भर्खरै :

सार्वभौमिकता जोगाउने आन्दोलनमा सहकारी संस्थाहरूको सहभागिता अपरिहार्य

सार्वभौमिकता जोगाउने आन्दोलनमा सहकारी संस्थाहरूको सहभागिता अपरिहार्य

भक्तपुर, ८ असोज । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य अनुराधा थापामगरको प्रमुख आतिथ्यमा समाज सुधार बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
सभामा केन्द्रीय सदस्य थापामगरले पुँजीवादी व्यवस्था ठग, भ्रष्टाचारीहरू जन्माउने व्यवस्था भएकोले सहकारी संस्थाहरूले आर्थिक गतिविधिलाई मात्र प्राथमिकता राख्दा सर्वसाधारण जनता ठगीमा परिरहेको बताउनुभयो ।
उहाँले समाजलाई समुन्नत वा समृद्ध बनाउन एक–दुई वटा राम्रा सहकारीको भूमिकामात्र पर्याप्त नहुने चर्चा गर्दै राजनीतिक बन्दोबस्त परिवर्तनकै लागि सहकारी संस्थाहरूले योगदान पु¥याउनुपर्ने औँल्याउनुभयो ।
अतिथि थापामगरले देशको सार्वभौमिकता जोगाउने आन्दोलनमा सहकारी संस्थाहरूको सहभागिता अपरिहार्य भएको उल्लेख गर्दै भन्नुभयो, “एमसीसी, एसपीपी, देशघाती नागरिकता विधेयकजस्ता देशघाती सन्धि–सम्झौताविरुद्ध गतिविधि गर्ने सहकारी संस्थाहरू देशभक्त र यसको समर्थन गर्ने संस्थाहरू देशघाती भनी छुट्टिनेछन् ।”
विदेशी हस्तक्षेप स्वीकार्दा र नागरिकता वितरणलाई खुकुलो बनाउँदा देश फिजी र सिक्किमको अवस्थामा पुग्नसक्ने चर्चा गर्दै उहाँले विदेशी महिलालाई एक हातले सिन्दुर र अर्को हातले नागरिकता दिँदा आउँदा दिनमा शीतलनिवास, बालुवाटार र सिँहदरबार भारतीय र अमेरिकी शासक वर्गको कब्जामा जाने प्रस्ट पार्नुभयो ।
देश एक–दुई वटा देशभक्त राजनीतिक दलको आन्दोलन र सङ्घर्षले मात्र जोगिन नसक्ने बताउँदै अतिथि थापामगरले भन्नुभयो, “देशघाती पार्टीहरूलाई सजाय दिने अवसर चुनाव पनि हो, शासक पार्टीहरूको देशघातबारे सहकारीका सदस्यहरूलाई बेला–बेलामा बताएर सचेत गराइरहनुपर्छ ।”
कार्यक्रममा संस्थाका सल्लाहकार श्याम बिसुङ्खेले सरकारहरूले देशलाई परनिर्भर बनाउँदै लगेको चर्चा गर्दै खाद्यान्न, फलफुल, तरकारीमा आत्मनिर्भर बनाउन सहकारी संस्थाहरूले विभिन्न तालिम र अनुदानको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सहकारीहरू ऋण दिने र ब्याज उठाउने गतिविधिमै सीमित हुँदा बढी ब्याजको लोभ देखाई सहकारी माफियाहरूले सर्वसाधारण जनताको बचत ठगिरहेको चर्चा गर्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि राजन जतिले सर्वसाधारणले थोरै थोरै बचत गरेर पाएको ब्याजमा समेत कर लगाउने कार्य न्यायोचित नभएको बताउनुभयो ।
संस्थाका अध्यक्ष महेन्द्र बखुन्छेँको सभापतित्वमा सम्पन्न सभामा सूर्यविनायक नगरपालिका सहकारी शाखाका प्रतिनिधि कल्पना श्रेष्ठले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा संस्थाका रामगोपाल भुजु, रामकृष्ण बखुन्छेँ, सीताराम खिउँजू र श्यामकृष्ण धुख्वाले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि थापामगरले असल बचतकर्ता, असल ऋणी र एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *