भर्खरै :

निर्वाचनमा भाग नलिने तटस्थ सरकार गठन हुनुपर्ने

निर्वाचनमा भाग नलिने तटस्थ सरकार गठन हुनुपर्ने

काठमाडौँ, ९ असोज । प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलहरूको सर्वदलीय बैठक आयोगको सभा कक्षमा आइतबार बस्यो ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको लागि राजपत्रमा प्रकाशित आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा राजनीतिक दलको प्रतिबद्धतामा हस्ताक्षर गरिएको थियो ।
प्रतिबद्धतामा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण र राजनीतिक दलका प्रतिनिधिहरूले हस्ताक्षर गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले निर्वाचन आयोगले आचारसंहिता राजपत्रमा प्रकाशित भएको दिनदेखि नै लागू गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले आचारसंहिता प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न निर्वाचनमा भाग नलिने तटस्थ व्यक्तिहरूको सरकार निर्वाचन मिति घोषणालगत्तै गठन गर्नुपर्नेमा जोड दिनुभयो ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आचारसंहिता पढ्नै नपाएको भन्दै मन्त्री, प्रधानमन्त्रीले अरू क्षेत्रमा चुनाव प्रचार गर्न नहुने प्रावधान संशोधन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, सङ्घीय लोकतान्त्रिक पार्टीका प्रतिनिधिहरूले पनि प्रधानमन्त्री, मन्त्री, अन्य क्षेत्रमा प्रचारमा जान पाउनुपर्ने र सत्ताको दुरूपयोग भएमा कारबाही स्वीकार्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलबीच पटक–पटक छलफल गरी आचारसंहिता बनेको भन्दै ०७४ सालको संहिताभन्दा अलि फरक ढुङ्गले मात्र संशोधन गरेको हो भन्नुभयो ।
उहाँले एकतिहाइ महिला प्रतिनिधि उम्मेदवार बनाउन कानुनले निर्दिष्ट गरेको भन्दै कसैले एकतिहाई (३३ प्रतिशत) महिला नउठाएमा दर्ता नरोकिने तर दलको लैङ्गिक समावेशिता इमानदार बन्न आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *