भर्खरै :

डेङ्गु ज्वरो बढ्दो छ, स्वास्थ्य मन्त्रालय के गर्दै ?

डेङ्गु ज्वरो बढ्दो छ, स्वास्थ्य मन्त्रालय के गर्दै ?

काठमाडौँ, २९ भदौ । कोरोना महामारीपछि डेङ्गु ज्वरोले जनता पीडित छन् । अस्पतालहरूमा शय्याको अभाव छ । डेङ्गु ज्वरोले महामारीको रुप लिँदै छ । यो सङ्कटमा स्वास्थ्य मन्त्रालय र स्वास्थ्य मन्त्रीको औचित्य देखिएन । स्वास्थ्य मन्त्रालयको लागि बजेट धेरै छुट्याइएको छ तर स्वास्थ्य मन्त्रालयको प्रभावकारिता देखिएन, मन्त्रीको औचित्य देखिएन । मन्त्रीलाई सदनमा उपस्थित गराई डेङ्गु नियन्त्रणबारे निर्देशन गर्न सभामुखबाट रुलिङ हुनुपर्दछ ।
डेङ्गुको कारण जनताको मृत्यु भइरहेको छ । यो सामान्य ज्वरो असामान्य भइरहेको छ । सरसफाइलाई ध्यान दिइएको भए यो रोगबाट जनताको मृत्युसम्म हुने थिएन । स्वास्थ्य मन्त्रालयले यति पनि गर्न सकेन ।
ख्वप विश्वविद्यालयको विधेयक अर्थ मन्त्रालयमा पुगेको १५–२० दिन भयो । अर्थ मन्त्रालय के गर्दै छ ? यो विधेयकलाई समर्थन गरी शिक्षा मन्त्रालयमा पठाउनुपर्ने विलम्ब भइरहेको छ । यसबारे पनि सभामुखको रुलिङको लागि आग्रह गर्दछु । विलम्ब भइरहेकोमा अर्थमन्त्रीसँग स्पष्टीकरण लिनु जरुरी छ ।
समाजवाद दाबी गरेका शासक दलहरू पटक–पटक सरकारमा पुगे तर समाजवाद कतै भेटिएन, जनतालाई धोका भयो । सरकारमा गएका दलहरूले समाजवादविरोधी काम गर्दै छन् । राज्यको स्वामित्वमा उत्पादन र वितरण नगरी समाजवादउन्मुख काम हुने छैन । मुठीभरका व्यक्ति अर्बपति र खर्बपति हुने, राज्य गरिब हुने, जनता दुःखी हुने र थप पीडामा पर्ने यो स्थिति अन्त्य हुनुपर्दछ ।
नागरिकता विधेयक पारित गरिएकोमा जनताको ठूलो विरोध छ । यो विधेयक प्रमाणीकरण गर्न नहुनेतर्फ राष्ट्रपतिको ध्यानाकर्षण गरिँदै छ । नागरिकता विधेयकको कारण एक दुई चुनावपछि नेपालका प्रधानमन्त्री र मन्त्रीहरू नयाँ लेन्डुपहरू बन्ने छन् । यसकारण, जनताको विरोध भएको हो । यसतर्फ पनि सभामुखको ध्यानाकर्षण गराउन चाहन्छु ।
राजनीति सिद्धान्तमा आधारित हुन्छ । अहिलेको सिद्धान्तहीन गठबन्धनले राजनीतिलाई कहाँ पु¥याउँछ ? के देश डुब्दैन ? जनतामा ठूलो चिन्ता छ । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा शासक दलहरूबाट २०३ जना ठेकेदार निर्वाचित भएको सार्वजनिक भयो । तिनका पार्टी र कम्पनीको नामसहित छापिएकोे छ । सरकारमा गएका पार्टीका मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्यको नामसमेत प्रकाशित छ । ती पार्टीका नेताहरूलाई संसद्मा स्पष्ट गराउनु आवश्यक छ । ठेकेदार र राजनीति एउटै होइन । आज गरेको पीच भोलि उप्किएजस्तै राजनीति कुम्ल्याउने होइन । राजनीति देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने मूल नीति हो ।
निर्वाचन घोषणालगत्तै चुनावमा भाग नलिने तटस्थ व्यक्तिहरूको सरकार गठन हुने र संसद्को कार्यकाल पनि अन्त्य हुने बन्दोबस्त गरियो भने अहिलेजस्तो अन्योल हुनेछैन ।
(नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भदौ २९ गते प्रतिनिधिसभाको विशेष समयमा राख्नुभएको मन्तव्यको सार–सं)

कारागारभित्र विद्यालय, कलेज सञ्चालन र तालिमको जरुरी
पञ्चायतकालको एक मन्त्रीले आफू शिक्षामन्त्री हुँदा कारागारभित्र थुनिएका कतिपय नक्कल गरेर परीक्षा उत्तीर्ण गरेकाहरू बहुदल र गणतन्त्रमा मन्त्री भएको सार्वजनिक गरे । कारागार सुधारगृह हो । त्यो गलत काम गराउने ठाउँ होइन । सरकारले कारागारभित्र विद्यालय र कलेज स्तरको कक्षा सञ्चालन गर्नुपर्दछ । कारागारभित्रका बन्दीलाई पशुलाई जस्तै थुन्नु हुँदैन । केन्द्रीय कारागारलगायतमा केही बन्दीलाई पशुपालनजस्तो थुनामा राखिएकोमा सबैतिरबाट विरोध भइरहेको छ ।
महिला हिंसा र हत्या, ठूलठूला भ्रष्टाचारी, कर छली विभिन्न देशका कम्पनीमा लगानी गर्नेहरूलाई मृत्युदण्ड दिने व्यवस्था गर्नुपर्छ । यसको लागि सरकारले संविधान संशोधन गर्नुपर्दछ । मन्त्रीहरू आफ्नो पोका पन्टुरा मिलाउने भरमा केन्द्रित भएकोमा जनताको विरोध छ । देश र जनतालाई दुःख दिने राणा शासन १०४ वर्षमा समाप्त भयो । पञ्चायत ३० वर्षमा समाप्त भयो । बहुदल र गणतन्त्रमा अराजक काम भइरहँदा सरकार र पार्टीको आयु छोटो भइरहेको छ । देशका मन्त्री र प्रधानमन्त्री जिम्मेवार भएनन् । कारागारमा क्षमताभन्दा बढी बन्दी राख्न हुँदैन । कैदी बन्दीलाई सीपको तालिम दिएर काममा लगाउने व्यवस्था हुनु जरुरी छ । यसले बन्दीको खाना खर्चको भार कम हुन्छ ।
हाम्रा मन्त्रीहरूले बरोबर कारागार निरीक्षण गर्नुपर्दछ । बिरामी बन्दीहरूलाई उपचारको बन्दोबस्त हुनु आवश्यक छ । कारागारमा थुन्नुपर्ने गरी अपराध किन भइरहेको छ ? यसबारे अध्ययन टोली गठन गरेर प्रतिवेदन सार्वजनिक गर्नुपर्छ र त्यसअनुसार विद्यालय र कलेजको पाठ्यक्रम तयार गरी नयाँ पुस्तालाई सचेत गर्नु जरुरी छ ।
(नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भदौ २९ गतेको प्रतिनिधिसभामा कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक, २०७६ मा संशोधन राख्नुभएको मन्तव्यको सार–संं)

Leave a Reply

Your email address will not be published.