भर्खरै :

नेमकिपा समाजवादी प्रचार अभियानमा छ

नेमकिपा समाजवादी प्रचार अभियानमा छ

नेपालको राजनीतिक, वैचारिक र सैद्धान्तिक सङ्घर्षमा नेपाल मजदुर किसान पार्टीको छुट्टै पहिचान र महत्वपूर्ण देन छ । जनताको निःस्वार्थपूर्वक सेवा गर्नुपर्छ भन्ने कुरामा नेमकिपालाई कुनै भ्रम छैन । नेमकिपा देशभक्त पार्टी हो । देश जोगाउन, देशको स्वाधीनता र सार्वभौमिकता कायम राख्न नेमकिपा हरबेला सङ्घर्षरत छ । नेमकिपा विदेशीको दबाबमा सत्तामा जाने र नेता तथा कार्यकर्ता पोस्ने पक्षमा छैन । तर, देश र जनताको हितमा हुने हरेक आन्दोलन र सङ्घर्षमा नेमकिपा पछि परेको छैन । नेमकिपाले जहिल्यै विदेशी हस्तक्षेप, विदेशी आक्रमण र विदेशी अतिक्रमणको विरोध गरिरहेको नेपाली जनतासामु छर्लङ्ग छ । नेमकिपा आन्दोलनबाट कहिल्यै भागेको छैन ।
नेमकिपा वर्ग शत्रु र वर्ग मित्रबारे स्पष्ट छ । नेमकिपाले दलको सिद्धान्त र विचारलाई कहिल्यै बन्धक राखेर काम गरेन । विचार र सिद्धान्तको राजनीति गर्न कहिल्यै पछि परेन । नेमकिपाले पैसा बाँडेर, भोज खुवाएर, धाक धम्की दिएर कहिल्यै जनताको मत लिने काम गरेको छैन । नेमकिपाको प्राथमिकता निर्वाचनमा कति सीट जित्ने र कति मत पाउने भन्दा पनि जनताको राजनीतिक चेतनास्तर बढाउनु नै रहेको छ । तर, पुँजीवादी दलहरू निर्वाचनमा अनेक लोभलालच देखाएर, पैसा बाँडेर, धाक धम्की दिएर मत बटुल्छन् । मत धेरै र थोरैको आधारमा कुनै दल ‘राष्ट्रिय र ‘अराष्ट्रिय’ हुने मान्यतालाई नेमकिपाले आत्मसात गरेको छैन । प्राप्त मतको आधारमा कुनै दल ‘राष्ट्रिय’ र ‘अराष्ट्रिय’ हुँदैन ।
पुँजीवादी दलले पारित गरेको थ्रेसहोल्डले नेमकिपाको विचारलाई बाँध्न सक्दैन । विदेशीभक्त, विदेशीको उठबसमा बस्ने दलहरूले पारित गरेको ‘थ्रेसहोल्ड’ नेपाली जनताको भावनाविपरीत छ । प्रजातान्त्रिक मूल्य र मान्यताविपरीतको थ्रेसहोल्ड खारेज गर्नुपर्छ । शासक दल र अन्य पुँजीपति दल र दलका उम्मेदवारहरू पद र व्यक्तिगत फाइदाको निम्ति निर्वाचनमा पैसाको खोलो बगाउँछन् र जनताको मनोभावना बिगार्ने काम गर्छन् । ती दलका नेताहरू योग्य व्यक्ति होइन नालायक उम्मेदवारहरूलाई निर्वाचनमा उठाउँछन् । भ्रष्टाचार, अनियमितता या भ्रष्टाचारबाट गन्हाएका, आपराधिक क्रियाकलापमा संलग्न ठेकेदार र धनाढ्यहरूलाई उम्मेदवारी दिलाएर ठूला दलका नेताहरू तिनीहरूबाट पैसा असुल्छन् । यसरी ती राजनीतिक दलका नेताहरू पद, पैसा र बलको राजनीति गर्छन् र सिद्धान्त र विचारलाई भुल्छन् ।
नेमकिपा लोभलालचको राजनीति गर्दैन । नेमकिपा झूटको खेती गर्दैन । नेमकिपा देश र जनताप्रति समर्पित छ । नेमकिपा पुँजीवादी व्यवस्थामा हुने निर्वाचनले समाजवाद स्थापना हुन्छ भन्ने मान्यतामा विश्वास राख्दैन । देशमा आमूल परिवर्तनको निम्ति वर्गसङ्घर्ष आवश्यक हुन्छ भन्ने मान्यता नेमकिपाको हो । नेमकिपाले गरिरहेको राजनीतिक प्रचार अभियान यसकै सिलसिला हो । अहिले नेमकिपा समाजवादी प्रचार अभियानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *