भर्खरै :

येनानको गोष्ठीमा साहित्य र कलाबारे प्रवचन

येनानको गोष्ठीमा साहित्य र कलाबारे प्रवचन

प्रस्तावना
२ मई १९४२
कामरेडहरू ! विचार आदानप्रदान गर्ने र साहित्य र कला क्षेत्रको कार्य तथा आम कान्तिकारी कार्यमाझको सम्बन्धको जाँचबुझ गर्ने उद्देश्यले आज तपाईँहरूलाई यस गोष्ठीमा निम्त्याइएको हो । यसको हाम्रो उद्देश्य क्रान्तिकारी साहित्य र कलाले विकासको सही बाटो लिन सकून् र राष्ट्रिय शत्रुको तख्ता पल्टाइदिन तथा राष्ट्रिय मुक्तिको अभिभारा पूरा गर्न, कान्तिकारी कार्यलाई अझ सजिलो तुल्याउन र अझ राम्ररी मद्दत गर्ने कुरा सुनिश्चित गर्नु हो ।
चिनियाँ जनताको मुक्तिको निम्ति गरिने हाम्रो सङ्घर्षका अनेकौँ मोर्चाहरू छन्, जसमा कलम र बन्दुकका मोर्चाहरू, सांस्कृतिक र सैनिक मोर्चाहरू पर्दछन् । शत्रुलाई हराउनको निम्ति हामीले मुख्यरूपले बन्दूकधारी सेनामाथि भरपर्नु पर्दछ । तर, यो सेनामात्र पर्याप्त हँुदैन । हामीसित सांस्कृतिक सेना पनि हुनैपर्छ, जो हाम्रा पङ्क्तिहरूलाई एकताबद्ध पार्ने र दुश्मनलाई हराउन अनिवार्यरूपले आवश्यक छ । मई ४ आन्दोलनदेखि चीनमा यस्तो सांस्कृतिक सेनाले साकार रूप लिएको छ । यसले चिनियाँ क्रान्तिलाई मद्दत गरेको छ । चीनको सामन्ती संस्कृति र साम्राज्यवादी अतिक्रमणलाई टेवा दिन दलाल पुँजीवादी संस्कृतिको प्रभाव क्षेत्र क्रमशः घटाएको छ र तिनको प्रभावलाई कमजोर पारेको छ । नौलो संस्कृतिको विरोध गर्नको निम्ति चिनियाँ प्रक्रियावादीहरूले अब ‘गुणसित मात्राले टक्कर लिने’ एकमात्र तरीका अपनाउन सक्छन् । अर्को शब्दमा भन्ने हो भने चिनियाँ प्रतिक्रियावादीहरूसित पैसा छ र उनीहरूले कुनै श्रेष्ठ रचना तयार पार्न नसके तापनि भएभरको शक्ति लगाएर मात्रा थुपार्न सक्छन् । मई ४ आन्दोलनदेखि साहित्य र कला सांस्कृतिक मोर्चाका महत्वपूर्ण र सफल अङ्ग हुन गएका छन् । दस वर्षको गृहयुद्धको अवधिमा क्रान्तिकारी साहित्य र कलाको आन्दोलनको औधी विकास भएको छ । आन्दोलन र क्रान्तिकारी युद्ध दुवै नै एउटै सामान्य दिशातर्फ अघि लम्कदै गए तर यी दुई बन्धु सेनाहरू आ–आफ्ना व्यवहारिक कार्यमा एक अर्कोसित गाँसिएनन् । किनभने, प्रतिक्रियावादीहरूले यिनलाई एक अर्कोबाट अलग्याइदिए । जापानविरोधी प्रतिरोध युद्ध छेडिएपछि झन्झन् बढी क्रान्तिकारी लेखक र कलाकारहरू येनान र हाम्रा अरू जापानविरोधी आधार इलाकाहरूमा आइरहेका छन्, यो राम्रो कुरा हो । तर, यसको अर्थ आधार इलाकाहरूमा आउँदैमा उनीहरू यहाँका जन–समूहहरूसित पूरापूर एकाकार भइहाले भन्ने होइन । हामीले आफ्नो क्रान्तिकारी कार्यलाई अघि बढाउने हो भने यी दुईथरी सेनालाई एकाकार गर्नैपर्छ । हाम्रो आजको बैठकको उद्देश्य साहित्य र कला सम्पूर्ण क्रान्तिकारी मिसिनसित अभिन्न पार्टपुर्जाको रूपमा राम्ररी जोडिऊन्, तिनीहरू जनतालाई एकताबद्ध र शिक्षित तुल्याउने तथा शत्रुलाई प्रहार गर्ने र नष्ट गर्ने शक्तिशाली हतियार बनून् । तिनले जनतालाई एक मन एक प्राण जस्तो भएर शत्रुसित जुध्न मद्दत गरुन् भन्ने कुरालाई सुनिश्चित पार्नु हो । यो लक्ष्य प्राप्त गर्नको निम्ति हल गर्नुपर्ने समस्याहरू के के हुन् ? मेरो विचारमा यी समस्याहरू हुन्, लेखक र कलाकारहरूको वर्गीय अडानको समस्या, उनीहरूको प्रवृत्तिको समस्या, उनीहरूका पाठक–दर्शकहरूको समस्या, उनीहरूको कार्यको समस्या र उनीहरूको अध्ययनको समस्या ।

वर्गीय अडानको समस्या
हाम्रो अडान सर्वहारा वर्ग र जन–समूहकै अडान हो । कम्युनिस्ट पार्टीका समस्याहरूको निम्ति यसको अर्थ हो पार्टीकै अडानबमोजिम चल्नु । पार्टीको भावना र पार्टीको नीतिबमोजिम चल्नु । यस समस्याबारे गलत सोचाइ राख्ने वा यसलाई प्रस्टसित नबुझ्ने हाम्रा केही लेखक र कलाकर्मीहरू छन् कि ? मेरो विचारमा त्यस्ता मानिसहरू अझै छन् । हाम्रा कति कामरेडहरू सही अडानबाट बारम्बार चिप्लिएका छन् ।

प्रवृत्तिको समस्या
आ–आफ्नो अडानबाट विशिष्ट कुराहरूबारे विशिष्ट प्रवृत्तिहरू देखापर्छन् । दृष्टान्तको निम्ति, हामीले गुणगान गर्ने कि उदाङ्गो पार्ने ? यो प्रवृत्तिको सवाल हो । यीमध्ये कुन चाहिँ प्रवृत्ति अपनाउने ? मेरो विचारमा दुवै प्रवृत्ति अपनाउनुपर्छ । अब सवाल उठ्छ, तपाईँ कसको बारेमा कुरा गर्दै हुनुहुन्छ । मानिसहरू तीन थरीका छन्– हाम्रा शत्रुहरू, संयुक्त मोर्चाका हाम्रा सहयोगीहरू र हाम्रा आफ्नै मानिसहरू । यिनमा पछिल्लो श्रेणीका मानिसहरू जन–समूह र उनीहरूका अगुवाहरू हुन् । यी तीनथरीका मानिसमध्ये हामीले हरेकप्रति बेग्लाबेग्लै प्रवृत्ति अपनाउनुपर्छ । शत्रुको हकमा अर्थात् जापानी साम्राज्यवाद र जनताका अरू सबै शत्रुहरूको हकमा, क्रान्तिकारी लेखक र कलाकारहरूको अभिभारा तिनको छलकपट र निष्ठुरतालाई उदाङ्गो पारिदिनु र त्यसको साथसाथै तिनको हार अवश्यम्भावी छ भन्ने कुरा औँल्याइदिनु हो, जसले गर्दा जापानविरोधी सेना र जनतालाई ती शत्रुहरूलाई उखेलेर मिल्काउनको निम्ति एक मन, एक प्राण भएर दृढतासाथ जुध्ने काममा प्रोत्साहित गर्न सकियोस् । संयुक्त मोर्चाका हाम्रा विभिन्न सहयोगीहरूको हकमा, हामीले सहयोग र आलोचना दुवैको प्रवृत्ति अपनाउनुपर्छ । यो सहयोग र आलोचना पनि बेग्लाबेग्लै किसिमको हुनुपर्छ । उनीहरूको जापानसित प्रतिरोध गर्ने कामलाई हामी समर्थन गर्छौँ । यस काममा उनीहरूले पाएको सफलताको प्रशंसा गर्छौँ । तर, उनीहरू प्रतिरोध युद्धमा सक्रिय नभएको खण्डमा भने हामीले उनीहरूको आलोचना गर्नैपर्छ । कसैले कम्युनिस्ट पार्टी र जनताको विरोध गर्छ र प्रतिक्रियावादी बाटोतिर खस्कँदै जान्छ भने हामी दृढतापूर्वक त्यसको विरोध गर्नेछौँ । जहाँसम्म जन समूहहरू, उनीहरूको पराक्रम र सङ्घर्ष, उनीहरूको सेना र उनीहरूको पार्टीको सवाल छ, हामीले अवश्यै तिनको प्रशंसा गर्नैपर्छ । जनताका पनि आफ्नै कमजोरीहरू हुन्छन् । सर्वहारा वर्गमा पनि निकै मानिसहरूमा निम्न पुँजीवादी विचारहरू रहेका हुन्छन् । उता किसानहरू र सहरिया निम्न पुँजीपति वर्गका मानिसहरूमा पिछडिएका विचारहरू रहेका हुन्छन् । यी विचारहरू सङ्घर्षमा तिनलाई बाधा पार्ने बोझहरू हुन् । उनीहरूलाई शिक्षित तुल्याउन र उनीहरूलाई आफ्नो पिठ्युँबाट यी बोझहरू मिल्काउन र आफ्ना कमजोरीहरूसित जुध्न मद्दत गर्न हामीले धैर्यपूर्वक निकै समय लगाउनुपर्छ, जसले गर्दा लामा–लामा फड्का हाल्दै उनीहरू अघि लम्कन सकून् । उनीहरूले सङ्घर्षद्वारा आफ्नो संस्कार फेरेका छन् वा फेर्दै छन् र हाम्रो साहित्य र कलाले यस प्रक्रियाको चित्रण गर्नुपर्छ । यदि उनीहरू आफ्ना गल्तीहरू काखी च्यापेर बस्दैनन् भने हामीले खाली उनीहरूको नकारात्मक पक्षको कुरा गर्दै उनीहरूको खिल्ली उडाउने गर्नु वा अझ नराम्रो कुरा, उनीहरूप्रति बैरभाव गर्नु हुँदैन । हाम्रा रचनाहरूले त उनीहरूलाई एकताबद्ध हुन, प्रगति गर्न एक मन र एक प्राण भएर अघि बढ्न, पिछडिएका कुराहरू त्याग्न र क्रान्तिकारी कुराहरूको विकास गर्न सघाउ पु¥याउनुपर्छ र त्यसको उल्टो काम भने निश्चय नै गर्नु हुँदैन ।

पाठक– दर्शकहरूको समस्या
ती मानिसहरूको समस्या जसको निम्ति हाम्रो साहित्य र कलाका कृतिहरू रचिएका छन् । शेनशी–कानसू–निङ्श्या सीमान्त क्षेत्रमा र उत्तरी चीन र मध्य चीनका जापानविरोधी आधार इलाकाहरूमा यो समस्या क्वोमिन्ताङ शासित इलाकाहरूमा भन्दा बेग्लै छ र प्रतिरोध युद्वअघिको शाङ्घाईमा भन्दा झन् बेग्लै छ । शाङ्घाई अवधिमा क्रान्तिकारी साहित्य र कलाका कृतिहरूका पाठक र दर्शकहरू मुख्यतया विद्यार्थी, कर्मचारी र पसलका सहायकहरू नै हुन्थे । प्रतिरोध युद्ध छेडिएपछि क्वोमिन्ताङ–शासित इलाकाहरूमा पाठक र स्रोताहरूको घेरा अलि फराकिलो भयो । तैपनि, तीमध्ये मुख्यरूपले उस्तैखालका मानिसहरू थिए, किनभने त्यहाँ सरकारले मजदुर, किसान र सिपाहीहरूलाई क्रान्तिकारी साहित्य र कलाको सम्पर्कमा आउन दिएको थिएन । हाम्रा आधार इलाकाहरूमा भने परिस्थिति एकदमै फरक छ । यहाँ साहित्य र कलाका कृतिहरूका पाठक र दर्शक, मजदुर, किसान, सिपाही र क्रान्तिकारी कार्यकर्ताहरू नै छन् । आधार इलाकाहरूमा पनि विद्यार्थीहरू त छन् । तर, यी पुराना खालका विद्यार्थीहरूभन्दा बेग्लै छन् । उनीहरू कि त पहिलेका कि भावी कार्यकर्ता हुन् । साक्षर हुनासाथै सबै किसिमका कार्यकर्ता, सेनाका योद्धा, कारखानाका मजदुर र गाउँका किसानहरू सबैले पुस्तक र अखबारहरू पढ्न मन गर्छन् र निरक्षर रहेका मानिसहरू नाटक र ओपेराहरू, रेखाचित्र र रङ्गीन चित्रहरू हेर्न, गीत गाउन र सङ्गीत सुन्न मन गर्छन् । हाम्रो साहित्य र कलाका कृतिहरूका पाठक–दर्शकहरू यिनै हुन् । अब कार्यकर्ताहरूलाई मात्र लिऔँ । उनीहरू थोरै होलान् भन्ने नठान्नोस्, क्वोमिन्ताङ शासित इलाकामा प्रकाशित हुने कुनै पनि पुस्तकका पाठहरूभन्दा यिनीहरू कहाँ हो कहाँ धेरै छन् । उहाँ कुनै पुस्तकको एक संस्करणमा खालि २००० थान पुस्तक छापिन्छन् र तीन संस्करण जोड्दा जम्मा ६००० थान मात्र हुन्छन् । तर, जहाँसम्म आधार इलाकाका कार्यकर्ताहरूको सवाल छ, येनानमा मात्रै पुस्तक पढ्न सक्नेहरूको सङ्ख्या दस हजारभन्दा धेरै छ । अर्को कुरा, उनीहरूमध्ये धेरैजसो देशका सबै भागबाट आएका लामो इतिहास भएका खारिएका क्रान्तिकारीहरू छन् र उनीहरू विभिन्न ठाउँमा काम गर्न जानेछन् । यसकारण, उनीहरूको माझमा शैक्षिक कार्य गर्नु ज्यादै महत्वपूर्ण छ । हाम्रा साहित्य र कलाका कमीहरूले यस क्षेत्रमा सा¥है राम्ररी काम गर्नुपर्दछ ।
हाम्रा साहित्य र कलाका पाठक दर्शकहरू मजदुर, किसान र सिपाहीहरू तथा उनीहरूका कार्यकर्ताहरू भएका हुनाले यहाँ उनीहरूलाई बुझ्नुपर्ने र चिन्नुपर्ने सवाल उठ्छ । उनीहरूलाई बुझ्न र राम्ररी चिन्नको निम्ति, पार्टी र सरकारका सङ्गठनहरू, गाउँ र कारखानाहरू तथा आठौँ मार्ग सेना र नौलो चौठो सेनाहरूभित्र रहेका विभिन्न किसिमका मानिसहरू र घटनाक्रमहरूलाई बुझ्न र राम्ररी चिन्नको निम्ति थुप्रै काम गर्नुपर्ने भएको छ । हाम्रा लेखक र कलाकारहरूले आ–आफ्नो साहित्य र कला सिर्जनाको काम गर्नु त छँदै छ, तर उनीहरूको सबभन्दा पहिलो अभिभारा जनतालाई राम्ररी बुझ्नु र चिन्नु हो । यस सम्बन्धमा हाम्रा लेखक र कलाकारहरूको के कस्तो अवस्था छ त ? उनीहरूमा ज्ञान र समझदारीको कमी छ । उनीहरू ‘शु¥याइँ देखाउने ठाउँ नपाएको शुरवीर’ जस्ता भएका छन् । ज्ञानको कमी भन्नुको अर्थ के हो ? जनतालाई राम्ररी नचिन्नु । लेखक र कलाकारहरूमा न त आफूले वर्णन गर्ने मानिसहरूको राम्रो जानकारी छ, न त उनीहरूमा आफ्ना पाठक दर्शकहरूको राम्रो जानकारी छ । वास्तवमा उनीहरूले ती मानिसलाई बिरलै चिनेका होलान् । उनीहरूले मजदुर वा किसान वा सिपाहीहरूलाई राम्ररी चिन्दैनन् र कार्यकर्ताहरूलाई पनि राम्ररी चिन्दैनन् । समझदारीको कमी भन्नुको अर्थ के हो ? यसको अर्थ हो, उनीहरूको भाषा नबुझ्नु अर्थात् जनसमूहको समृद्ध, सजीव भाषासित परिचित नहुनु । धेरै लेखक र कलाकारहरू जनसमूहबाट अलग्गै बस्ने र निस्सार जीवन बिताउने हुनाले उनीहरू जन–भाषासित स्वाभाविकै रूपले अपरिचित छन् । परिणामस्वरूप, उनीहरूका रचनाको भाषा नीरस हुनेमात्र होइन । तर, तिनमा धेरैजसो आफैले रचेका त्यस्ता अनुपयुक्त अभिव्यक्तिहरू पनि पर्दछन् । जो प्रचलित प्रयोगको उल्टो हुन्छन् । धेरै कामरेडहरू ‘जनशैली’ बारे कुरा गर्न रुचाउँछन् । तर, जनशैलीको साँचो अर्थ के हो ? यसको अर्थ के हो भने हाम्रा लेखक र कलाकारहरूका विचार र भावना मजदुर, किसान र सिपाहीहरूका, जनसमूहहरूका विचार र भावनासित एक रूप भएर मिल्नुपर्छ । यस्तो एकरूपता हासिल गर्नको निम्ति उनीहरूले दिलोज्यानले जनसमूहको भाषा सिक्नुपर्छ । तपाईँ जनसमूहको भाषाका थुप्रो कुरा नै बुझ्नुहुन्न भने साहित्य र कला सिर्जनाबारे कसरी कुरा गर्न सक्नुहुन्छ ? “शु¥याइँ देखाउने ठाउँ नपाएको शूरवीर” भन्नाको हाम्रो तात्पर्य के हो भने तपाईँको तथाकथित महान् सत्यको सङ्गालोलाई जनसमूहले रुचाएका छैनन् । तपाईँ जनसमूहहरूको सामु जति दिग्गज हुने स्वाङ र ‘शूरवीर’ हुने नाटक रच्नुहुन्छ, जनसमूहलाई त्यति नै यस्ता फोहोर कसिङ्गर कोच्ने प्रयत्न गर्नुहुन्छ, अनि जनसमूहले यसलाई स्वीकार गर्ने सम्भावना त्यति नै कम हुन्छ । तपाईँ जनताले आफूलाई बुझिदिऊन् भन्ने इच्छा गर्नुहुन्छ भने, तपाईँ जनसमूहसित एक रूप हुन चाहनु हुन्छ भने, आफूलाई खार्ने दीर्घकालीन र अझ कष्टपूर्ण प्रक्रियाबाट गुज्रन तपाईँले अठोट गर्नैपर्छ । यहाँनेर मेरा आफ्नै भावनाहरू कसरी फेरिए भन्ने अनुभवको मैले चर्चा गर्नुपर्ला । मैले विद्यार्थीको रूपमा जीवनको थालनी गरेँ र विद्यालयमा विद्यार्थीको चालचलन सिकेँ । आ–आफ्ना काँधमा वा हातमा एउटा छेस्कोसम्म पनि बोक्न नसक्ने सहपाठीहरूका अगाडि मैले मेरा आफ्नै सरसामानहरू बोक्नेजस्ता मामुली शारीरिक श्रम गर्दा पनि मेरो इज्जत गइहाल्ला कि भन्ने मलाई लाग्दथ्यो । त्यसबखत मलाई बुद्धिजीवीहरूमात्रै यस संसारका सफासुग्घर मानिस हुन् र तिनको दाँजोमा मजदुर र किसानहरू फोहोरी मानिस हुन् भन्ने लाग्थ्यो । बुद्धिजीवीहरू सफासुग्घर मानिस हुन् भन्ने विश्वास भएकोले उनीहरूका लुगा लाउन मलाई पटक्कै अप्ठेरो लाग्दैनथ्यो । तर, मजदुर र किसानहरू फोहोरी हुन् भन्ने विश्वास भएकोले म तिनको लुगा लगाउँदैनथेँ । तर, म क्रान्तिकारी भएपछि र मजदुर र किसानहरू तथा क्रान्तिकारी सेनाका सिपाहीहरूसँग बसेपछि मैले विस्तारै–विस्तारै उनीहरूलाई राम्ररी चिनेँ र उनीहरूले पनि विस्तारै–विस्तारै मलाई चिने । पुँजीवादी विद्यालयहरूमा छँदा मेरो मनमा जरा गाडेका पुँजीवादी र निम्न पुँजीवादी भावनाहरूलाई मैले त्यसबखतमात्रै आधारभूत रूपले फेर्न सकेँ । अनि मलाई कस्तो लाग्यो भने संस्कार नफेरिएका बुद्धिजीवीहरू मजदुर र किसानहरूको दाँजोमा सफासुग्घर हुँदा रहेनछन् र अन्तिम विश्लेषणमा, मजदुर र किसानहरू नै सबभन्दा सफासुग्घर मानिस रहेछन् । अनि, हातमा हिलो लागेका र खुट्टामा गोबर लत्पतिएका भए पनि किसान र मजदुरहरू पुँजीवादी र निम्न पुँजीवादी बुद्धिजीवीभन्दा त साँच्ची नै सफासुग्घर पो हुँदा रहेछन् । भावनात्मक परिवर्तन, एक वर्गबाट अर्को वर्गमा परिवर्तन भन्नुको अर्थ यही हो । बुद्धिजीवी समुदायबाट आएका हाम्रा लेखक र कलाकारहरू जनसमूहले आफ्ना रचनाहरू राम्ररी रुचाएको देख्न चाहन्छन् भने उनीहरूले आफ्ना विचार र भावनालाई रूपान्तर गर्नुपर्छ र पुनः संस्कार गर्नैपर्छ । यस्तो रूपान्तर नगरिकन, यस्तो पुनः संस्कार नगरिकन उनीहरूले कुनै काम पनि राम्ररी गर्नसक्ने छैनन् र उनीहरू नालायक ठहर्ने छन् ।

अध्ययनको समस्या
अन्तिम समस्या अध्ययनको समस्या हो । यसो भन्नाको मेरो तात्पर्य हो माक्र्सवाद–लेनिनवाद तथा समाजको अध्ययन । आफूलाई माक्र्सवादी लेखक ठान्ने कुनै पनि व्यक्तिले र विशेष गरेर कम्युनिस्ट पार्टीका सदस्य रहेको कुनै पनि लेखकले माक्र्सवाद–लेनिनवादको ज्ञान हासिल गर्नैपर्छ । तैपनि, हाल केही कामरेडहरूमा माक्र्सवादका आधारभूत धारणाहरूको जानकारी पनि छैन । उदाहरणको निम्ति, मानिसको अस्तित्वले उसको चेतनालाई निर्धारित गर्छ र वर्गसङ्घर्ष र राष्ट्रिय सङ्घर्षका वस्तुगत वास्तविकताहरूले हाम्रा विचार र भावनालाई निर्धारित गर्छन् भन्ने कुरा एउटा आधारभूत माक्र्सवादी धारणा हो । तर, हाम्रा केही कामरेडहरू यस तथ्यलाई उल्टाई दिन्छन् र ‘प्रेम’ बाटै हरेक कुराको थालनी हुनुपर्छ भन्छन् । अब प्रेमकै कुरा गर्ने हो भने वर्गीय समाजमा वर्गीय प्रेममात्रै हुनसक्छ । तर, यी कामरेडहरू भने वर्गभन्दा माथि रहेको प्रेम, अमूर्त प्रेम, अमूर्त स्वतन्त्रता, अमूर्त सत्य, अमूर्त मानव स्वभाव आदि कुरा खोजिरहेका छन् । यसले के देखाउँछ भने उनीहरू पुँजीपति वर्गबाट सा¥है गहिरोसित प्रभावित भएका छन् । उनीहरूले आफूलाई यस प्रभावबाट पूरापूर मुक्त गर्नुपर्छ र नम्रतासाथ माक्र्सवाद–लेनिनवादको अध्ययन गर्नुपर्छ । लेखक र कलाकारहरूले साहित्य र कलाका कृतिहरूको अध्ययन गर्नु उचित कुरा हो । तर, माक्र्सवाद–लेनिनवादको विज्ञान भने सबै क्रान्तिकारीहरूले अध्ययन गर्नैपर्छ । यस कुरामा लेखक र कलाकारहरू पनि अपवाद हुँदैनन् । लेखक र कलाकारहरूले समाजको अध्ययन गर्नुपर्छ । भनाइको अर्थ के भने, उनीहरूले समाजका विभिन्न वर्गहरू, तिनका आपसी सम्बन्धहरू र तिनका आ–आफ्ना स्थितिहरू, तिनको स्वरूप र तिनको मनोविज्ञानको अध्ययन गर्नुपर्छ । यी सबै कुरालाई प्रस्टसित ठम्याएपछि मात्रै हामीले समृद्ध विषयवस्तु र सही दिशा भएको साहित्य र कला हात पार्न सक्नेछौँ ।
आज म खालि प्रस्तावनाको रूपमा यी समस्याहरू अघि सार्दै छु । म के आशा गर्छु भने यी र अरू यस्तै सम्बन्धित समस्याहरूबारे तपाईँहरू सबैले आ–आफ्ना विचार व्यक्त गर्नुहुनेछ ।
स्रोत : सिराइचुली
सेरोफेरो त्रैमासिक, वर्ष ६, अङ्क १

Leave a Reply

Your email address will not be published. Required fields are marked *