भर्खरै :

सीएनएन, न्युयोर्क टाइम्स र वाशिङ्टन पोस्ट बद्मास हुन्–ट्रम्प

संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज बिहान फिनिक्स शहरमा आयोजित एक सभाबीच निकै आक्रामक भाषण गरेका छन् । उनले आफ्नो भाषणमा संरा अमेरिकी मूलधारका मिडियाको खेदो खन्नुसम्म खनेका छन् । उनले नामै किटेर सिएनएन, न्युयोर्क टाइम्स र वाशिङ्टन पोस्टलगायतका मिडियाहरूको धुवाँधार विरोध गरेका थिए । आफूलाई मिडियाले जातिवादी भनेकोमा कडा आपत्ति जनाउँदै उनले आफूले गएको शनिबार यता विभिन्न कार्यक्रममा बोलेका भाषणका लिखित प्रति नै बोकेर आएर केही अंश वाचन गरेका थिए ।
उनले ती अमेरिकी मिडियाहरूलाई बदमास भनेका थिए । बोल्दै गर्दा उनले आफ्नो अघि रहेका मिडियाका क्यामराका प्रकाश बन्द भएकोप्रति लक्षित गर्दै भनेका थिए,‘हेर्नोस् तिनीका प्रकाश बन्द हुँदैछन् ।’ उनले पटक पटक सीएनएनको खुलेर विरोध गरेका थिए । तर उनले सामाजिक सञ्जाल ट्वीटरको भने प्रशंसा गरेका थिए । उनले सामाजिक सञ्जाल ट्वीटरकै कारण आफ्नो आधिकारिक धारणा भन्ने मौका पाइरहेको बताएका थिए ।
‘ती मिडियाहरु ‘स्रोतका अनुसार’ भनी लेख्छन् तर खासमा त्यस्तो कुनै स्रोत हुने गर्दैन ।’, ट्रम्पले अमेरिकी मिडियाको खिल्ली उडाए ।
राष्ट्रपति ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामाले ल्याएको ओबामाकेयर नीति असफल भएको बताएका थिए । आफूलाई ओबामाकेयर कार्यक्रम असफल बनाउन सिनेटमा आठ मतको कमी भएको र आज अमेरिकी सिनेट डिमोक्रेट पार्टीको आठ मतको कैदी बनिरहेका बताएका थिए ।
उनले आप्रवासी नियमन गर्ने प्रस्तावलाई समर्थन गरेर अमेरिकी जनताले आफूलाई राष्ट्रपति बनाएका कारण जुन कुनै हालतमा आफूले आप्रवासीलाई नियन्त्रण गर्ने धारणा राखेका थिए । उनले आप्रवासीकै कारण लागु औषध तस्करी, हिंसा, अपराध आदि समस्या बढेको र अमेरिकाका विद्यालय र स्वास्थ्य केन्द्रमा भीड बढेको बताएका थिए ।
सीमा क्षेत्रमा पर्खाल कुनै न कुनै रुपमा लगाएरै छोड्ने ट्रम्पको भनाई थियो । उनले लामो समय आफू अमेरिकालाई प्राथमिकता दिने आफ्नो नीतिको व्याख्या गर्नमा खर्चेका थिए । ‘हामीले धेरै वर्ष अरुका सिमाना जोगाउन लड्यौ अब आफ्नै सिमाना जोगाउन लड्ने समय आएको छ ।’,ट्रम्पको भनाई थियो ।
राष्ट्रपतिले भित्र भाषण गर्दै गर्दा बाहिर भने हजारौं जनताले उनी विरुद्ध प्रदर्शन गरिरहेका थिए । उनीहरुमा प्रहरीले अश्रुँग्यास प्रहार गरेर दमन गरेका थिए ।
अमेरिकी राष्ट्रपति पदमा बसेर ट्रम्पले गरेको यस्तो भाषणले अमेरिकी जनताबीच थप विभाजन आउने त्यहाँका सञ्चारकर्मीले टिप्पणी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *