भर्खरै :

सिद्धान्तहीन गठबन्धन गलत

पुँजीवादी व्यवस्थाका हिमायती सरकार र पार्टी कम्युनिस्ट हुनसक्तैनन् । ती दल र सरकार क्रान्तिकारी पनि हुँदैनन् । देशको पुल, नहर, खानेपानी योजना र बाटोघाटो अलपत्र पार्ने ठेकेदारहरू पनि कम्युनिस्ट हुने छैनन् । सम्पत्ति लुट्ने, भ्रष्टाचारी र जनतामा झूटको खेती गर्ने दलका नेताहरू पनि कम्युनिस्ट हुनसक्दैनन् । देशको सार्वजनिक उद्योगभन्दा निजीकरण गर्ने, विदेशी कम्पनीलाई जिम्मा दिने, गरिब र जोताहा किसानहरूको खेतीयोग्य र उर्वर जग्गा मास्ने र नेपाली उठिवास गर्ने गराउने नेताहरू त झनै कम्युनिस्ट हुनसक्दैनन् ।
कुनै दलले सरकारको नेतृत्व गर्दैमा या बहुमत हुँदैमा त्यो कम्युनिस्टको सरकार हुन्छ भन्ने होइन । कम्युनिस्ट नाम र सङ्ख्याले होइन, सिद्धान्त र कामले थाहा हुन्छ कम्युनिस्ट पार्टी हो या होइन । नेपाली जनतामा अझै समाजवादी व्यवस्था र पुँजीवादी व्यवस्थाबारे सुसूचित पार्नु जरुरी छ । अधिकांश जनता गरिब भएकाले र शासक दलका नेता तथा कार्यकर्ताहरूले पैसा र सामान बाँड्ने, अन्य लोभलालच देखाउने, धाक धम्की दिने भएकाले इमानदार नेता तथा कार्यकर्ताहरू त्यति निर्वाचनमा जितेका छैनन् । सर्वसाधारण जनताको सोझोपनलाई फाइदा लिँदै ठूला पार्टीका नेता तथा कार्यकर्ताहरूले क्रान्तिकारीलाई भड्काउने कार्य गरिरहेका छन् ।
समाजवाद शान्तिपूर्ण तरिकाले पाउँदैन न त पुँजीवादी व्यवस्थाको संसद्मा बहुमत जितेरै प्राप्त हुन्छ । निर्वाचनबाट समाजवाद ल्याउने विचार, सानातिना सुधार गरेर र नेकाजस्ता पुँजीपति वर्गसँग मिलेर समाजवाद ल्याउने विचार अवसरवादी दृष्टिकोण हो । त्यस्तो विचार र दृष्टिकोणबाट समाजवाद सम्भव छैन । बरु अवसरवादी र संशोधनवादीहरू क्रान्तिकारीहरूलाई भड्काउँछन् र बिगार्छन् । तिनीहरू कतिलाई पैसा र पदको लोभमा फसाउँछन् । प्रजातान्त्रिक र कम्युनिस्ट भनिने सरकारहरू देश बनाउने र जोगाउने काममा होइन संयुक्त राज्य अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको चङ्गुलमा फसिरहेका छन् । उनीहरू नेपाल र नेपालीको हितभन्दा विदेशी शक्ति राष्ट्रहरूको स्वार्थ पूरा गर्न लागिरहेका छन् ।
चुनाव जित्नको निम्ति जे पनि गर्ने प्रवृत्ति गलत छ । सिद्धान्तहीन गठबन्धन झनै गलत छ । ठूला दलहरूले विगतमा गुण्डा, ठेकेदार, ठग, चेलीबेटी बेच्ने र ठूल्ठूला धनाढ्यहरूलाई निर्वाचनमा उठाएका थिए । त्यस्ता व्यक्तिहरू जितेर के जनताको सेवा हुन्छ ? पदको दुरूपयोग गरी कमाउनेबाहेक तिनीहरूको अन्यत्र ध्यान जानेछैन । गुण्डा, ठेकेदार र अपराधीहरू जितेर जनताले के आशा गर्ने ? यसमा ठूला या सत्तासीन दलहरू नै जिम्मेवार छन् । व्यक्तिगत फाइदा या नाफाको निम्ति चुनावमा उठाउने काम भयो । अनि तिनै व्यक्तिहरूबाट पार्टीको लागि चन्दा दिने, कार्यकर्ता पाल्ने र निर्वाचनमा खर्च गर्ने काम भइरहेको हामीले अनुभव गरिरहेका छौँ ।
क्रान्तिकारी विचार नभएका, भित्री हृदयदेखि निःस्वार्थरूपले देश र जनताको सेवा गर्ने चाहना नभएका या इमानको राजनीति नगर्ने दलका नेताहरू निर्वाचनमा जित्लान्, सत्तामा जालान् तर तिनीहरूले देशमा कुनै मौलिक परिवर्तन गर्दैनन् या गर्ने चाहना राख्दैनन् । अनि देश कसरी विकास हुन्छ ? जनताको जीवन कसरी सुनिश्चित हुन्छ ? जनताले राहत पाएको कसरी अनुभव गर्छन् ? कम्युनिस्टहरूको उद्देश्य पुँजीवादी व्यवस्थालाई निरन्तरता दिने होइन । पुँजीवादी व्यवस्था फालेर समाजवादी व्यवस्था स्थापना गर्ने हो । सङ्घीय गणतान्त्रिक व्यवस्था निर्वाचनले फाल्न सक्दैन या जितेर फाल्न सक्दैन । त्यसको विकल्प भनेको सङ्घर्ष नै हो । वर्गसङ्घर्षले मात्रै पुँजीवादी व्यवस्था फाल्न सक्छ । अतः समाजवादी व्यवस्था ल्याउन वर्गसङ्घर्ष आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *