पक्षपोषण गर्ने प्रमाणित भयो ।
सबै नेपालीले नागरिकता पाउनुपर्छ, यसमा कुनै सन्देह छैन । तर, विदेशीले सजिलैसँग नेपाली नागरिकता पाउने बन्दोबस्त गर्नु उचित होइन । नेपाली पुरुषसँग विदेशी महिलाले बिहे गरेलगत्तै नेपाली नागरिकता लिनसक्ने बन्दोबस्त ठीक होइन । नेपाल–भारत खुला सीमा रहेको, नेपाल दुई ठूला देशहरूको घेरामा रहेको हुँदा यो नागरिकता विधेयक पारित गर्न नहुने हो । देशको वरिपरि दुई ठूला राष्ट्रहरू अझ संसारकै सबभन्दा बढी जनसङ्ख्या भएको देशको बीचमा रहेको नेपालले बिहे गरेलगत्तै नेपाली नागरिकता पाउने बन्दोबस्त कदापि मिल्दैन । कुनै संशोधन नगरी नेपाली नागरिकता विधेयक पारित गर्नुको पछाडि भारतकै दबाब रहेको थाहा हुन्छ । यसरी नेपालमा प्रत्यक्ष या अप्रत्यक्षरूपमा साम्राज्यवादी देश अमेरिका र विस्तारवादी देश भारतको प्रभाव बढ्दै गएको छ । यो राम्रो सङ्केत होइन ।
यो विधयेकले तत्काल त केही समस्या देखिँदैन । तर, यसले दूरगामी असर पु¥याउँछ । दशकौँ समय बितेपछि यहाँ विशेषगरी तराईमा नेपालीभन्दा विदेशी महिलाहरूको सङ्ख्या बढ्नेछ । तिनै भारतीय नागरिकहरू निर्वाचनमा जित्नेछन् । तिनीहरूले नै बहुमत ल्याउनेछन् । विगतमा काठमाडौँलाई नाकाबन्दी गर्ने, तराई प्रवेश अलग्याउने र देशै नरहने चेतावनी दिने दलका नेताहरूले भोलि तराईमा उनीहरू बहुमत भएपछि देशको स्थिति के होला ? सत्तासीन दलका नेताहरूले यसबारे चिन्तनमनन गर्नुपर्ने हो । तर, यतातर्फ सरकारको ध्यान गइरहेको छैन । यो चिन्ताको विषय हो । यसले कुनै दिन नेपालको अस्तित्वमा धक्का पु¥याउनेछ । विधेयक पारित गर्ने सत्तारुढ दलहरू किन भारतलाई खुसी पार्दै छन् ? शङ्काको विषय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *