भर्खरै :

भृकुटी र नेपाल–चीन सम्बन्ध

नेपाल–चीन सम्बन्धमा भृकुटीको महत्वपूर्ण योगदान रहेको पाइन्छ । यसै प्रसङ्गमा नेपालकी राजकुमारी चीनको स्वशासित प्रदेश तिब्बतकी ऐतिहासिक महारानी भृकुटीलाई स्मरण गर्ने क्रममा भृकुटी (भेल्सा÷ल्हाच्हिग ठ्रित्सुन): एक अध्ययन नामक एक अनुसन्धानमूलक प्रतिवेदन पुस्तक प्रकाशित भएको छ । सो पुस्तक २०७८ माघ २९, शनिबार प्रकाशित भई २०७८ फागुन १४ गते बाग्मती प्रदेश (प्रदेश नं. ३) काभ्रेपलाञ्चोक जिल्लाको कुर्पासी (खोपासी) स्थित राजा अंशुवर्माको तत्कालीन निवास (राजा अंशुवर्माको शेषपछि राजा उदयदेवले भोगचलन गरेको हुनसक्ने अनुमान गरिएको) परिसरबाट विमोचन गरिएको छ ।
यो पुस्तकमा लेखिएका विषयवस्तु र तथ्य तथ्याङ्कहरूले भृकुटी कनेक्सनको माध्यमद्वारा आजको नेपाल–चीन (तिब्बत) सम्बन्धको क्षेत्रमा ऐतिहासिक महारानी भृकुटीको महत्वपूर्ण योगदान र भूमिकालाई स्मरण गराउने प्रयत्न गरिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रा.डा. नरविक्रम थापा, खोपासीका स्थानीय बुद्धिजीवी एवम् लब्धप्रतिष्ठित विश्व उलक लगायतका व्यक्तित्वहरूबाट सो पुस्तकको विमोचन कार्यक्रम सम्पन्न गरिएको छ । पुस्तकमा भृकुटी जन्मिनुभएको भनिएको स्थान बाग्मती प्रदेशस्थित कुर्पासी, विवाह प्रक्रियामा उहाँलाई अन्माइएको भनिएको स्थान पनि कुर्पासी, त्यसपछि भृकुटीले साँखुको बज्रयोगिनी मन्दिरमा बाँकी विवाह रीति विधि, पूजापाठ गर्नुभएको स्थानको रूपमा मानिंदै आएको पाइन्छ ।
भृकुटीलाई साँखुबाट रसुवाको गोसाइँकुण्ड, ठूलो स्याप्रु हुँदै रसुवागढीकै बाटो भएर केरुङको ग्येफु गाउँमा रहेको गुरूफु अर्थात् बिदाइ गुफाबाट अन्तिम सैनिक सलामीसहित बिदाइ गरी तत्कालीन नेपाली सैनिकलगायतका अन्य नेपाली प्रतिनिधिमण्डलहरू काठमाडौँ फिर्ता आउनुभएको भनिएका तथ्य तथ्याङ्कहरूलाई प्रस्तुत गरिएको छ । साथै भृकुटीलाई लिन ल्हासाबाट केरुङ आएको तिब्बती प्रतिनिधिमण्डल तथा सैनिकहरूको साथ लागेर भृकुटी ल्हासातर्फ सवार हुनुभएको ‘कुर्पासी साँखु रसुवागढी केरुङ कनेक्सनका तथ्य तथ्याङ्कहरूलाई पहिलोपटक यो पुस्तकले उजागर गर्ने प्रयत्न गरेको छ । यसरी भृकुटीसम्बन्धी सो रुटको अध्ययन अनुसन्धानबाहेक पनि कतिपय स्रोतहरूले भृकुटी सवार अर्को रूट कुर्पासी–साँखु बाह«बिसे–कुती कनेक्सनका तथ्य तथ्याङ्कहरूमाथि पनि जोड दिइएको पाइएकोले त्यस सम्बन्धमा पनि छुट्टै खोज, अनुसन्धान हुन आवश्यक देखिएको छ । त्यसको लागि भविष्यमा गर्नसक्ने आधिकारिक अध्ययन अनुसन्धानले कुती रूटतर्फको सम्भावनालाई पनि नकारिएको छैन । त्यसकारण, यो अध्ययनमार्फत कुली रूटतर्फको विषयवस्तुलाई यस प्रतिवेदन पुस्तकमा समेटिएको छैन । तापनि, भविष्यमा हुने आधिकारिक अध्ययन अनुसन्धानबाट अन्यथा प्रमाणित नभएसम्म यो पुस्तकमा लेखिएका विषयवस्तुहरू एक शैक्षणिक बहस र सन्दर्भका रूपमा प्रस्तुत गरिएका छन् । यद्यपि, खोपासी, साँखु, गोसाइँकुण्ड, रसुवागढी, केरुङ र साँखु, बाह्रबिसे, तातोपानी, चीनको न्यालम कुतीको पदचित्र (रोडम्याप) अङ्ग्रेजी अक्षरको ढल्किएको सानो ‘वाइ’ आकारको जस्तो देखिन आउँछ । साथै तिब्बती भाषामा लेखिएको मणि काबुम भोलुम नं. क को पृष्ठ एक्स १५“ देखि एक्स २१ सम्मका पेज नम्बरहरूमा लेखिएका विषयवस्तुहरूलाई मूल आधार मानेर तयार पारिएको यो प्रतिवेदनमूलक पुस्तकले भृकुटीको बारेमा पहिलो पटक खोजमूलक एवम् नवीनतम तथ्य तथ्याङ्कहरूलाई देहायबमोजिम प्रस्तुत गरेको छ ।
भृकुटी सन्दर्भ : एक परिचय
काभ्रेको कुर्पासीमा सन् ६२४ ताका जन्मिएका भनिएका भृकुटी नेपालको राजनीतिक र सांस्कृतिक इतिहासमा एक अमर नारीको रूपमा स्थापित हुनुभएको पाइन्छ । भृकुटीलाई चिनियाँ (तिब्बती भाषामा ‘भेल्सा ठ्रित्सुन’, ‘ल्हाच्हिग ठ्रित्सुन’, ‘ठ्रिचुङ’ आदि नामले सम्बोधन गरेको पाइन्छ । भृकुटीको जन्मस्थल खोपासीबाट उहाँलाई अन्माएर साँखु हुँदै केरुङ लगी ल्हासा सवार गराइएको कतिपय ऐतिहासिक स्रोतहरू तथा स्थानीय बुद्धिजीवीहरूको दाबी छ । त्यसैगरी, भृकुटीलाई कतिपय स्थानीय भाषाअनुसार सम्बोधन गर्ने स्थानीय चलन चल्तीका फरक फरक नामहरू पनि पाइएका छन् । बलराम कायस्थद्वारा लिखित ‘अंशुवर्मा श्री सामन्तदेखि महाराजाधिराजसम्म (सन्दर्भ प्राचीन नेपालको इतिहास)’ मा यस्तो पाइन्छ ।
अंशुवर्माको जन्म सन् ५५० को आसपासमा भएको र उनको पहिलो प्रमाणिक अभिलेख पाटन भीमसेन स्थानको सन् ५८४ को अभिलेखलाई आधार मान्दा नेपालको राजकाजमा पदार्पण गरेको समयमा उनको उमेर लगभग ४४ वर्ष रहेको अनुमान गरेको पाइन्छ (कायस्थ, बलराम । २०७७ पृष्ठ ३१। अंशुवर्मा श्री सामन्तदेखि महाराजाधिराजसम्म (सन्दर्भ प्राचीन नेपालको इतिहास) । काठमाडौँ पल्लव पब्लिकेशन प्रा.लि.) ।
तिब्बती मन्त्री थोनमी साम्भोटा नेतृत्वको एउटा शिष्टमण्डल सन् ५८४ ताका केरुङको बाटो भएर नेपालको तत्कालीन राजधानी सहर युपग्राम (वर्तमान पाटन) आइपुग्नुभएको स्थानीय चिनियाँ (तिब्बती), नेपाली स्रोतहरूबाट बुझिन्छ । यो समयमा विभिन्न धार्मिक दूतहरू, बौद्ध भिक्षुहरू ल्हासाबाट प्राचीन पदमार्ग भएर केरुङ हुँदै नेपालको रसुवागढी, गोसाईँकुण्ड, साँखु, युपग्रामद्रङ्गमा आएर बस्ने, त्यहाँबाट भारत जाने र सोही पदमार्ग भएर ल्हासा फिर्ता हुने अभियान चलेको पाइन्छ । किनकि, तिब्बतको आधिकारिक टेक्स्ट मणि काबुम भोलुम क’ मा पनि भृकुटीलाई केरुङ भएर ल्हासा लगिएको विवरण रहेको तिब्बती अनुवादकको ठहर छ । तर, ती सबैले भृकुटी तिब्बती राजा (व) स्रोङ (व) त्सन (स) गम पोको श्रीमती र देवीको रूपमा अथ्याई त्यसमा उहाँहरूको मतैक्य रहेको पाइएको छ भने प्रायः अधिकांशले नेपालका राजा उदय (प्रकाश) देवकी छोरी सन् ६२४ ताका जन्मिनुभएकी भनिएकी भृकुटी विगत लामो समयदेखि अंशुवर्माकी छोरीको रूपमा परिचित रहेको पनि उल्लेख भएको पाइन्छ । यद्यपि, कतिपय ऐतिहासिक स्रोतहरूले भृकुटी उदयदेवकी छोरी रहेको पनि अनुमान गरिएको छ । यसमा धेरैको सहमत रहेको पाइन्छ । तर, हालसम्म भृकुटी अंशुवर्मा वा उदयदेवकी छोरी हुन् भन्ने प्रमाणहरू फेला नपरे पनि नेपाली ऐतिहासिक स्रोतहरू, मणि काबुमलगायतका तिब्बती स्रोतहरू, तत्कालीन राजनीतिक घटनाक्रमका चरहरू (अंशुवर्माको देहान्त सन् ६२१ ताका भएको भनिएको तर भृकुटीको जन्म सन् ६२४ ताका खोपासीमा भएको सङ्केत पाइएको, राजा उदयदेवले खोपासीबाट नै भृकुटीलाई अन्माएर तिब्बत पठाउनुभएको स्थानीय इतिहासविद् तथा संस्कृतिविद्हरूको दाबी, भृकुटीको विवाहपश्चात् : उदयदेव र नरेन्द्रदेव तिब्बतमा जानुभएको घटनाक्रम, उदयदेवको रेखदेख भृकुटी र (व) स्रोङ (व) त्सन गम पोबाट भएको र अन्ततः उदयदेवको देहान्त तिब्बतमा भएको घटनाक्रम, नरेन्द्रदेवलाई बहिनी भृकुटी र उहाँका पति राजा (व) स्रोङ (व) त्सनको सहयोगमा नेपालको राजगद्दीमा आसीन गराउन खेल्नुभएको भूमिका, नरेन्द्रदेवले पनि तिब्बती नारीसँग नै विवाह गर्नुभएको घटनाक्रम आदिका कारण) अवलोकन गर्दा भृकुटी उदयदेवकै छोरी हुनसक्ने बलियो सङ्केत मिलेको पाइन्छ । यस सन्दर्भमा अंशुवर्माको अभिलेखलाई उद्धृत गर्दै कतिपय स्रोतहरूले जनाएअनुसार अंशुवर्माले १६ वर्षसम्म ‘डिफ्याक्टो रूलर’ को रूपमा शासन गरिरहेको समय (सन् ६२१) ताका उहाँको देहान्त भएको दाबी गरेका छन् । यी तथ्यहरूलाई आधार मान्ने हो भने अंशुवर्माको देहान्त भएको ३ वर्षपछि भृकुटीको जन्म भएको देखिन्छ, अनि कसरी भृकुटी अंशुवर्माकी छोरी हुनसक्छिन् ? प्रश्न उठ्न सक्छ । उदयदेव र भृकुटीको बारेमा इतिहासकार एवम् अनुसन्धानकर्ता श्रीरामप्रसाद उपाध्याय लेख्नुहुन्छ :
“केही विद्वानहरूले भृकुटी उदयदेवकी छोरी थिइन् भन्ने विचार व्यक्त गरेका छन् । यस कुरामा धेरैको सहमति रहेको देखिन्छ । यसै नाताले गर्दा आफ्ना भाइ ध्रुवदेवबाट पदच्युत गरिएपछि उदयदेव सोझैँ तिब्बतमा शरण लिन पुगेका थिए (उपाध्याय, श्रीरामप्रसाद । २०७८ : पृ. ८०। नेपालको प्राचीन र मध्यकालीन इतिहास’ । काठमाडौँ रत्न पुस्तक भण्डार ।) ।
तत्कालीन समयमा अंशुवर्माका उत्तराधिकारी बन्न लायक आफ्नै सहोदर छोरा नै थिएनन् भन्ने ऐतिहासिक परिवेश पनि छ । त्यो समयसम्म अंशुवर्माका अन्य पुरुष सन्तानहरू पनि जीवित नहुँदा अंशुवर्माले आफ्नो राज्यकालको अन्तिम समयतिर अर्थात् सन् ६१३ देखि मात्र युवराज उदयदेवलाई अंशुवर्माको दूतक (उत्तराधिकारी) बनाउनुभएको अर्को तथ्य पनि प्रकाश छ (आचार्य, बाबुराम २०६३ : १२४ । प्राचीनकालको नेपाल । काठमाडौँ : श्रीकृष्ण आचार्य ।) ।
नेपाल दरबारको राजकाजमा अप्ठेरो पर्दा उदयदेव कुर्पासीस्थित अंशुवर्माकै निवासमा गएर बस्नुभएको बुझिएको छ । यहाँ पुनः प्रश्न उठ्छ भृकुटी कसकी छोरी थिइन् ? भन्ने सन्दर्भमा एक अर्को स्रोतले यसरी उल्लेख गरेको छः ‘भृकुटी अशुवर्माकी छोरी नभई उदयदेवकी छोरी भएको धेरै प्रमाणबाट पुष्टिएको छ (पेतेक, लुच्यानो (सम्पादन) । २०६० ख । ‘तिब्बत र नेपालमा इटालियन धर्मप्रचारकहरू’ । काठमाडौँ : नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान ।) ।
त्यसमाथि अर्को स्रोतले गोचाको नेपाली रूपान्तर सूर्य वा चम्किलो हुने हुँदा भृकुटी अंशुवर्माकी छोरी नभएर उदयदेवकी छोरी भएको बताएको छ (बस्न्यात, पी. एस. १६ डिसेम्बर २०१९ रसुवागढी । । एचटीटीपीः//डब्लुडब्लुडब्लु डट युट्युव डट कम/वाच ? भी=89eGT9B46CO’ । । समाजको आवाज टिभी । ।) ।
… … … अंशुवर्माका अहिलेसम्म धेरै अभिलेखहरू पाइएका छन्, तर कुनै पनि अभिलेखमा भृकुटीको उल्लेख पाइँदैन जबकि ती अभिलेखहरूमा अंशुवर्माकी बहिनी भोगादेवी, ज्वाइँ सुरसेन, भानिज भोगवर्माको उल्लेख पाइन्छ । तर भृकुटीको उल्लेख पाइँदैन । … …. …. चिनियाँ ताङ वृत्तान्त र तिब्बती स्रोतअनुसार स्रङचङ गम्पोको भृकुटीसँगको विवाह ई.सं. ६३५ मा भएको थियो, जबकि अंशुवर्माको मृत्यु ई.सं. ६२२ मा नै भइसकेको थियो (ऐजन : ८५) ।
तिब्बती वंशावली र चिनियाँ ताङ वृत्तान्तमा मात्र नेपाली राजकुमारीको प्रसङ्ग पाइन्छ । त्यसमा ती राजकुमारीलाई गोचाङकी छोरी भनिएको छ । गोचाङको नेपाली रूपान्तरण सूर्य वा चम्किलो वस्तु हुने हुँदा भृकुटी अंशुवर्माकी छोरी होइनन् भनेर किटानसाथ भन्न सकिन्छ । गोचाङ नाउँले उदयलाई अथ्र्याउन सक्ने आधार इतिहासका ज्ञाता धनवज्र बज्राचार्य, जगदीशचन्द्र रेग्मी, हितनारायण झालगायतका थुप्रै इतिहासकारहरूले दिएका छन् । … … … यसरी नरेन्द्रदेवले नेपालका विद्रोहीहरूविरूद्ध विद्रोह चलाउँदा भृकुटीले दाजु नरेन्द्रदेवलाई निकै ठूलो मद्दत पुयाएकी थिइन् । यसर्थ, आउँदा दिनहरूमा यस सम्बन्धमा उपलब्ध हुने नयाँ तथ्यगत र भरपर्दो स्रोत सामग्रीले अन्यथा प्रमाणित नगरेसम्म भुकुटी नरेन्द्रदेवकी बहिनी र उदयदेवकी छोरी थिइन् भन्ने कुरामा दुईमत हुनसक्दैन (कायस्थ, बलराम । २०७७ : पृ. ८७ । ‘अंशुवर्मा श्री सामन्तदेखि महाराजाधिराजसम्म (सन्दर्भ प्राचीन नेपालको इतिहास)’ । काठमाडौँ पल्लव पब्लिकेशन प्रा.लि.) ।
… … … यसप्रकार भृकुटीकै देनले गर्दा नेपालको तिब्बत र चीनसँग मैत्रीपूर्ण सम्बन्ध विस्तार हुनसक्यो । षड्यन्त्रकारी गुप्त भारदारहरूको कुचक्रमा परी सत्ताच्युत उदयदेवले आफ्नो सपरिवार तिब्बत शरण लिएको, भृकुटीले आफ्नै खुबीले बौद्ध धर्मसँग सम्बन्धित मूर्ति ग्रन्थ एवं कलाको माध्यमबाट स्रङचङ गम्पोलाई बौद्धधर्म ग्रहण गर्न लगाएको र तिब्बती सैनिक सहयोगद्वारा भृकुटीका दाजु नरेन्द्रदेवले पुस्तैनी राज्य फिर्ता लिएको, पछिका प्रसङ्गमा आउने विविध कुराहरूबाट उदयदेवले नै आफ्नी छोरी भृकुटीको विवाह राजीखुसीपूर्वक तिब्बती सम्राट स्रङचङ गम्पोसँग गराएको पुष्टि हुन्छ, न कि अंशुवर्माले (ऐजन : ८८) ।
यसरी अर्को एउटा प्रसङ्गमा एक स्रोतले यसो भन्छ : ‘जगदिशचन्द्र रेग्मीका अनुसार गोचा’ शब्दको पर्यायवाची रूप प्रभावर्मन, ज्योतिवर्मन अर्थात् नेपाली रूपान्तरण सूर्य वा चम्किलो रहेको अर्थमा प्रभा, ज्योति, सूर्य र उदय नामवाचक शब्दले उदयदेवलाई अथ्र्याएको हुँदा भृकुटी उदयदेवको छोरी रहेको अभिमत पाइन्छ (‘एचटीटीपीः//डब्लुडब्लुडब्लु युट्युब डट कम/वाच ? भी=4ExASE6HUTU’ । । सन् २०१९ जून १० ।। न्युज फटाफट ।। ) ।
यसरी भृकुटी उदयदेवकी छोरी, नरेन्द्रदेवकी बहिनी हुनसक्ने प्रवल सम्भावना प्राप्त तथ्य तथ्याङ्कहरूबाट देखिन आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *