भर्खरै :

क्युवामा नयाँ परिवार संहिता जारी

काठमाडौं, ११ असोज । क्युवामा आइतबार सम्पन्न जनमतसङ्ग्रहको नतिजा नयाँ परिवार संहिताको पक्षमा रहेको घोषणा भएसँगै जारी भएको छ । क्युवाको स्थानीय समयअनुसार सोमबार साँझ क्युवाली राष्ट्रिय निर्वाचन परिषद्ले परिणाम घोषणा गरेको केही समयपछि नै क्युवाली जनसत्ताको राष्ट्रिय सभाका अध्यक्ष इस्तेवान लाजो हर्नान्डेजले प्रस्तावित संहिता प्रमाणीकरण गरी जारी गर्नका लागि क्युवाली राष्ट्रपतिसमक्ष पेश गर्नुभएको थियो । क्युवाली राष्ट्रपति मिग्वेल डियाज कानेल बर्मुडेजले हस्ताक्षर गरी शिल्ड (छाप) लगाएसँगै उक्त संहिता तत्कालैदेखि लागू हुने गरी जारी भएको छ ।
क्रान्ति दरबारमा आयोजित एक सङ्क्षिप्त समारोहमा क्युवाली जनसत्ताको राष्ट्रिय सभाका अध्यक्ष इस्तेवान लाजो हर्नान्डेज र क्युवाली राष्ट्रपति मिग्वेल डियाज कानेल बर्मुडेजले नयाँ परिवार संहितामा हस्ताक्षर गरी नयाँ इतिहास रच्नुभएको हो ।
जनमतसङ्ग्रहमा ६६.८७ प्रतिशत मतदाताले नयाँ संहिताको पक्षमा र ३३.१३ प्रतिशत मतदाताले प्रस्तावको विपक्षमा मतदान गरेका हुन् । कूल ८४ लाख ४७ हजार ४६७ मतदाता दर्ता भएकोमा ६२ लाख ५१ हजार ७८६ मतदाताले मतदान गरेका थिए । कूल खसको मतको ६ प्रतिशत मत बदर हुँदा ५८ लाख ९२ हजार ७०५ मत मात्र सदर भएको थियो । नयाँ संहिताको पक्ष वा विपक्ष कुनै एकमा निर्णय गर्न नसक्दा कतिपय मतदाताले दुवै पक्षमा मत सङ्केत गरेका थिए भने कतिपयले मत सङ्केत नै नगरी बाकसमा खसालेका थिए ।
नयाँ संहिताले परिवारको परिभाषामा केही परिवतन गर्नेछ । बालबालिका, लैङ्गिक अल्पसङ्ख्यक र समुदायको निम्ति अनुकूल परिभाषा हुनेछ । नयाँ संहिताले समलैङ्गिक विवाह, एकल आमा, भाडाको कोखबाट बाबुआमा बनेकाहरू र समलैङ्गिक दम्पतिहरूले धर्मपुत्र धर्मपुत्री पालेका सन्तानहरूको अधिकारसमेत सुनिश्चित गरेको छ । क्युवाको नयाँ परिवार संहिताले १९७५ देखि लागू रहेको परिवार संहितालाई व्यापक विस्तार र अझ न्यायपूर्ण बनाएको छ । परिवारको नयाँ परिभाषालाई मान्यता प्रदान गर्दै प्रस्तावित नयाँ परिवार संहिताको दफा ८१ मा भनिएको छ – राज्यले सबै परिवारहरूलाई मान्यता प्रदान र संरक्षण गर्नेछ, चाहे ती परिवार कुनै पनि विधिबाट सङ्गठित भएको होस् । परिवारलाई समाजको एक आधारभूत एकाइको रूपमा लिइनेछ र समग्रमा तिनीहरूको सही उद्देश्य पूर्तिलाई सुनिश्चित गर्ने अवस्था निर्माण गरिनेछ ।
नयाँ परिवार संहिता जारी भएपछि अधिकार प्राप्त भएका समुदायका साथै क्युवाली जनताले देशभरि नै खुसीयाली मनाइरहेका छन् ।
क्युवाको आवधिक निर्वाचन र संविधान तथा संहितामाथिको जनमतसङ्ग्रहले समाजवादी व्यवस्था जनमतअनुसार चल्ने सबैभन्दा राम्रो प्रजातन्त्र हो भनी सिद्ध गरेको छ ।
–ग्रान्मा÷टेलिसुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *