भर्खरै :

‘मजदुर’ दैनिक दसैँमा पनि प्रकाशित हुने

‘मजदुर’ दैनिक दसैँमा पनि प्रकाशित हुने

भक्तपुर, १७ असोज । देश र जनतामा समर्पित विचारप्रधान ‘मजदुर’ दैनिक वर्षभरि नै प्रकाशित हुने पत्रिका हो । यो पत्रिका दसैँ र तिहारमा पनि रोकिँदैन । ‘मजदुर’ दैनिकको यो विशेषता नै हो । यस पत्रिकामा धूमपान, लागूऔषध या मद्यपानको विज्ञापन छापिँदैन । अश्लील दृश्य या अर्धनग्न फोटो र त्यस्तोखाने समाचार पनि यस पत्रिकामा छापिँदैन । समाजमा व्याप्त अन्धविश्वास, कुरीतिलाई समयको गतिसँगै हटाउँदै जानुपर्ने मान्यता यस पत्रिकाको रहेको छ । देश विदेशका शोषित पीडित जनताको पक्षमा कलम चलाउने यो पत्रिका अन्तर्राष्ट्रवादी पत्रिका हो ।
आदर्शाेन्मुख समाज स्थापना गर्न र शोषणरहित समाज स्थापनाका निम्ति यो पत्रिकाले भूमिका निर्वाह गरिरहेको छ । यसले भ्रष्टाचार, अनियमितता र कमिसनको विरोध गरिरहेको छ । कुनै पनि देशको थिचोमिचो, अतिक्रमण, आक्रमण र दबाबको यो पत्रिका विरोध गर्दछ । यो पत्रिका निजीकरणको विरोध गर्छ । प्रतिक्रियावादी, सामन्त, पुँजीपति र प्रपञ्चकारीहरूले बहुमत जनताको सेवा गर्दैनन् भन्ने मान्यता यस पत्रिकाको छ । कुनै पनि सरकारको शोषण, दमन, अन्याय, अत्याचारको विरोध गर्छ । यस पत्रिकाले कहिले पनि सङ्कीर्ण, साम्प्रदायिक भावनाको समर्थन गर्दैन, विदेशी हस्तक्षेप स्वीकार गर्दैन, अवसरवाद र संशोधनवादको समर्थन गर्दैन । जनताको जीवन सुनिश्चित गराउन या काममामको व्यवस्था गराउन यसले सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । देशमा सन्तुलित विकास भएमात्र जनताले रोजगारीको अवसर पाउनेछन् । राजधानीकेन्द्रित या सहरकेन्द्रित विकासले समग्र देश विकास हुनेछैन । देशका शासकहरू देश र जनताप्रति जिम्मेवार हुनुपर्छ । देशमा बहुमत जनताको हितमा काम गर्ने सरकारको खाँचो छ । यस्तो काम पुँजीपति वर्गको सरकारले गर्दैन । अतः देशमा समाजवादी व्यवस्था चाहिन्छ ।
अन्य पत्रिकाहरू तिहार र दसैँको केही दिन बन्द हुन्छ । तर, ‘मजदुर’ दैनिक बन्द हुँदैन । दसैँको समयमा पनि पत्रिका छाप्ने भएकोले उद्योगी, व्यापारी, सहकारी, स्कूल, कलेज विभिन्न सङ्घसंस्थाबाट विज्ञापन पठाउन ‘मजदुर’ दैनिक आग्रह गर्दछ । दसैँको पावन अवसरमा सम्पूर्ण न्यायप्रेमी तथा देशभक्त जनतामा सुख, शान्ति र समृद्धिको कामना छ । पत्रिका नियमित सञ्चालनमा टेवा पु¥याउने लेखक, आलोचक, ग्राहक, पाठक, विज्ञापनदाता, पत्रिका वितरक, सञ्चारकर्मी, बुद्धिजीवी, लेखक, शुभचिन्तक तथा सहयोगी महानुभावहरूमा ‘मजदुर’ दैनिक हार्दिक आभार प्रकट गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *