भर्खरै :

भारतका प्रभावशाली नेता मुलायम सिंह यादवको निधन

लखनउ, २४ असोज (एएनआई) । भारतका प्रभावशाली नेता तथा समाजवादी पार्टीका संस्थापक मुलायम सिंह यादवको सोमबार ८२ बर्षको उमेरमा निधन भएको छ । गुरुग्रामस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
उहाँलाई गत आइतबार एक्कासी स्वास्थ्यमा थप समस्या उत्पन्न भएपछि अस्पताल भर्ना गरिएको थियो । अस्पतालको अति सघन कक्षमा राखेर उहाँलाई उपचार गरिएको थियो ।
उहाँकी श्रीमती साधना गुप्ताको गत जुलाईमा निधन भएको थियो । पहिलो श्रीमती मालतीदेवीको भने सन् २००३ मा निधन भएको थियो । यादवका छोरा तथा समाजवादी पार्टीका वर्तमान अध्यक्ष अखिलेश यादव मालतीदेवीबाट जन्मिनु भएको हो । समाजवादी पार्टीको स्थापना यादवले नै सन् १९९२ अक्टोबर ४ मा गर्नुभएको थियो । झन्डै पाँच दशक लामो राजनीतिक यात्राका क्रममा धेरै उतारचढाव भोग्नु भएका यादवलाई भारतमा प्रधानमन्त्री हुनै लागेका नेताका रूपमा चिनिन्छ । उहाँ सन् १९९६ र २०१४ मा प्रधानमन्त्री हुनै लाग्दा अन्तिममा रोकिनुपरेको थियो । उहाँलाई भारतमा ‘नेताजी’ समेत भन्ने गरिन्थ्यो ।
उहाँले राजनीति धेरैपटक चुनौतीपूर्ण निर्णयहरू लिनुभएको थियो भने बेला बेलामा विवादमा पनि पर्ने गर्नुहुन्थ्यो । भारतको सबैभन्दा धेरै जनसङ्ख्या भएको उत्तर प्रदेशमा उहाँ तीनपटक मुख्यमन्त्री बन्नुभयो भने एक पटक केन्द्रीय रक्षामन्त्री समेत हुनुभएको थियो ।
आम निर्वाचनबाट उहाँ १० पटक निर्वाचित हुनुभएको थियो । तीमध्ये सात पटक लोक सभा सदस्य बन्नुभएको थियो । उहाँ पहिलो पटक सन् १९६७ मा २८ वर्षको उमेरमा विधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँको जन्म सन् १९३९ को नोभेम्बर २२ मा इटाबा जिल्लाको सैफै गाउँमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *