भर्खरै :

साक्षरता अभियानमा कोही पनि नछुटून्

साधारणतः सामान्य अक्षरहरू चिनेर बुझ्नसक्नेलाई साक्षर भन्ने गरिन्छ । यदि हामीले अक्षर कोर्न नजान्ने भएको भए संसार कति अप्ठेरो हुन्थ्यो होला । विभिन्न अक्षर, कथा, कविता, पैसा, सूचना केही पनि बुझ्न सकिने थिएन । विश्वमा शिक्षा अनि साक्षरतालाई आधारभूत मानव अधिकारसँग जोडेर हेर्ने गरिए तापनि विश्वभरि लगभग ७७ करोड बढी मान्छेहरू सामान्य लेखपढ गर्ने सीप नभएका छन् भन्ने स्पष्ट तथ्य अध्ययनले देखाउँदछ । हाम्रा छरछिमेकमा हरेक उमेर समूहका कोही न कोही अक्षर नै नचिन्नेहरू सजिलै भेटिन्छन् ।
सामान्य अक्षर चिनेर लेखपढ गर्न र सामान्य हिसाब बुझ्न पाउनु सबैको मौलिक अधिकार हो । यी कुराहरू कागजका पानामा सीमित नराखी वास्तविक जीवनशैलीमा साकार भएर आउन जरुरी छ ।
एक तथ्याङ्कअनुसार संसारका प्रत्येक ५ मध्ये एकजना पुरुष र दुईतिहाइ महिलाहरू अझै निरक्षर छन् । धेरै बालबालिकाहरू अझै विद्यालय जान पाउँदैनन् । पाउनेहरू पनि दैनिक विद्यालय जान सक्दैनन् । पश्चिमी र दक्षिणी एसियालगायतका देशहरू साक्षरता दरमा अझै पछि परेका छन् ।
नेपालमा तत्कालीन राजा वीरेन्द्रले २०३९ फागुन १२ गतेको दिन प्राथमिक तहको शिक्षा निःशुल्क घोषणा गरेका दिनदेखि हरेक वर्ष फागुन १२ गते शिक्षा दिवस मनाइदै आएको थियो । गणतन्त्रको घोषणापछि हरेक सेप्टेम्बर ८ का दिन विश्व साक्षरता दिवस मनाउन थालिएको हो ।
सेप्टेम्बर ८ अर्थात् विश्व साक्षरता दिवस । सन् १९६५ मा युनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रूपमा मनाउने घोषणा गरेको हो । विश्वभरिका विद्यालय, समुदाय र संस्थाहरूले साक्षरताका लागि जनजागरण फैलाउन यो दिवस विभिन्न तरिकाले स्वस्फूर्तरूपमा मनाउने गर्दछन् । सबै जना साक्षर हुनु पाउनु र सबैलाई साक्षर बनाउनु सबैको अधिकार र दायित्व पनि हो ।
नेपालको परिप्रेक्ष्यमा डिजिटल युग अनि त्यसको उपयोगिताबाट डिजिटल शिक्षा र साक्षरताका लागि जनजागरण अझै पुग्न सकेको छैन । हातहातमा भएका मोबाइल अनि घरघरका इन्टरनेटहरू शिक्षा र साक्षरताभन्दा पनि नचाहिँदा सञ्चार अनि समय व्यतीत गर्ने फजुल माध्यममात्र बन्न हुँदैन ।
लेखिने अक्षर र अङ्कहरूको महत्व एकदमै धेरै र अतुलनीय छ । विकसित समाजको परिकल्पना यी अक्षर र अङ्कहरूसँग सबैजना मानवको परिचय नगराइकन सम्भव पक्कै पनि छैन । साक्षरताले मानवको परिचय र उसको संस्कारलाई अझै वृद्धि गर्दछ । अक्षर र अङ्कको महत्व अनि शिक्षाको उज्यालो मानवका लागि एकदमै जरुरी छ । आज यदि हामीमा अक्षरको ज्ञान नभएको भए लेख्नेले लेख्न र पढ्नेले पढ्न नसक्ने भए यो साक्षरता दिवसको पृष्ठभूमि हाम्रो पात्रोमा न त लेखिने थियो न पढिने थियो । अक्षरले भावना र जानकारी दर्साउँछ र अङ्कले तथ्य अनि सम्बन्ध दर्साउँछ ।
नेपालमा प्रौढ शिक्षालगायतका कार्यक्रमहरूलाई पनि निरन्तरता दिन जरुरी छ । किनभने, बालक, वृद्ध तथा अपाङ्गता भएका व्यक्ति सबैलाई शिक्षा चाहिन्छ ।
खरिपाटी अनि धुलोपाटीमा अक्षर कोरेर अक्षर उक्काउन जानेका देखि कालो पाटी अनि स्लेटसम्म प्रयोग गरेका पुस्ताहरू, भित्तामा झुण्ड्याएका चार्टमा ‘क’ बाट कछुवा पढेकादेखि कम्प्युटरमा अक्षर चिनेका पुस्तासम्म नेपाली समाजले देखेको छ तर फेरि पढ्न नजानेका अनि विद्यालय जानसम्म धौ धौ पुस्तालगायत अक्षर नै नचिन्ने अनि औँठाछाप लगाउनुपर्ने व्यक्तिहरू पनि यही समाजमा अझै छन् । सबैलाई साक्षर बनाउनु हामी सबैको दायित्व हो । साक्षरताप्रति सबैको दायित्वबोध होस् ।
कोभिड – १९ ले नेपालमा साक्षरता अभियानलाई अनलाइन तथा डिजिटल माध्यमबाट न्यूनतम सम्बोधन गर्न खोजे तापनि त्यो सुविधा सबैको पहुँचमा नपुग्दा प्रभावकारी भएन ।
साक्षरता अभियान सबैका लागि शिक्षाको अवसर प्रदान गर्ने महत्वपूर्ण शैक्षिक अभियान भएकोले अभियानकै रूपमा सञ्चालन गर्नको लागि सबैको साथ र सहयोगको आवश्यकता पर्दछ । साक्षरता मानिसको जीवनस्तर र विकाससँग प्रत्यक्षरूपमा सम्बन्धित भएकोले देशका नागरिकहरूको सुधारिएको जीवनस्तर र मानव विकासको स्तरलाई उकास्न निरक्षरहरूको सहभागिता अनिवार्य सर्त हो ।
साक्षरता अभियानमा शारीरिक असक्षमतालगायत सबै तहका निरक्षरहरूको सहभागिताका लागि यसका सरोकारवालाहरूको आ–आफ्नो ठाउँबाट सहयोगको आवश्यकता पर्दछ । घरबाट निरक्षरताको उन्मूलन भएमा देशबाट निरक्षरता हट्ने कुरा निश्चित भएकोले सबैले होस्टेमा हँैसे गर्न आवश्यक छ तबमात्र साक्षर नेपालको परिकल्पना पूर्ण हुनसक्दछ । साक्षरता सिकाइ क्षेत्रमा रूपान्तरण भन्ने नारालाई ५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसमा सार्थक तुल्याउन सिकाइ अभियानमा कसैलाई नि नछुटाऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *