नेपालीहरू भारतविरोधी होइनन् – ५
- कार्तिक १५, २०८३
समय यसअघि मैले छिचोलिसकेको छु ।
बितेका २८ वर्षमा म र मजस्ता दसौँ लाख मानिसको लागि सेप्टेम्बर ११ को मङ्गलबार शोकको दिन बन्दैआएको छ । सन् १९७३ को सेप्टेम्बर ११ को मङ्गलबार भएको सैनिक सत्ताविप्लवले चिलीबाट प्रजातन्त्र खोसियो, मृत्यु सिङ तिखारेर हाम्रो जीवनमा पस्यो र हाम्रो जीवन सधैँ सधैँको लागि बदलेर गयो । आज फेरि झन्डै तीन दशकपछि भूगोल इतिहासका खराब देवताहरूले अर्को एउटा देशलाई मङ्गलबारकै दिन, सेप्टेम्बर ११ कै साइतमा मृत्युको आहालमा डुबाए । सेप्टेम्बर ११ को मङ्गलबार फेरि एकपल्ट अर्को भयानक दिन बन्यो ।
चिली र अमेरिकी मितिलाई अलग बनाउने भिन्नता र दूरी फराकिलो भएको जो कोहीले स्वीकार्नैपर्छ । पृथ्वीकै सबभन्दा शक्तिशाली देशविरुद्ध भएको आतङ्कवादी हमलाको परिणाम समस्त मानव जातिले भोग्नुपर्नेछ । अमेरिकी राष्ट्रपति जर्जडब्ल्यु बुशले भने जस्तै त्यो हमलाले संसारमा तेस्रो विश्वयुद्धको सुरुआत पनि हुन सक्छ । भविष्यमा यो दिन पृथ्वीको इतिहास सधैँको लागि बदल्ने दिनको रूपमा स्मरण गरिने प्रबल सम्भावना छ । तर, संसारमा आज बाँचेका ८ अर्ब मानिसमध्ये निकै कमले मात्र कुनै वर्ष यही मितिमा चिलीमा भएको घटनाको सम्झना गर्नेछन् ।
उत्तरी क्यारोलिनामा बसेर टेलिभिजन स्क्रिनमा विश्व व्यापार केन्द्रको दक्षिणी टावरमा दोस्रो विमान ठोक्काइएको दृश्य हेर्दै गर्दा मलाई दुई वटा सेप्टेम्बर ११ बीच तुलना र संयोगभित्र लुकेको अर्थ बुझ्न र निकाल्न जरूरी छ भन्ने विचारले सताइरह्यो । मेरो जीवनसँग गाँसिएका दुई वटा सहरमा भएका दुवै घटना मेरो लागि व्यक्तिगतरूपमै पनि उत्सुकतापूर्ण बने । न्यु योर्क सहरले मलाई निकै खाँचोको समयमा दस वर्ष शरण र खुशी दिएको थियो । चिलीको राजधानी सहर सान्टियागो आफना पहाडहरूको कोक्रोमा हुर्काउँदै मलाई एक युवा बनाएको थियो । दुई सहर मलाई दुई भाषा दिए–स्पेनिस र अङ्ग्रेजी । त्यसकारण, भावनात्मक झट्का सामना मैले श्वास पनि सुस्तसुस्त पर्नुप¥यो । त्यो गगनचुम्बी भवनको उचाइबाट सिधै तल खस्दै गरेका मानिसहरूको त्यो दिमाग खल्बलाउने तस्वीर नहेर्न पन्छिरहेँ । भवनमा ठोक्किएको विमानमा सवार यात्रुहरूको अन्तिम क्षणबारे नसोच्ने भरपुर प्रयास गरिरहे जसलाई अब आफूसँगै आफूजस्ता हजारौ मानिसको पनि मृत्यु हुँदै छ भन्ने थाहा थियो । त्यही बखत मैले म्यानहटनमा रहेका मेरो मित्रको अवस्था बुझ्न फोन गरेँ । फोन उठेन । यही अलमलबीच मलाई उत्तर अमेरिकीहरूले गरिरहेको अनुभव आफ्नो लागि परिचित र अझ आफैले भोगेको जस्तो लाग्यो ।
मैले यी दुई घटनाबीच गरेको तुलना कुनै सतही र हलुका तुलना होइन । उदाहरणको लागि, सन् १९७३ मा चिलीमा भएको घटना र संरा अमेरिकामा आज भएको घटना दुवैमा आतङ्क आकाशबाट झरेर देशका राष्ट्रिय निधिहरू सान्टियागोको राष्ट्रपतिभवन र न्यु योर्कको वित्तीय केन्द्र तथा वासिङ्टनको सैनिक केन्द्रमा ध्वस्त बनाइयो । अहँ मैले यी दुई घटनाबीच देखेको समानता अझ गम्भीर खालको छ । समानान्तर पीडा उस्तै दुखाइ, उस्तै विमुखता चिलीमा हामीले त्यो सेप्टेम्बर १९७३ मा भोगेको भाव अहिले प्रतिध्वनित भइरहेको छ । संरा अमेरिकाको सेप्टेम्बर ११ को घटना चिलीको सेप्टेम्बर ११ को घटनाको एउटा विशेष नयाँ अवतारजस्तो भएको अनुभव गर्छु । मैले जे देखिरहेको छु, आफ्नै आँखालाई पत्याउन सकिरहेको छैन । टीभीको पर्दामा म देखिरहेको छु आफ्ना छोरा, बुबा, श्रीमती, प्रेमिका, छोरीका तस्वीर बोकेर सूचना खोजिरहेका मानिसको भीड । उनीहरू आफ्ना प्रियजन जिउँदो छन् वा मरिसके भन्ने कुराको सोधखोज गरिरहेका छन् । सिङ्गो संरा अमेरिका आफ्नो आफन्त र प्रियजन बेपत्ता हुनुको पीडाबोध गरिरहेका छन् । यसरी बेपत्ता भएका आफ्ना प्रिय मानिसको अन्तिम संस्कार गर्न पनि सम्भव थिएन । मानिसको अन्यायपूर्ण व्यवहारले निम्त्याएका ठूलठूला विपत्तिको कारण भएका यस्ता अपत्यारिला घटना प्राकृतिक महाविपत्तिको सामना गर्नुजत्तिकै कठिन हुने गरेको छ । चिलीमा सन् १९७३ को सैनिक विद्रोह र त्यसपछिका दिनमा मजस्तो व्यक्तिले बारम्बार दोहोन्याउने शब्दावली मेरो कानमा गुन्जिरह्यो ः “हामीमाथि यतिसम्मको विपत्ति आइलागेको कुरा सम्झँदा पनि अपत्यारिलो छ हिंसाको यस्तो चरमोत्कर्ष अरूमाथि मात्र हुन सक्छ, हामीमाथि हुन सक्दैन । यस्ता विनाशका रूप त हामीले चलचित्र, पुस्तक र कुनै कुनै पुस्तकको कुनै कुनै अनुच्छेदमा मात्र भेटाउन सक्छौँ । यदि यो कुनै नराम्रो सपना भए हामी किन ब्यूँझिएका छैनौँ ।

संरा अमेरिका आफूलाई अरूभन्दा विशेष वा अलग ठान्छ । त्यसकारण, त्यहाँका नागरिक आफूमाथि संसारका अन्य देशका कम भाग्यमानी मानिसलाई दुःख दिएका कुनै पनि खालका प्राकृतिक विपत्ति वा दुःख आइनलाग्ने सोच्छ । बीसौं शताब्दीमा भएका कुनै पनि ठूला लडाइँले संरा अमेरिकालाई छोएन । पर्ल हार्बरमा ‘बेइमानीको दिन’ (डे अफ इन्फेमी) को दिन भएको हमला संरा अमेरिकाले भोगेको त्यस्तै एउटा मात्र विपत्तिको दिन हो । त्यो घटना पनि संरा अमेरिकाभन्दा हजारौँ माइल पर भएको थियो । संरा अमेरिकाको त्यही आत्मसन्तोषी विश्वास नै आजबाट सधैँको लागि टुक्रियो । आजबाट संरा अमेरिकाले उही अनिश्चित र अस्थिर समय बाँच्नुपर्नेछ, जो संसारका अरू बासिन्दाहरू दैनिकरूपमा बाँच्ने गर्छन् ।
यो महाविपत्ति निम्त्याउने अपराधको कारण अमेरिकी जनताले भोग्नुपरेको क्षतिको पीडाबीच यदि यो समयलाई आत्मसमीक्षा र आत्मज्ञान प्राप्तिको अवसरको रूपमा नलिने हो भने यस्ता घटना फेरि–फेरि पनि नदोहोरियोस् भनी म कामना गर्छु । यो आकारको सङ्कटले कुनै असल वा खराब, कुनै शान्ति वा युद्ध, कुनै आक्रमण वा मेलमिलाप, कुनै बदला वा न्याय, समाजको सैनिकीकरण गर्ने । वा मानवीय बनाउने विषयमा नवीकरण गर्न वा विध्वंस गर्न प्रयोग गर्न सकिन्छ । अमेरिकी जनतालाई अहिलेको यो पीडा जित्ने, भयबीच बाँच्ने वा यस्तो असुरक्षाबीच बाँच्ने र अघि बढ्ने भन्ने विषयमा एउटै तरिका भनेको यस्ता दुःख आफूलाई मात्र परेको होइन भनी हृदयङ्गम गर्नु हो । हाम्रो साझा मानव समुदायको विशाल ऐनामा नियाल्ने हो भने उनीहरूभन्दा निकै टाढा टाढासम्म मानिसहरूले यस्तै अनपेक्षित सङ्कट भोगिरहेका छन् । उनीहरूले कहिल्यै नमेटिने चोट र आक्रोशको सामना गरिरहेका छन् ।
चिलीमा सैनिक हमला भएको वार्षिकीमै संरा अमेरिकाको मर्म र अन्तरमै पहिलो हमला हुनु के कुनै अदृश्य र बुझ्न कठिन कुनै कारणको निर्णय हुन सक्छ ? वासिङ्टनको पोषण पाएको र अमेरिकी जनताको नाममा चलेको सरकारले चिलीमाथि त्यो सैनिक हमला गराएको थियो । के अमेरिकी जनता, विशेषतः युवा पिँढीलाई कसैको शिकार हुनु भनेको के हो भन्ने कुरा बुझाउने एउटा तरिका हो ? अब उनीहरूले जान्नेछन्, न श्वास न लास हुने गरी आफ्ना प्रियजनलाई बेपत्ता बनाएपछि एउटा साझा नर्कमा बस्नुको दुःख कस्तो हुन्छ भन्ने कुरा । संसारभर धेरै तरिकाबाट भएका धेरैथरी सेप्टेम्बर ११ लाई बुझ्न अब अमेरिकी जनता सक्षम हुनेछन् । धेरै–धेरै मानिस र देशले भोगेको त्यो पीडा के अब अमेरिकी जनताले भित्रबाट महसुस गर्नेछन् ?
आतङ्कवादीहरूले संरा अमेरिकालाई एउटा राक्षसी राज्यको रूपमा एक्ल्याउन र अलग बनाउन चाहेका छन् । अमेरिकी आक्रामकता र हस्तक्षेपका शिकार बनाइएका बाँकी संसारका धेरै देश र मानिस यो राक्षसीकरण मान्न तयार छैनन् । अमेरिकामा सेप्टेम्बर ११ मा भएको घटनापछि संसार दुःखमा डुबेको छ । सबैतिरबाट सहयोगी हात अघि बढाइएको छ । ऐक्यबद्धताका सन्देशहरू जताततै फैलिएको छ । जो मानिस त्यो घटनामा परी मरे, तिनलाई आफ्नै मानिसको हत्याजत्तिकै मान्ने सङ्कल्प गरिएको छ ।
संसारको महाशक्तिसामु खन्याइएको यो सद्भाव उसबाट पनि फर्काइने अपेक्षा कायम छ । ठूला महाविपत्ति, अनिकाल, तानाशाह शासन र दमनबाट जोगिंदै आएका मानिसहरू मिलेर नै आजको संरा अमेरिका बनेको हो । आशा र सहनशीलताले भरिएको यो देशका जनताले अरू मानिसप्रति पनि उस्तै सद्भाव व्यक्त गर्ने हुन् वा होइनन्, यो अहिले नै भनिहाल्न सकिँंदैन । पीडा र पुनर्जागरण भोगेका नयाँ अमेरिकी जनताले क्षतिग्रस्त मानवता जीर्णोद्धार गर्ने कष्टसाध्य प्रक्रियामा सहभागी बन्न खुलारूपमा तयार हुनेछन् वा छैनन्, आगामी दिन र वर्षमा हेर्ने नै छौँ सबै मिलेर एउटा यस्तो संसारको रचना गर्न सक्नेछौं जहाँ कुनै सेप्टेम्बर ११ को भय हुनेछैन ।
अनुवाद : सुशिला
‘चिलीमा फासीवादको प्रतिरोध’ पुस्तकबाट
Leave a Reply