नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
“मिसनरीहरू अफ्रिका पस्दा हामीसित जमिन थियो, तिनको हातमा बाइबल थियो । हामीले आँखा चिम्ल्यौँ, प्रार्थना ग¥यौँ । आँखा खोल्दा हाम्रो हातमा बाइबल थियो, जमिनजति तिनको हातमा थियो ।”
(डेसमोन्ड टुटु, नोबेल शान्ति पुरस्कार विजेता ।)
अफ्रिकाको सामान्य चित्रण यसरी गरिन्छ – अफ्रिकी जनता पिछडिएका छन्, जातीय झगडाबाट पार पाउन सक्दैनन् र त्यहाँ युद्ध सरदारहरूले शासन गर्छन् ।
मूलधारे मिडियाले बिरलै सोध्ने प्रश्न यस्तो छ – “ती शासकहरूलाई सत्तामा पु¥याउने र टिकाउने काममा धनी देशहरूको भूमिका कस्तो छ ?” अफ्रिकाको कुनै पनि देशबारे विश्लेषण गर्नुस्, त्यसले सिङ्गै विश्व व्यवस्थाको निकृष्ट पक्ष झल्काउनेछ । युद्ध सरदार वा तानाशाहहरूलाई सत्तामा पु¥याउन हतियार दिएर होस् वा मुद्राकोषले लाद्ने आर्थिक सर्तहरू हुन्, अफ्रिकामा पश्चिमाहरू खेलिरहेका छन् । यसले गर्दा असल शासकहरूलाई गरिबी घटाउन गा¥हो हुने गरेको छ । युद्ध र आर्थिक शोषणले काँधमा काँध मिलाएर काम गर्छन् । यसरी धनी देशहरूले आफ्नो दुनो सोझ्याउँछन् । यिनै कारणले गर्दा अफ्रिकी देशका जनताले काटमार, बलात्कार, चरम गरिबी र विभिन्न रोगका महामारी झेलिरहन बाध्य छन् । यी सबै समस्या एकआपसमा निर्भर छन् । अफ्रिकाका प्रमुख खेलाडीहरू संरा, बेलायत र फ्रान्स हुन् । चीनको प्रभाव बिस्तारै बढ्दै छ ।
पृथ्वीको सबैभन्दा धनी महाद्वीप
अफ्रिकाको प्राकृतिक सम्पदाको महत्व सयौँ वर्षअघि धनी देशहरूले बुझिसकेका थिए । त्यसयता ती सम्पदा हत्याउने तिनको भोक कहिल्यै हराएन । अफ्रिकामा अनेक बहुमूल्य खनिजहरू छन् । शक्तिशाली मानिसहरू ती खनिजको लागि युद्ध लड्न तम्तयार रहन्छन् । अफ्रिकाका युद्धग्रस्त क्षेत्रहरूमा ‘युद्ध देवताहरू’ भन्ने चलन छ । त्यो भनेको सुन, तेल र हिरा हो । अङ्गोला, कङ्गो, घाना र सियरा लियोनमा निरन्तर युद्ध चलेको छ । हिरा व्यापार नियन्त्रण गर्नाले धेरै नाफा हात पार्न सकिन्छ । कोबल्ट र नियोबियम चरम स्थितिमा काम गर्ने उपकरणहरूमा प्रयोग हुन्छ । अन्तरिक्ष, अस्त्र, आणविक रियक्टर, पनडुब्बी, रसायन प्रशोधन केन्द्र, भट्टी र तेलका ट्याङ्करहरूमा यी धातुको प्रयोग हुन्छ ।
कोल्टन मोबाइल फोन, कम्प्युटर र भिडियो गेमहरूमा प्रयोग हुन्छ । त्यसैले, विकसित देशका ठूला कम्पनीहरू कोल्टनको माग गर्छन् । मध्य अफ्रिकामा विश्वको कोल्टन भन्डारको ८० प्रतिशत कोल्टन र विश्वको कोबल्ट भन्डारको ६० प्रतिशत कोबल्ट पाइन्छ । अफ्रिकाको एउटै देश प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा २४० खर्ब अमेरिकी डलर बराबरको प्राकृतिक सम्पदा छ । तर यी सम्पदाको एक अंश पनि त्यहाँका गरिब जनताले पाउँदैनन् । शान्तिकालमा होस् वा युद्धबीच, समुद्रपारका कम्पनीहरू, तानाशाहहरू र युद्ध सरदारहरूले यी सम्पदाको शोषणबाट अकूत सम्पत्ति कुम्ल्याउँछन् । यो शोषणलाई जति व्यवस्थित ग¥यो, शासकहरूले त्यति नै बढी तलबभत्ता कमाउँछन् । युद्धग्रस्त क्षेत्रहरूमा भ्रष्ट सरकारहरूले हत्याकाण्ड मच्चाएर बहुराष्ट्रिय कम्पनीहरूलाई सघाउँछन् । धनी देशहरूले दमनकारी शासन व्यवस्थालाई टेवा दिन्छन् । यसले गर्दा तिनका कम्पनीहरूले अफ्रिकी सम्पदाको लुटपाट चालू राख्न पाउँछन् ।
उपनिवेशवादी शोषण
गोराहरूले कालाहरूलाई नीच ठानेका प्रमाणहरू इतिहासभरि पाइन्छ । अनेक लोकप्रिय व्यक्तिहरूका मन्तव्यहरूमा पनि यो प्रवृत्ति उजागर हुने गरेको छ । बेलायती फिल्ड मार्शल मोन्टगोमेरीले एकचोटि अफ्रिकी स्रोतसाधनबारे भनेका थिए, “अफ्रिकीहरू पूर्णतः बर्बर छन् । यी स्रोतसाधनको आफै विकास गर्न तिनीहरू अक्षम छन् ।” यही सोच अमेरिका, बेलायत र युरोपेली राजनीतिक नेतृत्वको पनि छ । अफ्रिकी प्राकृतिक सम्पदा चोर्दै गर्दा त्यहाँका बहुसङ्ख्यक जनतामाथि अत्याचार गर्न उनीहरूले यही सोचलाई बहाना बनाउँदै आएका छन् ।
दोस्रो विश्वयुद्धको समापनसम्म पनि अफ्रिका युरोपेली उपनिवेशहरूको रूपमा खण्डित थियो । अफ्रिकाभरि खासगरी बेलायत र अफ्रिकी उपनिवेशहरू थिए । बेलायतमा धेरैजसो जनताको दिमाग भाँडिएको छ । उपनिवेशवाद भनेको धनी देशले ‘रैथाने जनताबीच सभ्यता प्रसार गर्नु हो’ भन्ने कुरा बेलायती जनताको दिमागमा भरिँदै छ । प्रमाणहरूले यो कुरा उल्ट्याउँछन् । उपनिवेशवाद भनेको धनी देशहरूले आफ्नो स्वार्थपूर्तिका लागि रैथाने जनताको सम्पदा लुटपाट गर्नु थियो । उपनिवेशहरूबाट नगन्य भाउ र ठूलो मात्रामा बेलायतमा अन्न र अन्य कच्चा पदार्थहरू पु¥याइन्थ्यो । यसको लागि स्थानीय जनताविरुद्ध अकल्पनीय हिंसा गरिन्थ्यो । मारकाट, यातना र बलात्कार व्यापक थियो ।
औपनिवेशिक शासनमा केही देशले रेलमार्ग पाए । तर, यी रेलमार्गहरू प्राकृतिक सम्पदालाई समुद्री बन्दरगाहसम्म लग्न र सैनिकहरूलाई छिट्टै भित्रसम्म पु¥याउन सजिलो होस् भनी बिछ्याइएको थियो । केही अफ्रिकी जनताले शिक्षा पाए र केहीले सरकारी जागिर पाए । तर, बेलायती शासकहरूको तर्फबाट उपनिवेशवादी व्यवस्थाको प्रशासन प्रभावकारीरूपमा चलाउन केहीलाई त्यो सुविधा दिइएको थियो । सुडानको बेलायती गभर्नरले एकचोटि भनेका थिए, “हामी शिक्षालाई रैथाने प्रशासक र मुखियाहरूका छोराहरूबीच सीमित पार्न सक्षम भएका छौँ ।” सन् १९६१ मा तान्जानिया स्वतन्त्र भयो । त्यसबेला त्यहाँ ६ जनामध्ये १ जनाले मात्र अक्षर चिन्थ्यो । तान्जानियाभरि जम्मा २ जना इन्जिनियर र १२ जना डाक्टर थिए । स्वतन्त्रता पाएको तीन दशकको विकासपछि तान्जानियामा सबैजसो जनताले अक्षर चिने र अहिले त्यहाँ राज्यले हजारौँ डाक्टर, इन्जिनियर र शिक्षकहरू तयार गरिसकेको छ । अफ्रिकाका सबैजसो देशहरूलाई तिनका युरोपेली औपनिवेशिक शासकहरूले यसरी नै अल्पविकसित राखेका थिए ।
नवउपनिवेशवाद : स्वतन्त्रताको मिथक
दोस्रो विश्वयुद्धपछि युरोपेली देशहरूले आफ्ना उपनिवेशहरू राखिरहन नसक्ने देखियो । बेलायत र फ्रान्सले सजिलै आफ्नो उपनिवेश छोडेनन् । स्वतन्त्रताका लागि अफ्रिकी जनताले धेरै रगत बगाउनुप¥यो । विन्स्टन चर्चिललाई सफल युद्धनेता मानिन्छ । तर, उनी ‘निर्दयी साम्राज्यवादी’ थिए । उपनिवेशहरूलाई अलिअलि गर्दै स्वतन्त्रता दिइयो । ती स्वतन्त्रता बेलायत, फ्रान्स र अन्य औपनिवेशिक शक्तिहरूलाई स्वीकार हुने सर्तमा दिइएको थियो । खासमा ‘स्वतन्त्रता’ शब्द ती शक्तिहरूलाई चोख्याउने प्रचारबाजीमात्र थियो । सन् १९४७ को एक सरकारी प्रतिवेदनअनुसार बेलायत सरकारलाई ‘औपचारिक साम्राज्यबाट अनौपचारिक साम्राज्यमा फेर्नुपर्छ’ भनी लेखिएको थियो । उपनिवेशवाद व्यवहारमा टुङ्गिएको छैन । आफ्ना पूर्व उपनिवेशहरूका नयाँ ‘स्वतन्त्र’ सरकारहरूले युरोपेली कम्पनीहरूलाई त्यहाँका खनिज र अन्य सम्पदाहरूमाथिको नियन्त्रण चालु राख्न दिऊन् भनेर धनी देशहरूले सबै उपाय लगाए । बेलायती परराष्ट्र मन्त्रालयको एउटा दस्तावेजमा लेखियो, “बेलायतले आफूले छोडेका प्रमुख अनुबन्धनहरू आफ्ना साथीहरूले पाउनुपर्ने कुरा सुनिश्चित गर्नुपर्छ ।”
यी अफ्रिकी देशका राजनीतिक व्यवस्था फेरिए । तर, केही देशको हकमा आर्थिक व्यवस्था उही रहे । स्वतन्त्रतापछि पनि केही देशहरूले खनिज वा अन्न उपलब्ध गराउने आफ्नो औपनिवेशिक भूमिका छोडेनन् । यो स्थिति आज पनि जारी छ । केन्यामा अझै पनि ठूलो मात्रामा नाफादायी खानी क्षेत्रहरू छन्, मौजा प्रथा जीवित छ । सन् १९५० को दशकमा बेलायती शासकहरूले शोषणको विरोध गर्ने लाखौँ केन्यावासीहरूलाई मारे, यातना दिए र कैदी बनाए । सन् १९६३ मा केन्या ‘स्वतन्त्र’ भयो । स्वतन्त्रता दिनुअघि भूमिको पुनः वितरण गरियो । यसरी त्यहाँ अल्पसङ्ख्यक जमिनदार वर्ग र बहुसङ्ख्यक भूमिहीन जनता पैदा गरियो । जमिनदारहरू नयाँ शासक वर्गको रूपमा प्रभावकारी रहे । तिनले आफ्नो देशका गरिब जनताको प्रतिनिधित्व गर्दैनन् । तिनले विदेशी धनाढ्य र आफूलाई लाभ हुने नीतिहरू अपनाउँदै आएका छन् ।
केही अफ्रिकी नेताहरूले औपनिवेशिक शक्तिहरूलाई लाभ दिने यी तामझाम बुझे । उनीहरू आफ्नो देशका सम्पदाहरूलाई स्वदेशी जनताको लाभका लागि प्रयोग गर्न चाहेका थिए । तिनले देशका तेल, युरोनियम र अन्य खनिजहरूका सम्झौताहरू फेर्न खोजे । त्यसो गर्दा धनी देशहरूको आड पाएका नयाँ नेताहरूले तिनलाई सत्ताच्युत गरे । धनी देशहरूले भ्रष्ट नेताहरूलाई मोहरा बनाएर अफ्रिकी सम्पदाको लुटपाट जारी राखेका छन् । यो बन्दोबस्त नै अफ्रिकी देशका धेरै समस्याहरूको मूल कारण हो । सन् १९६० देखि २००३ सम्म १०७ जना अफ्रिकी नेताहरूलाई असमयमै फेरियो । तीमध्ये दुईतिहाइलाई मारियो, जेल हालियो वा निर्वासनमा पठाइयो । सन् १९७९ सम्ममा ५९ अफ्रिकी नेताहरू सत्ताच्युत भए वा मारिए । तीमध्ये तीनजनाले मात्र शान्तिपूर्वक अवकास लिएका थिए । कोही पनि निर्वाचनबाट हटेका थिएनन् । सन् १९८२ सम्ममा कुनै पनि अफ्रिकी शासक निर्वाचनमा हारेनन् । यी अधिकांश समस्याहरूमा धनी देशहरू पर्दापछाडि सक्रिय थिए ।
युगान्डा गतिलो उदाहरण हो । सन् १९६१ मा युगान्डाले स्वतन्त्रता पायो । त्यहाँका नेता मिल्टन ओबोटेको छवि दोहोरो थियो । तैपनि, सुरुका केही वर्ष उनले आफ्ना जनताको हित गर्ने नीतिहरू लिए । देशका निर्धनतम् जनताको हितमा केही गर्न खोजे । बेलायती परराष्ट्र मन्त्रालयका अधिकारीहरूले ती नीतिहरू बेलायती कम्पनीहरूको भन्दा पनि युगान्डावासीहरूको हितमा भएको चाल पाए । बेलायत सरकारले ती नीतिहरूमा आपत्ति जनायो । युगान्डाको पाइला पछ्याउँदै अन्य अफ्रिकी देशले पनि त्यस्तै नीतिहरू अपनाउनेछन् भन्ने चिन्ताले बेलायतलाई सतायो । (जस्तो, युगान्डाको बाटो लिँदै सुडानले धेरै विदेशी व्यवसायहरूलाई राष्ट्रियकरण गरेको थियो ।) इदी अमिन युगान्डाको सेनाका सिपाही थिए । एउटा हिंस्रक सैन्य विद्रोहपछि उनले सत्ता हातमा लिए । उनी नरसंहारक हुन् भन्ने थाहा पाएर पनि बेलायतले उनलाई हतियारहरू आपूर्ति ग¥यो । उनको सरकारले बेलायती स्वार्थहरू रक्षा गर्ने देखेर उसले त्यसो गरेको थियो । इदी अमिनको शासनकालमा ३ लाख जनता मारिएको अनुमान छ । उनका अत्याचार अन्य देशहरूले पनि थाहा पाएपछि र उनीसँगको आफ्नो सम्बन्ध घाँडो भएपछि मात्र बेलायतले उनलाई सघाउन छोडेको थियो । केही वर्षपछि ओबोटे पुनः सत्तामा आए । तर, उनी युगान्डाका अन्य नेताभन्दा फरक देखिएनन् ।
फ्रान्सले अझै पनि अफ्रिकालाई शोषण गर्छ
यी समस्याहरू फ्रान्सेली उपनिवेशहरूमा पनि देखियो । (सन् २००५ सम्म) यादेमा नासिङबेले झन्डै ४० वर्ष पश्चिम अफ्रिकी उपनिवेश टोगोमा शासन गरे । तर, पश्चिमा पत्रकारिता जगतमा उनको नाम बिरलै लिइएको छ । उनीबारे धेरैले सुनेका छैनन् किनभने उनले फ्रान्सेली धनाढ्यहरूलाई स्वीकार हुने नीति अपनाए । त्यसैले धनी देशका नेताहरूले बिरलै उनको आलोचना गरे । अर्को फ्रान्सेली उपनिवेश आत्री कोस्टको झन्डै आधा जग्गाजमिन फ्रान्सेली कम्पनीहरूको हातमा छ । तिनले अझै पनि त्यहाँको पानी, विद्युत्, बन्दरगाह, रेलमार्ग, सुर्ती, रबर, निर्माण व्यवसाय, सार्वजनिक सेवा, टेलिकम, बैङ्क र बीमा व्यवस्थामा नियन्त्रण गरेका छन् ।
अहिले अफ्रिकामा संरा अमेरिकाको दबदबा छ
दोस्रो विश्वयुद्धपछि संरा अमेरिका शक्तिशाली बन्यो । त्यसयता अफ्रिकामा ऊ प्रमुख खेलाडी बन्दै गयो । सन् १९६० मा सीआईए र बेल्जियम सरकारले कङ्गोका नेता प्याट्रिस लुमुम्बालाई सत्ताच्युत गर्न र हत्या गर्न सघाए । उनको ठाउँमा तानाशाह मोबुटुलाई ल्याए । (लुमुम्बाको हत्यामा बेलायतको पनि हात हुनसक्ने खुफिया मामिलाका विज्ञहरूको अनुमान छ ।) मोबुटुले सन् १९९७ सम्म सत्ता सम्हाले । त्यतिञ्जेल उनले ४ अर्ब डलर बराबरको सम्पत्ति लुटिसकेका थिए । उनी हत्यारा र स्वेच्छाचारी थिए । राजनीतिक विपक्षीहरूलाई उनले यातना दिएर मार्ने गर्थे । अमेरिकाले उनलाई ठूलो मात्रामा हातहतियार आपूर्ति ग¥यो । ती हतियार उनले जनता दबाउन प्रयोग गर्थे । त्यसयता अमेरिकाले आसपासका देशहरूमा समेत अत्याचारी र दमनकारी शासकहरूलाई सघाएर सो भेगमा शोषण गर्दै आएको छ ।
रुवान्डा र युगान्डा मध्य अफ्रिकामा अमेरिकी नियन्त्रणका शक्तिपीठ बनेका छन् । सो भेगमा खनिज शोषण गर्न ती देशले अमेरिकालाई सघाउँछन् । सन् १९९० को दशकमा मूलधारे मिडियाले ‘रुवान्डाको जातीय सफाया’ बारे खुब कुराकानी गरे । त्यस सफायामा परेर लाखौँ जनताले ज्यान गुमाएका थिए । तर मिडियाले हिंसा दुवै पक्षबाट भएको बताउन सकेनन् । एउटा पक्षलाई अमेरिका र बेलायतले सघाएका थिए र अर्को पक्षलाई फ्रान्सले सघाएको थियो । मध्य अफ्रिकामा अहिले अमेरिकासमर्थित नेताहरूको दबदबा छ । केही भूभागमा फ्रान्सेली भाषालाई अङ्ग्रेजीले विस्थापित गर्दै छ । हिंसा धेरै वर्षअघि सुरु भएको थियो र अहिले पनि चालु छ । बलात्कार, हत्या, बालबालिका बेचबिखन र यौनदासता सामान्य हुन् । धेरैजसो मृत्युहरू अकाल, कुपोषण र रोगव्याधीले गर्दा हुन्छ । लडाइँमा संलग्न धेरै समूहहरूलाई संरा अमेरिकाले हतियार उपलब्ध गराएको छ । यस भेगमा हतियार निर्यात गर्ने अर्को कीर्तिमान बेलायतको छ ।
अन्तर्राष्ट्रिय मुद्राकोषको नियन्त्रण
केही अफ्रिकी देशहरू मनैदेखि आफ्ना गरिब जनताको सेवा गर्न चाहने नेताहरूले चलाएका छन् । तर, तिनीहरू मुद्राकोष र विश्व व्यापार सङ्गठनजस्ता अन्तर्राष्ट्रिय निकायको चंगुलमा छन् । अफ्रिकामा मुद्राकोषका नीतिहरूको विश्लेषण गर्दा निस्केको एउटा निष्कर्ष टीठलाग्दो छ । अफ्रिकाका ३४ देशमध्ये ३१ देशमा मुद्राकोषका नीतिहरू असफल भएका छन् । दशकौँसम्म मुद्राकोषका नीतिहरू अपनाए तापनि लाखौँलाख अफ्रिकी जनता कुपोषण र रोगव्याधीले मरिरहेकै छन् । नाइजेरियाजस्ता केही देश कुनै बेला आफ्नै प्रगतिको भरमा मध्यम आय भएका देशमा उक्लेका थिए । त्यसबेला मुद्राकोष त्यहाँ पसिसकेको थिएन । तर, अहिले ती देशहरू विश्वका निर्धनतम् देशको सूचीमा छन् । ७० प्रतिशत जनता गरिबीमा पिल्सिरहेका छन् । विदेशी कम्पनीहरूले अकुत नाफा लिन्छन् किनभने रैथाने जनताको शोषणमा तिनलाई रोक्ने कोही छैन । रैथाने जनताको अधिकार नगन्य छ । स्वास्थ्य सेवाको निजीकरण र अफ्रिकाका आधारभूत स्रोतसाधनमाथि बहुराष्ट्रिय कम्पनीहरूको नियन्त्रण निमुखा जनताको लागि महाविपत्तिसमान छ ।
विद्यमान अर्थव्यवस्थाले कसरी केही देशलाई गरिब नै राख्ने बन्दोबस्त मिलाउँछ भनी थाहा पाउन जाम्बिया गजबको उदाहरण हो । स्वतन्त्रता पाएपछि जाम्बियाले प्रगति गर्दै थियो । सन् १९७० को दशकको आरम्भतिर ऊ अफ्रिकाकै धनी देशहरूको पङ्क्तिमा चढ्यो । स्वास्थ्य र शिक्षामा सरकारी लगानीजस्ता केही बुद्धिमत्तापूर्ण नीतिहरूले उसलाई त्यो शिखरमा पु¥याएका थिए । उसले ठूलो मात्रामा तामा निर्यात गथ्र्यो । आयको स्रोत नै तामा थियो भन्दा हुन्छ । यस्तैमा चिलीमा तामाको छेलोखेलो उत्पादन हुन थाल्यो र मूल्य ह्वात्तै घट्यो । सोही समयमा आयातीत तेलको भाउले आकाश छोयो । अन्य देशका सङ्गठनहरूले तेल र तामाको मूल्यमा चलखेल गरे । यसमा जाम्बिया सरकारले केही गर्न सक्दैनथ्यो । सकसमा परेपछि उसले मुद्राकोषबाट ऋण लियो । बदलामा मुद्राकोषले विभिन्न सर्तहरू थोप¥यो । त्यसयता जाम्बिया अत्यन्त गरिब रहँदै आएको छ ।
चीन नि ?
मूलधारे मिडियाले चीनले अफ्रिकामा गरेको शोषणबारे अनेकानेक कथाहरू दोहो¥याउँदै आएका छन् । तर, अफ्रिकामा चीनको बन्दोबस्ती अमेरिका र पूर्व युरोपेली औपनिवेशिक शक्तिहरूको शोषणकारी बन्दोबस्तीको दाँजोमा नगण्य रहँदै आएको छ ।
स्रोतः ग्लोबल टाइम्स
अनुवाद : सम्यक)
Leave a Reply