उद्देश्य प्राप्तिको लागि निरन्तर विद्यार्थीहरूले मेहनत जरुरी
- जेष्ठ १, २०८३
कम्युनिस्टहरू क्रान्तिकारी हुन्छन् या आमूल परिवर्तन गर्न चाहन्छन् । आमूल परिवर्तन गर्न क्रान्तिकारी पार्टी नभई हुँदैन । क्रान्तिकारी पार्टीभित्र क्रान्तिकारीहरू हुनुपर्छ । ती क्रान्तिकारीहरू वर्गसङ्घर्षको निम्ति तयार हुन्छन् या वर्गसङ्घर्षको पूर्वाधार तयार गर्न जनतामाझ भिज्छन् या पुग्छन् र राजनीतिक चेतना दिन्छन् । क्रान्तिको बाटो लामो र कस्टप्रद हुन्छ । कुनै नेता हतारिँदैमा या चाहँदैमा क्रान्ति हुने होइन । क्रान्तिको बीचमा अनेकन सङ्कट र अग्नि परीक्षा पार गर्नुपर्ने हुन्छ । त्यस्ता परीक्षा पार गर्दै क्रान्ति अघि बढ्छ । तर, क्रान्ति गर्न देश र देश बाहिरको परिस्थिति अनुकूल हुनुपर्छ ।
दल क्रान्तिकारी भएरमात्र पुग्दैन । दल क्रान्तिकारी भए पनि सिद्धान्तको ख्याल गर्दैन या सिद्धान्तप्रति इमानदार भएन या सिद्धान्तलाई व्यवहारमा लाने प्रयास भएन भने क्रान्ति अघि बढ्दैन या क्रान्तिका लागि आधारभूत बाटो तयार हुँदैन । क्रान्तिकारीहरू सिद्धान्त र विचारमा अडिग भएनन् भने काम अधुरो, अपुरोमात्र होइन आन्दोलन बलिदानमा टुङ्गिन्छ । तिनीहरू अवसरवादी बन्छन् र क्रान्तिकारी बाटो छोड्छन् या अर्कै बाटोमा लाग्छन् । वर्गसङ्घर्षको सिद्धान्तमा अडिग नरहनु भनेको कम्युनिस्टहरू अर्कै या पुँजीवादी बाटोमा लाग्नु हो । यसकारण, कम्युनिस्टहरू सिद्धान्त र विचारमा अडिग हुनुपर्छ ।
परिवर्तनको निम्ति जनतालाई परिचालन गर्नुपर्छ । जनतालाई परिचालन गर्न जनताको भावना बुझ्नुपर्छ, जनताको भावना बुझेर अघि बढ्नुपर्छ । व्यापक जनताको माझमा गई तिनीहरूसँगै काम गर्नुपर्छ । तिनीहरूसँगै दुःख सुख बाँडेर जनताको भावना बुझ्नुपर्छ । अनिमात्रै जनताको विश्वास जित्न सकिन्छ । जनताको आस्था र विश्वासविना पार्टी चल्दैन । सिद्धान्त र विचारमा आस्था र विश्वास भएका नेता तथा कार्यकर्ताहरू जस्तोसुकै सङ्कट, पीडा या समस्या आइपरे पनि निरास हुँदैनन्, हतोत्साही हुँदैनन् न त शत्रुसामु आत्मसमर्पण नै गर्छन् । जुन नेता तथा कार्यकर्ताहरूमा सिद्धान्त र विचारप्रति आस्था हुँदैन, तिनीहरू क्रान्तिकारी हुँदैनन् । यसकारण, हरेक राजनीतिक दलका नेताहरूमा स्पष्ट दृष्टिकोण र दृढ आस्था हुनुपर्छ । क्रान्तिकारी आस्था र विश्वास कसैको मिठो भाषण र आकर्षक नाराले होइन, व्यवहारले हुन्छ । सिद्धान्त र विचारप्रति आस्था र विश्वास भए परिवर्तन गर्न सहयोग पुग्छ या परिवर्तनको ढोका चाँडै खुल्छ ।
सरकारमा रहेका कुनै पनि ‘कम्युनिस्ट’ हरू आमूल परिवर्तनको पक्षमा छैनन् । आमूल परिवर्तन गर्न चाहँदैनन् । अहिले सरकारविरुद्ध कुनै आन्दोलन गर्न नपर्ने बताउने, वर्गसङ्घर्षको बाटोमा लाग्ने कुनै पनि दल कम्युनिस्ट होइन भनी फुक्ने नेताहरू कसरी सच्चा कम्युनिस्ट हुन्छन् ? उनीहरूको अन्तिम उद्देश्य नै यो सरकारमा रहेर शासन चलाउने रहेको छ । पुँजीवादी बन्दोबस्तको सरकारले नै समाजवाद ल्याउने उनीहरूको धारणा रहेको छ । यो कम्युनिस्ट भनिने सत्तासीन दलका नेताहरूको पछिल्लो खोटपूर्ण विचार हो ।
Leave a Reply