भर्खरै :

वागीश्वरी कलेजमा दुईहप्ते अन्तर्राष्ट्रिय मिडिया गोष्ठी सुरु

भक्तपुर, १९ भदौ । विद्यार्थीहरूलाई गरेर सिक्ने वातावरण सिर्जना गर्नका लागि वागीश्वरी कलेजको पत्रकारिता तथा आमसञ्चार विभागले दुईहप्ते अन्तर्राष्ट्रिय मिडिया विषयक कार्यशाला गोष्ठी सुरु गरेको छ ।
विद्यार्थीहरूले विभिन्न मुलुकको पत्रकारिता इतिहास, कानुनी व्यवस्था र आचारसंहिताको खोजी गर्दै आफ्नो कार्यपत्र प्रस्तुत गरी अध्येता र विज्ञहरूमार्फत कार्यपत्रलाई कसिलो बनाउन गोष्ठी गरिएको हो ।
गोष्ठीको उद्घाटन गर्दैै बाग्मती प्रदेशका सभासद् सुरेन्द्रराज गोसार्ईले कार्यपत्र प्रस्तुतिले विद्यार्थीमा थप सिक्ने वातावरण निर्माण हुने बताउनुभयो ।
आइतबार विद्यार्थी एलिना भेलेले उत्तर कोरियाको मिडिया विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । उत्तर कोरियाबारे पश्चिमी मुलुकका मिडियाहरूले अनर्गल ढङ्गको प्रचार गर्ने गरेको र आफूले खोज्दा पनि त्यस्तै कुराहरू बढी भेटेको र वास्तवमा प्रजग कोरियामा प्रचार गरिएजस्तो नभएको उहाँले स्पष्ट पार्नुभयो ।
कार्यपत्रमाथि टिप्पणी गर्दै सभासद् सुरेन्द्रराज गोसाईंले आफूले प्रजग कोरियाको भ्रमण गर्दा नितान्त बेग्लै ढङ्गले पाएको अनुभव सुनाउनुभयो । कोरियामा इन्टरनेटको सुविधा व्यापक रूपमा रहेको र विज्ञान तथा प्रविधिको विकास अद्भूत ढङ्गले भएको पाएको स्मरण उहाँले सुनाउनुभयो ।
पश्चिमा मुलुकहरूले झुटको खेती गर्दै संसारलाई समाजवादी व्यवस्था नराम्रो हुने अभिप्रायले उत्तर कोरियाको अनर्गल प्रपोगन्डा गरेको पाएको उहाँले स्पष्ट पार्नुभयो । उत्तर कोरिया समाजवादी मुलुक भएकोले पश्चिमाहरू र खासगरी अमेरिका डराएकैले प्रजग कोरियाको वरपर दक्षिण कोरिया र जापानमा अमेरिकी सेना तैनाथ गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रजग कोरिया एकीकरण हुनुपर्दछ र अमेरिकाले यसमा हस्तक्षेप अन्त गर्नुपर्छ अनि झुटको प्रचार गर्न बन्द गर्नुपर्छ ।”
उत्तर कोरियाले अमेरिकी आतङ्कबाट बच्नकै लागि हातहतियारको विकास गर्नु परेको र उसले नयाँ वैज्ञानिक अन्वेषणका लागि नेपालको बजेटभन्दा बढी व्यवस्था गर्ने गरेको जानकारी पनि उहाँले दिनुभयो ।
उत्तर कोरियामा भ्रमण गरेर सो मुलुकको बारेमा अध्ययन गरेका पत्रकार जीवन ढुुङ्गानाले यहाँ पढेको उत्तर कोरिया र हेरेको उत्तर कोरियाबीच आकाश पातालको फरक भएको बताउनुभयो ।
उत्तर कोरियाले देशको सुरक्षाको लागि कडाइ गरेको तथ्य वास्तविक भएको र अमेरिकी दादागिरी अन्त नभएसम्म जारी रहने उहाँले बताउनुभयो । देशको सार्वभौमिकता, अखण्डता र स्वाभिमानका लागि उत्तर कोरियाका पत्रकारले देशको हितको लागि लेख्ने गरेको भन्दै विश्वका कुनै पनि मुलुकले देशको विरुद्धमा नलेख्ने दृष्टान्त प्रस्तुत गर्नुभयो ।
नेपालमा पनि विभिन्न साइटहरू प्रतिबन्ध गरेजस्तो मुलुकलाई हानि गर्ने मिडियाका खबरलाई उत्तर कोरियाले निगरानीमा राख्ने गरेको र सोहीअनुसार नै इन्टरनेटको पहुँच दिएको उहाँले बताउनुभयो । अमेरिकी नाकाबन्दी भए पनि उत्तर कोरियाले आफ्ना जनतालाई गाँस, बास र कपासको ग्यारेन्टी गर्दै प्रेस स्वतन्त्रताको अनुभूति दिएको उहाँले टिप्पणी गर्नुभयो ।
राजनीतिशास्त्रका शिक्षक एवम् अधिवक्ता विकल प्रजापतिले उत्तर कोरियाको प्रेस कानुन र अन्य मुलुकको प्रेस कानुनमा तात्विक भिन्नता नभएको तर उत्तर कोरिया जाने बाहिरी पत्रकारले अमेरिकाको लागि जासुस गर्ने गरेको पाएकोले पश्चिमा पत्रकारहरूलाई केही कडाइ गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी हाम्रो घरमा शत्रु नछिरोस् भनेर कडाइ गर्छौं भने उत्तर कोरियाले देशको सार्वभौमसत्ता सुरक्षाका लागि प्रेसमाथि नियमन गर्नु सामान्य हो ।”
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विद्यार्थीहरूको ज्ञान अभिवृद्धिका लागि कलेजले वातावरण निर्माण गर्ने गरेको र अन्तर्राष्ट्रिय परिस्थिति बुझ्न बुझाउन यस्ता कार्यक्रम गर्ने वागीश्वरीको संस्कार रहेको बताउनुभयो ।
पत्रकारिता तथा आमसञ्चारका शिक्षक पूर्णभक्त दुवालले दुईहप्ते गोष्ठीमा विद्यार्थीहरूले विभिन्न मुलुकको मिडियाबारे अध्ययन गरी कार्यपत्र प्रस्तुत गरी विज्ञहरूको सल्लाह र सुझाव अनुसार परिमार्जन गर्ने जानकारी दिनुभयो ।
आइतबारको कार्यपत्रमा विद्यार्थीहरूले कार्यपत्र प्रस्तोता र विज्ञहरूसँग प्रश्न सोधी जिज्ञासा मेटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *