भर्खरै :

नेपाल क्रान्तिकारी महिला सङ्घको पाँचौँ भक्तपुर जिल्ला सम्मेलन उद्घाटन

नेपाल क्रान्तिकारी महिला सङ्घको पाँचौँ भक्तपुर जिल्ला सम्मेलन उद्घाटन

भक्तपुर, ३१ भदौ । नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिको पाँचौँ जिल्ला सम्मेलन शुक्रबार सम्पन्न भयो ।
सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले महिला शिक्षित भए समाज अगाडि बढ्ने भएकोले राज्यले महिलालाई निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो ।
सचिव सुवालले महिलालाई गर्भावस्था, बच्चा जन्माउने र हुर्काउने थप जिम्मेवारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मातृ शिशु मृत्यु दर घटाउन सरकारले ल्याएको सुनौला हजार दिनजस्ता कार्यक्रमहरू शब्दमा मात्र सीमित भएकोले कार्यान्वयन हुनु आवश्यक छ ।”
उहाँले महिला श्रमलाई उत्पादनशील बनाउन, केटाकेटीलाई कुपोषणबाट बचाउन र बालबालिकाको राम्रो वृद्धि विकासको लागि शिशुशाला र बालोद्यानको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाले विगत २३ वर्षदेखि शिशु स्याहार केन्द्र, विद्यालय र कलेज सञ्चालन गरेपछि महिलाहरूलाई अध्ययनको अवसर सहज भएको उहाँले बताउनुभयो ।
प्रजग कोरियामा केटाकेटाीको लागि पढ्न–लेख्न, गाउन–नाच्न दरबार नै बनाइएको छ । नेपालमा प्रधानमन्त्री र मन्त्रीहरूको लागि दरबार बनाइन्छ । यसकारण, नेपालको विकास ढिलो भएको हो, सचिव सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशघाती नागरिकता विधेयक खारेज गराउन नेमकिपाले निरन्तर सङ्घर्ष गर्दै छ । यो विधेयकमा राष्ट्रपतिबाट प्रमाणीकरण भए देश सिक्किमजस्तै हुने खतरा छ ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्रराज गोसाईले राजनीतिक परिवर्तन भए पनि जनताले परिवर्तन देख्न र भोग्न नपाएको बताउनुभयो ।
नेक्रा महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले गणतन्त्रको झन्डै डेढ दशक बित्दा पनि कामदारवर्गका महिलाले परिवर्तनको अनुभूति गर्न नसक्नुमा आजसम्मका सरकारको नेतृत्व गर्ने दल र तिनका महिला सङ्गठनहरू दोषी छन् भन्नुभयो ।
उहाँले भन्नुभयो, “तिनीहरूले महिलाका निम्ति अलग्गै निर्वाचन क्षेत्र, सम्पत्तिमा अधिकारजस्ता विषय उठाएर कामदार वर्गीय महिला आन्दोलनलाई रोक्न खोजेका छन् । नेक्रामसङ्घ व्यापक कामदारवर्गको हित गर्ने समाजवादी व्यवस्थाको लागि सङ्घर्षरत छ ।”
“कामदारवर्गका महिलाको जीवनमा परिवर्तनको निम्ति समाजवादी व्यवस्था अपरिहार्य छ । त्यसको लागि व्यापक महिलालाई राजनीतिकरूपले सचेत र शिक्षित पार्न आवश्यक छ । विभिन्न देशको इतिहास र समाजवादी देशमा महिलाहरूको सङ्घर्ष र योगदानबारे अध्ययन गरी प्रेरणा लिनु आवश्यक छ”, उहाँले भन्नुभयो ।
जनविरोधी पार्टी धेरै समय नटिक्ने भन्दै उहाँले महिलाहरू राजनीतिकरूपमा सचेत र सङ्गठित हुनु आवश्यक छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नेमकिपाको निर्वाचन घोषणापत्रअनुसार भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा विशेष ध्यान दिई काम गरिरहेको छ भन्नुभयो ।
नेक्रामसङ्घ भक्तपुर जिल्ला सम्मेलन तयारी समितिका संयोजक सिर्जना सैंजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा कमलमैँया सुवाल, मीना प्रजापति र सरस्वती सिंख्वालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *