भर्खरै :

दसैँ बिदाको सदुपयोग गरौँ

भक्तपुर, ९ असोज । नविन आधारभूत विद्यालयको आयोजनामा विजया दशमी २०७९ को अवसरमा असोज ६, ७ र ८ गते भएको खेलकुद प्रतियोगिता र स्वास्थ्य परीक्षण कार्यक्रमको पुरस्कार तथा प्रशंसापत्र वितरण तथा शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम आइतबार विद्यालय प्राङ्गणमा सम्पन्न भयो । कार्यक्रमको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले शिक्षक र विद्यार्थीहरूले दसैँ बिदाको सदुपयोग गरी रचनात्मक गतिविधिमा सामेल हुन सुझाव दिनुभयो ।
राम्रो अध्ययन गर्ने विद्यार्थीहरूको भविष्य पनि राम्रो हुने र सबै क्षेत्रमा अगाडि बढ्न मद्दत पु¥याउने बताउँदै उहाँले विद्यार्थीहरूले अरूको लहैलहैमा भन्दा आफ्नो रुचिअनुसारको विषयमा अध्ययन गर्नु उचित हुने बताउनुभयो ।
विद्यार्थीहरूलाई विद्यालयमा हुने प्रतियोगिताहरूमा भाग लिन उत्साहित गरिरहनुपर्ने बताउँदै यस किसिमको प्रतियोगिताले प्रतिस्पर्धा र मेहनतको भावना विकास हुने उहाँले बताउनुभयो ।
भक्तपुर नपाबाट सञ्चालित ख्वप कलेजलाई हालै कानुन विषयअन्तर्गत बीएएलएलबीको अध्ययनको लागि स्वीकृति प्राप्त भइसकेको र छिट्टै भर्ना प्रक्रिया अगाडि बढ्ने अवगत गराउँदै उहाँले कानुन विषय सबै क्षेत्रको लागि महत्वपूर्ण विषय भएको हुँदा धेरैजना यसबाट लाभान्वित हुने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका पूर्व प्रअ विश्वराम कवांले विद्यालयमा हाल विभिन्न जिल्लाका विद्यालयहरू अध्ययनरत रहेको हुँदा ‘ख्वपको पहिचान’ गहनताका साथ अध्ययन–अध्यापन गराउन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् विद्यालयका प्रअ प्रकाश गोसाईले विद्यालयका गतिविधिहरूबारे अवगत गराउँदै विद्यालयले विद्यार्थीको मानसिक, शारीरिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।
कार्यक्रममा आदर्श आजाद माविका प्रअ श्रीकृष्ण किसी, शिक्षक करुणा सुवाल, शिक्षक नारायणप्रसाद मचामसीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
सोही क्रममा नगर प्रमुख प्रजापति र अन्य अतिथिहरूले खेलकुद प्रतियोगिता र स्वास्थ्य परीक्षण कार्यक्रमका विजेताहरूलाई पुरस्कार र प्रशंसापत्र वितरण गर्नुभएको थियो भने विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *