भर्खरै :

असन्तुलित क्षेत्रीय विकासको परिणाम : बसाइँसराइ !

असन्तुलित क्षेत्रीय विकासको परिणाम : बसाइँसराइ !

जब काठमाडौँ उपत्यकामा फोहर थुप्रिन्छ र काठमाडौँ उपत्यकामा ट्राफिक समस्याले समस्त यातायात प्रणालीमा जटिलता थपिन्छ तब काठमाडौँ उपत्यकाले अहिलेको जनसङ्ख्यालाई थेग्न नसक्ने भनेर बहस सुरु हुन थाल्छ । तर, जबसम्म नीति निर्माण तहमा बस्ने शासकहरूले यसको कारक बुझ्ने प्रयास गर्दैनन् वा बुझेर पनि बुझ पचाएर बसेका हुन्छन् तबसम्म जनताले यी समस्याबाट पार पाउँदैनन् ।
मानिसहरू सधैँँ आफ्नो र आफ्नो परिवारको जीवनलाई सुरक्षित बनाउने प्रयासमा नयाँ सीपहरू सिक्न, राम्रो काम प्राप्त गर्न सधैँ प्रयासरत हुन्छन् । विपत्ति, भोकमरी र असुरक्षाबाट बच्नको लागि सधैँ नयाँ–नयाँ उपायको खोजीमा हुन्छन् । राम्रो सञ्चार प्रविधि, घट्दो यातायात लागत र अन्य ठाउँमा उपलब्ध अवसरहरूको जानकारीको कारण पहिलेको गतिहीन विकट ग्रामीण क्षेत्रका बासिन्दाहरू उच्च दरमा बसाइँ सर्दै छन् । नेपालका दुर्गम क्षेत्रका धेरै ग्रामीण घरपरिवारहरू अहिले आफ्नो जीवन निर्वाहको मुख्य साधनको रूपमा बसाइँसराइमा निर्भर छन् ।
नेपालमा बसाइँसराइको वृद्धिदर चिन्ताजनक छ । नेपालको अधिकांश जनसङ्ख्या कृषिमा निर्भर छ जुन पूर्णतया अनुकूल मौसममा भरपर्नु पर्ने हुन्छ । नेपालको ग्रामीण क्षेत्रको मुख्य समस्या भनेको खाद्य असुरक्षा हो । उचित सिँचाइ सुविधा भएर खाद्य सुरक्षा सुनिश्चित भएमा ग्रामीण क्षेत्रका जनताले सजिलै बसाइँ सर्ने विकल्प रोज्ने थिएनन् । आफ्नै गाउँ–ठाउँमा जीवन सहज भए मानिस किन घरपरिवार छोड्न चाहन्छन्, जनावरजस्तै स्थानान्तरण गर्न चाहन्छन् र ? त्यसैले न्यून कृषि उत्पादन र कृषिमा काम गर्न रुचि नहुनु प्रवासनलाई असर गर्ने मुख्य कारक हुन् । त्यसैगरी, प्रवासी साथीहरू र सामाजिक सञ्जालजस्ताको प्रभाव अरू कारण हुन् । बसाइँसराइका अन्य कारणहरूमा ग्रामीण क्षेत्रमा आधारभूत सुविधाहरूको अभाव र सहरी क्षेत्रमा राम्रो अवसरहरू समावेश छन् । खेतीपाती र ग्रामीण जीवनबाट दिक्क भएकाहरूका लागि बसाइँसराइको निम्ति शिक्षा प्रमुख प्रेरणा बन्न पुगेको छ । थोरै शिक्षा पाएका युवाहरू पनि आफ्नो गाउँबाहिर रोजगारीका राम्रो विकल्प खोज्न थाल्छन् र कृषिमा काम गर्न हिचकिचाउँछन् ।
बसाइँसराइ र आर्थिक विकासबीचको सम्बन्धको अध्ययनमा हालैका वर्षहरूमा धेरै अर्थशास्त्रीहरूको चासो बढेको छ । अन्तर्राष्ट्रियरूपमा बसाइसराइलाई अब मानव अधिकार र सुरक्षाको सन्दर्भमा जोखिमको दृष्टिकोणबाट मात्र हेरिएको छैन, विप्रेषण पठाउने र प्राप्त गर्नेहरूको आर्थिक विकासमा पार्ने प्रभावबारे अध्ययन गरिएका छन् । यसको बाबजुद पनि नेपालको विकास नीतिको छलफलले बसाइँसराइलाई ध्यानमा राखेको छैन । हालैका दशकहरूमा नेपालभर तीव्र सामाजिक–आर्थिक र वातावरणीय परिवर्तनहरू भइरहेका छन् । कम आय, थोरै रोजगारीका अवसरहरू, अपर्याप्त पूर्वाधारहरूको कारण अझै पनि २० प्रतिशतभन्दा बढी मानिसहरूको आधारभूत आवश्यकताहरूमा पहुँच छैन ।
बसाइँसराइको कारण विकट गाउँहरूमा लैङ्गिक असमानता उच्च रहेको छ । पुरुषहरू प्रायः आफ्नो परिवारबाट बाहिरिन्छन् जबकि महिलाहरू गाउँमै रहन्छन् । कतिपय ठाउँमा महिलाको अनुपातमा पुरुषको सङ्ख्या ४० प्रतिशतसम्म कमी रहेको छ । पुरुषको अनुपस्थितिले गर्दा दुर्गम क्षेत्रको अर्थतन्त्र अधिक महिलाहरूमा निर्भर रहेको छ । यस कारणले गर्दा महिलाहरूले अधिकांश पारिवारिक र आर्थिक कार्यहरू व्यवस्थापन गर्छन् । यो प्रवृत्तिले गर्दा महिलाहरूले घरायसी कठिनाइ सहनु परेको छ । श्रमको पलायनले व्यक्ति, समाज र देशकै विकासका लागि समस्याहरू खडा गरेको छ ।

अन्तर्राष्ट्रिय श्रम बसाईसराइको जोखिम
आन्तरिक बसाइँसराइमात्र होइन अन्तर्राष्ट्रिय श्रम प्रवासको समस्या पनि उत्तिकै छ । धेरै जोखिमहरू श्रम प्रवाससँग जोडिएका छन् । प्रति यक्तिको हिसाबले विश्वमा नेपालले सबैभन्दा बढी विप्रेषण प्राप्त गर्छ । ग्रामीण क्षेत्रहरूमा बस्ने परिवारहरूको लागि विप्रेषण मुख्य आम्दानीको स्रोत हो । अर्कोतिर विप्रेषणले ग्रामीण क्षेत्रहरूमा असमानतालाई झनै बढाएको वास्तविकता पनि हो । सामाजिक र आर्थिक नतिजाहरू बसाइँसराइसँग आउँछ । बसाइँसराइको निम्ति अग्रीम पैसा चाहिन्छ जुन ऋणको रूपमा उपलब्ध हुन्छ । दुर्गम स्थानहरूमा औपचारिक वित्तीय सेवाहरू बिरलै पाइन्छ । त्यसैले जब सम्भावित प्रवासीहरूले पैसा उधारो लिनुपर्ने हुन्छ, तिनीहरू सामान्यतया अधिक ब्याज लिने साहुमा भरपर्छन् । बचत, लगानी, बीमा र लघुवित्तबारे तिनीहरूलाई बिरलै थाहा हुन्छ । विप्रेषणको ठूलो हिस्सा ऋण फिर्ता गर्न प्रयोग गरिन्छ । ग्रामीण क्षेत्रहरूमा लगानीको लागि थोरै सम्भावनाहरू हुन्छन् र धेरैजसो पुँजी पहिले नै भिडभाड भएका सहरमा केन्द्रित हुन्छ । बैङ्कहरूले पनि गाउँबाट पुँजी सङ्कलन गर्नमात्र आफ्नो शाखा खोल्छन् तर त्यहाँ लगानी गर्दैनन् । लगानी, उद्यमशीलता, पूर्वाधार र बजार पहुँचको कमीका कारण दुर्गम क्षेत्रका समुदायहरूले बचत गर्ने सम्भावना कम हुन्छ ।

समस्याको समाधान कसरी ?
भूमण्डलीकरण, खाद्य असुरक्षा, जलवायु परिवर्तन र बढ्दो आम्दानी अन्तरका कारण भविष्यका दशकहरूमा विश्वका विभिन्न भागहरूमा बसाइँसराइ जारी रहने कुरामा कुनै शङ्का छैन । धेरै प्रवासीहरूले कठोर शारीरिक काम गर्ने वातावरण, अपरिचित र पृथक जीवन अवस्थाको कारण पीडित हुन्छन् । हरेक वर्ष हजारौँको सङ्ख्यामा नेपाली प्रवासीहरूको विदेशमा अकालमै मृत्यु हुने गरेका छन् । प्रवासीहरूको लक्ष्य र महत्वाकाङ्क्षा, वित्तीय र सामाजिक दुवै उद्देश्यका लागि विप्रेषण लगानी गर्ने तरिकाहरूबारे जानकारी र बुझाइको कमीले गर्दा उनीहरूको आर्थिक अवस्थामा आएको सुधार दिगो हुन सकेको छैन । आर्थिक विकास सम्बन्धित तथ्याङ्कहरू राष्ट्रिय स्तरमा मात्र सीमित छ । यी तथ्याङ्क नेपालका दुर्गम भागहरूमा बसाइँसराइका विशेष पक्षहरूलाई बुझ्न र समाधान गर्न अपुग छ । स्थानीय तहसँग प्रत्यक्ष सरोकार राख्ने तथ्याङ्कको व्यवस्थापन हुनुपर्छ ताकि स्थानीय समस्यालाई सम्बोधन हुने नीति निर्माणमा सो तथ्याङ्कको प्रयोग गर्न सकोस् । मानिसहरूलाई बसाइँसराइबाट कम पीडित र यसबाट बढी लाभ उठाउन मद्दत गर्ने रणनीतिहरू बनाउनुपर्छ ।
जनशक्ति निर्यातले देशलाई तिनीहरूको सेवाबाट वञ्चित गर्ने र अर्थतन्त्रको सामान्य कार्यशैलीमा बाधा पु¥याउने हुँदा यसलाई पुरै रोक्न नसके पनि न्यूनीकरण गर्ने नीति स्पष्ट हुनुपर्छ । यो प्रायः ग्रामिण क्षेत्रको पूर्वाधारमा सुधार र शैक्षिक स्तर बढ्दा हुन्छ । घरपरिवार बसाइँसराइमा संलग्न हुने कारण ग्रामीण अर्थतन्त्रलाई गैर–कृषि क्षेत्रमा हस्तान्तरण गर्नेजस्ता अन्तर्निहित अवस्थाहरू बुझ्नुपर्छ । सरकारले हस्तक्षेप गरेर न्यून आय भएका परिवारको आर्थिक अवस्थामा सुधार दिगो हुने गरी सहयोग गर्नुपर्छ । बसाइसराइलाई निरुत्साहन गर्नको लागि गाउँमै खाद्य सुरक्षाको सुनिश्चितता गराउन स्थानीय मौसम अनुकूल बाली बीउमाथि गहन अनुसन्धान गर्न कृषि विज्ञहरूको ध्यान आकर्षित हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *