भर्खरै :

राजनीति सङ्लो हुनुपर्छ

राजनीति सङ्लो हुनुपर्छ

राजनीति सङ्लो हुनुपर्छ । राजनीति सङ्लो बनाउने काम राजनीतिक दलहरूको हो, दलका नेता तथा कार्यकर्ताहरूको हो । अरु कुनै निकायका व्यक्तिहरूले राजनीतिलाई दूषित बनाउने प्रयास गरे, षड्यन्त्र रचे पनि त्यसको विरोध राजनीतिक दलका नेता कार्यकर्ताहरूले गर्नुपर्छ† सचेत पार्ने काम गर्नुपर्छ । तर, विडम्बना ¤ राजनीतिलाई सङ्लो बनाउनुपर्ने दलका नेता तथा कार्यकर्ताहरूले नै राजनीतिलाई फोहोर बनाउँछन् । राजनीतिलाई बिगार्ने काम सत्तासीन र ठूला दलका नेताहरूले गरिरहेका छन् । आपराधिक व्यक्तिहरूलाई पनि सांसद बनाउन नेताहरू खटिरहेका छन् । खराब व्यक्तिहरूलाई उम्मेदवारीमा सिफारिस दिनु भनेको के असल काम हो ?
सत्तासीन र ठूला दलका नेताहरूले राजनीतिलाई कमाइ खाने भाँडो बनाइरहेका छन् । कारबाही गर्नुपर्ने नेता तथा कार्यकर्ताहरूलाई पार्टीभित्र भित्याउने, फूलमालाले स्वागत सत्कार गर्ने काम तिनै नेताहरूले गरिरहेका छन् । ती दलका नेताहरूको स्थिति हेर्दा राजनीति पनि व्यापार–व्यवसायजस्तो हुन थालेको छ । राजनीति पैसा कमाउने माध्यम बनिरहेको छ । जसरी भए पनि निर्वाचन जित्ने र पैसा कमाउने काम भइरहेको छ । निष्ठा र आस्थाको राजनीति होइन झूटको खेती भइरहेको छ, जनतामा भ्रम छरिरहेको छ । दलको सिद्धान्त र विचार पनि देखाउने दाँत भइरहेको छ ।
के दलको उद्देश्य सरकारको नेतृत्व गर्नुमात्र हो ? सरकारको नेतृत्व गर्दैैमा के जनताका आधारभूत आवश्यकता परिपूर्ति हुने हो ? देशको राजस्वमा रजाइँ गर्नु, नेता–कार्यकर्ता पाल्नु, सेवा–सुविधा पाउनु नै राजनीतिको कर्म, धर्म ठानेर अघि बढ्छ भने त्यो कसरी असल राजनीति हुन्छ ? त्यस्तो राजनीतिलाई जनताले आत्मसात होइन छोड्नुपर्छ र सिद्धान्तनिष्ठ राजनीतिक दलका नेता–कार्यकर्ताले गलत राजनीति गर्ने नेता तथा कार्यकर्ताहरूको जनतामाझ उदाङ्ग्याउनुपर्छ ।
संसद्मा देशको विधेयक र ऐन कानुनबारे बहस भइरहेको हुन्छ । तर, सांसदहरू संसद्मा सहभागी हुँदैनन्, भए पनि निकै थोरै हुन्छ । गणपूरक सङ्ख्या नपुगेर कति बैठक स्थगित भयो । संसद्मा हाजिर गरेर आ–आफ्नो व्यक्तिगत काममा लाग्ने सांसदहरूलाई पार्टीले पनि केही कारबाही गरेको देखिँदैन । आफ्ना सांसदहरू जो जहाँ गए पनि पार्टीलाई मतलब हुँदैन । तर, तिनै सांसदहरू मन्त्री बन्न तँछाडमछाड गर्छन् । मन्त्री बनाइएन भने घुर्की देखाइन्छ । के यो देशको गलत राजनीति होइन ? त्यस्तो राजनीतिको भरमा देश कसरी अघि बढ्छ ? देशको मुहार कसरी फेर्छ । जनताले कसरी राहतको अनुभूति गर्लान् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *