भर्खरै :

ब्राजिलको निर्वाचन परिणाममा लुला अगाडि

ब्राजिलको निर्वाचन परिणाममा लुला अगाडि

ब्रासिलिया, ३ अक्टोबर (टेलिसुर) । दक्षिण अमेरिकी देश ब्राजिलमा आइतबार भएको राष्ट्रपति निर्वाचनको पहिलो चरणको परिणाममा वामपन्थी उम्मेदवार तथा ब्राजिल मजदुर पार्टीका नेता लुइज इनासियो ललुला दा सिल्भा अगाडि रहेका छन् । निर्वाचनको ९९.७४ प्रतिशत मतगणना सकिसक्दा लुलाले ४८.३६ प्रतिशत तथा वर्तमान अति दक्षिणपन्थी राष्ट्रपति जायर बोल्सोनारोले ४३.६५ प्रतिशत मत प्राप्त गरेका छन् ।
ब्राजिलको संवैधानिक प्रावधानअनुसार पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेकोले राष्ट्रपति निर्वाचन दोस्रो चरणमा गएको छ । दोस्रो चरणको निर्वाचन यही अक्टोबर ३० का दिन हुने ब्राजिलको सर्वोच्च निर्वाचन परिषदले जनाएको छ ।
पहिलो चरणको निर्वाचन परिणामलाई ब्राजिलका वामपन्थीहरूले लुलाको पक्षमा स्पष्ट बहुमत भएको बताउँदै अति वामपन्थी उम्मेदवारहरूले प्राप्त गरेको मत जोड्दा दोस्रो चरणको मतदानपछि ब्राजिलमा वामपन्थी सरकार बन्ने निश्चित भएको बताएका छन् ।
दोस्रो चरणको मतदान आफ्नो पक्षमा हुने विश्वास व्यक्त गर्दै ब्राजिलका पूर्वराष्ट्रपति तथा वामपन्थी उम्मेदवार लुलाले भन्नुभयो, निर्वाचन अभियानभर र मत सर्वेक्षणहरूमा सधैँ नै हामी अगाडि रहँदै आएका छौँ तर पहिलो चरणको मतदानको परिणाम हाम्रो आशाअनुसार भएन तर दोस्रो चरणको निर्वाचनमा हाम्रो जीत निश्चित छ । सम्पूर्ण मतदाताहरूलाई म ब्राजिलको परिवर्तनका लागि मतदान गर्न आग्रह गर्दछु । दोस्रोचरणको निर्वाचन समयावधि थपिएको मात्र हो ।
त्यस्तै अति दक्षिणपन्थी नेता तथा वर्तमान राष्ट्रपति जायर बोल्सोनारोले मत सर्वेक्षणहरूको नतिजा उल्ट्याउँदै लुलालाई पहिलो चरणमा जित्न नदिएको उल्लेख गर्दै दोस्रो चरणको मत परिणाम आफ्नो पक्षमा हुने दाबी गरेका छन् ।
ब्राजिलको निर्वाचनमा १५ करोड ६० लाख मतदाता रहेका थिए भने उनीहरूले ४ लाख ९६ हजार ८५६ वटा मतदान केन्द्रमा विद्युतीय मेसिनमार्फत मतदान गरेका थिए ।
यसैबीच निर्वाचनपछि गरिएको मत सर्वेक्षण परिणामअनुसार लुलाको पक्षमा ५०.७ प्रतिशत र बोल्सोनारोको पक्षमा ४१ प्रतिशत मत जाहेर गरेको र बाँकी ८ प्रतिशत मतदाताले अझै निर्णय गरिनसकेको बताएको जनाइएको छ । ब्राजिलको यसपटकको निर्वाचन इतिहासकै सबैभन्दा कडा वर्गीय प्रतिस्पर्धाको रूपमा रहेको छ । यसले समग्र दक्षिण अमेरिका र विश्वकै इतिहासमा ठूलो प्रभाव पार्ने मूल्याङ्कन गरिएको छ । ब्राजिलको राष्ट्रपतीय निर्वाचनलाई अमेजन वन जोगाउने र नाश गर्नेहरूबीचको लडाइँको रूपमा हेरिएको छ । लुला र वामपन्थीहरू अमेजन वन तथा वातावरणको संरक्षणको पक्षमा रहँदै आएका छन् भने बोल्सोनारो र दक्षिणपन्थीहरू वनविनाशको पक्षमा रहँदै आएका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *