भर्खरै :

चिनियाँ जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली चाङशु भक्तपुर भ्रमणमा

चिनियाँ जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली चाङशु भक्तपुर भ्रमणमा

भक्तपुर, २९ भदौ । नेपालका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा भदौ २७ देखि ३० गतेसम्म नेपाल भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समितिका अध्यक्ष ली चाङशुले बुधबार भक्तपुर भ्रमण गर्नुभएको छ । अध्यक्ष लीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खौमास्थित भक्तपुर दरबार क्षेत्र प्रवेशद्वारमा स्वागत गर्नुभयो ।
अध्यक्ष चाङशु सम्मिलित करिब ७० जनाको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा अवस्थित रामेश्वर मन्दिर, द्वारिकानाथ मन्दिर, बसन्तपुर दरबार, केदारनाथ मन्दिर, राष्ट्रिय कला सङ्ग्रहालय भवन, लुँ ध्वाका, पचपन्न झ्याल दरबार, वत्सला मन्दिर, यक्षेश्वर महादेव मन्दिर, सिद्धिलक्ष्मी मन्दिर, लापां देग, तब सत्तल, सिलु महादेव मन्दिर, चतुब्र्रह्म महाविहारबाट पैदल यात्रा गर्दै टौमढीको पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको रुचिपूर्वक अवलोकन गर्नुभयो । प्रतिनिधिमण्डल टोलीको स्वागतमा केदारनाथसँगैको डबलीमा भैल प्याखं प्रदर्शन गरिएको थियो ।
अध्यक्ष चाङशुले भक्तपुरका सम्पदाहरू अवलोकनबाट आफू प्रभावित भएको बताउँदै भक्तपुरमा स्वागत गर्नुभएकोमा भक्तपुर नगरपालिका र सम्पूर्ण जनप्रतिनिधिहरूलाई धन्यवाद दिनुभयो । उहाँले चीनमा पनि सयौँ वर्ष पुराना संस्कृतिहरू जीवन्त रहेको बताउनुभयो । उहाँले भक्तपुरको प्रख्यात भैल प्याखंलाई अत्यन्त चासो लिएर अवलोकन गर्नुभएको थियो ।
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले लि झान्सुलाई भक्तपुरमा स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता अवसरहरू प्राप्त हुने आशा व्यक्त गर्नुभयो ।
अध्यक्ष चाङशुलाई नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल, बाग्मती प्रदेश सभा सदस्यद्वय सुरेन्द्रराज गोसाई र सृजना सैंजू, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर जिल्लाका प्रजिअ रुद्रादेवी शर्मा तथा भक्तपुर नगरपालिका कार्यपालिका सदस्यहरूले भक्तपुरमा स्वागत गर्नुभएको थियो ।
भ्रमणपश्चात् टौमढीको डबलीमा अध्यक्ष ली चाङशुले सांसद सुवाल र नगर प्रमुख प्रजापतिलाई मायाको चिनो प्रदान गर्नुभएको थियो भने सांसद सुवाल र प्रमुख प्रजापतिले अध्यक्ष चाङशुलाई ‘मयुरको झ्याल’ र पार्टी तथा नगरपालिकाका प्रकाशनहरू मायाको चिनोको रूपमा प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *