स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र हाल ख्वप अस्पतालमा रुपान्तरण भइसकेको छ । यो अस्पतालले दिनको ६÷७ सय बिरामीहरूको स्वास्थ्य परीक्षण गरिरहेको छ । भक्तपुरका बिरामी भक्तपुरमै स्वास्थ्य परीक्षण गराउनुपर्ने ढङ्गले जिल्लाका अस्पतालले काम गर्नुपर्ने कुरा पनि आइरहेको छ । ख्वप अस्पतालले भिडिओ एक्सरेको निम्ति दिउँसो ३ बजे टोकन दिने गरेको छ । एक्सरेका प्राविधिक र डाक्टर ४ बजेमात्र आउने भएकोले ३ बजेदेखि दिने गरिएको हो । तर, बिरामीहरू १२ बजेदेखि नै लाइनमा बस्ने गरेका छन् । समयमै एक्सरे लिन अगाडि नै लाइनमा बस्नु स्वाभाविक हो । अरु अस्पतालमा पनि बिरामीहरू लाइनमै बस्छन् । अस्पतालको लाइनलाई लिएर सामाजिक सञ्जालमा गलत सन्देशसहित पोस्ट गर्नु राम्रो होइन ।
अस्पतालले इमरजेन्सीमार्फत पनि सेवा गरिरहेको छ । कहिलेकाहीँ इमरजेन्सीमै दर्जनौँ बिरामीको सेवा गरिएको हुन्छ । रगत र दिसा–पिसाब जाँच्ने ठाउँमा बिरामीको सङ्ख्याको आधारमा प्राविधिक कर्मचारीको अभाव भएको बिरामीहरूको गुनासोमात्र होइन, यथार्थ हो ।
हिजो–आज स्त्रीरोग हेर्ने चिकित्सकलाई डेङ्गु रोग लागेको कारण सेवामा अहिले कम भएको हो । तैपनि स्त्रीरोग हेर्न छोडिएको छैन । दिनको ३० जना बिरामी हेर्ने ठाउँमा अहिले जनरल फिजिसियनले २० जनासम्म हेर्ने गरेको सुनिन्छ ।
अस्पतालबारे जनताले टिप्पणी गर्नु या गुनासो गर्नु स्वाभाविक हो । सेवाग्राहीहरूको गुनासो सम्बन्धित व्यक्तिले सुन्ने र समाधान गर्ने प्रयास गर्नुपर्छ । सर्वर डाउनको कारण स्वास्थ्य बीमासहित आउनेलाई समयमै सेवा दिन नसक्नु अर्को समस्या देखिएको छ । यसको दोष अस्पताल या जिम्मेवार व्यक्तिलाई दिएर त समस्या समाधान हुने होइन । यसले लामो समयसम्म सेवा दिन सकेन भने अर्को उपाय खोज्नुपर्छ ।
अस्पतालसित सम्बन्धित सबै व्यक्तिहरू समयमा आउनुपर्छ । चिकित्सक/नर्सहरू समयमा नपुग्दा सबै बिरामीको स्वास्थ्य परीक्षण गर्न पाउँदैन या काममा ढिलाइ हुन्छ । के चिकित्सकहरू समयमा उपस्थित हुँदैनन् ? यसतर्फ प्रशासन प्रमुखको ध्यान जाओस् । यसमा पुराना हाकिम भएको नाताले अनुभवी डाक्टरले पनि जवाफ दिनुपर्छ ।
औषधि वितरण गर्ने ठाउँमा समयमा औषधि नपाउने अर्को जनगुनासो छ । कहिलेकाहीँ औषधि वितरकहरू औषधि सिधेको बताउँछन् र बिरामीहरू निरास भएर फर्कन्छन् । यथार्थ के हो ? सम्बन्धित व्यक्तिले पुष्टि गर्नुपर्छ ।
त्यसो त औषधि सिधेको विषयमा गुनासो गर्दा टेन्डर गर्नुपर्ने भएकोले समयमै नआएको जवाफ नपाएको होइन । यसबारे समयमै पहल गरेर प्राप्त औषधि समयमै वितरण गर्नुपर्ने माग बिरामीहरूको हो ।
Leave a Reply