भर्खरै :

सिद्धान्तहीन गठबन्धन पुँजीवादी पार्टीहरूको सरकारको भागबन्डा गर्ने चाँजोपाँजो

सिद्धान्तहीन गठबन्धन पुँजीवादी पार्टीहरूको सरकारको भागबन्डा गर्ने चाँजोपाँजो

काठमाडौँ, २७ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले जनतालाई राजनैतिकरुपले शिक्षित गर्न देशको समस्याबारे पार्टी र जनताबीच जानकारी आदानप्रदान गर्न निर्वाचनको क्रान्तिकारी उपयोग गर्ने स्पष्ट गर्नुभयो ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पार्टीका उम्मेदवारहरूको भेलामा अध्यक्ष बिजुक्छेँले कालाबजारिया, तस्कर र भ्रष्टाचार कम्पनीहरूले पुँजीवादी पार्टीहरूलाई पैसा र सामान सहयोग गर्ने र जितेपछि ती पार्टीका सरकारहरूले सामानको मूल्य बढाउने उल्लेख गर्नुभयो ।
“सिद्धान्तहीन गठबन्धन पुँजीवादी पार्टीको आपसी झगडा र सरकार भागबन्डा गर्ने चाँजोपाजो मात्र हो । शासक दलहरू सबै प्रकारका प्रतिक्रियावादी र सामन्तवादी दलहरू हुन् । गाँसेगँुसे एकैनास हुन् ।” अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले अगाडि भन्नुभयो, “साम्राज्यवादको पृष्ठपोषक – एमसीसी सम्झौता, एसपीपी साझेदारी र नागरिकता विधेयकका पक्षधरहरूविरुद्धको साम्राज्यवादले नाटोलाई हतियार बनाई रुसविरुद्ध गरेको अप्रत्यक्ष हमलाको समर्थन गर्नेहरूलाई खण्डन गर्ने मौका पनि निर्वाचन हो ।
पुँजीवादी गणतन्त्रमा उत्पादनका मुख्य मुख्य साधन र सेवा निजीकरण हुने र सर्वसाधारण जनतालाई दुःख हुने उल्लेख गर्दै उहाँले उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण हुने वैज्ञानिक समाजवादमा मात्रै शिक्षा र स्वास्थ्य सेवा सबै सरकारले बन्दोबस्त गर्ने, व्यक्तित्व विकास गर्न समान अवसर पाउने, अशक्त ज्येष्ठ नागरिक, टुहुरा टुहरी, अनाथ सबैलाई सरकारले हेर्ने उल्लेख गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले स्पष्टरूपमा राख्नुभयो, पुँजीवादी सरकारको भागबन्डा खानेहरू कम्युनिस्ट होइनन् । निर्वाचनबाट समाजवाद आउँदैनन ।
राज्यविहीन, शोषणविहीन , वर्गविहिन र सबै जनता कामदार वर्ग हुने, शारीरिक र मानसिक (बौद्धिक) श्रम समान हुने व्यवस्था नै समाजवाद हो ।
भेलामा पार्टीका सचिव प्रेम सुवालले उम्मेदवार र कार्यकर्तालाई निर्वाचन आचारसंहिता पालन गर्न आग्रह गर्नुभयो ।
भेलामा पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाई र नारायणबहादुर दुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *