भर्खरै :

चिकपाले कसरी महाधिवेशन प्रतिनिधिहरू निर्वाचित गर्छ ?

चीनको कम्युनिस्ट पार्टी (चिनियाँ कम्युनिस्ट पार्टी– चिकपा) विश्वकै सबैभन्दा ठूलो शासक पार्टी हो । यस पार्टीको बीसौँ राष्ट्रिय महाधिवेशन आउँदो साता अक्टोबर १६ देखि राजधानी पेइचिङमा हुँदै छ । उक्त अत्यन्त महत्वपूर्ण महाधिवेशनले विगत पाँच वर्ष अवधिको पार्टीको कामहरूको समीक्षा गर्नेछ, भविष्यको लागि मार्ग कोर्नेछ र नयाँ केन्द्रीय नेतृत्व पनि चयन गर्नेछ ।
चिकपाको महाधिवेशनमा भाग लिने प्रतिनिधिहरू पेइचिङ आइपुग्ने क्रम सुरु भइसकेको छ । नौ करोड ५० लाख पार्टी सदस्यहरूबीचबाट २ हजार ३ सय प्रतिनिधिहरू निर्वाचित भइसकेका छन् । चिकपाको राष्ट्रिय महाधिवेशनका लागि कसरी प्रतिनिधिहरू निर्वाचित हुन्छन् ? धेरैको जिज्ञासाको विषय रहँदै आएको छ । वास्तवमा पार्टीले यस पटकको महाधिवेशनको लागि प्रतिनिधि निर्वाचित गर्न प्रक्रिया नोभेम्बर २०२१ मै सुरु गरेको थियो ।

प्रतिनिधि गर्ने प्रक्रिया
चिकपाको महाधिवेशनका लागि ३८ वटा निर्वाचक क्षेत्रहरूबाट प्रतिनिधिहरू निर्वाचित हुन्छन् । त्यसमा प्रदेश र स्वशासित क्षेत्र, सेना, प्रहरी, कर्मचारीलगायत केन्द्रीय निकायहरू, केन्द्रीय वित्तीय क्षेत्र र केन्द्र प्रशासित राज्यको स्वामित्वमा रहेका औद्योगिक र व्यापारिक प्रतिष्ठानहरू पर्दछन् । महाधिवेशन प्रतिनिधि चयनको समग्र निर्वाचन प्रक्रियामा पाँच चरण हुन्छन् । पहिलो पार्टी सदस्यहरूबाटै उम्मेदवारहरू मनोनयन, मनोनीतहरूको समीक्षा, जनताको प्रतिक्रियाका लागि उम्मेदवारहरूको नाम सार्वजनिक र दाबी विरोध, उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन र प्रत्येक निर्वाचक एकाइमा पार्टी सदस्यहरूबाट गोप्य मतदान हुन्छ । यसरी निर्वाचित प्रतिनिधिहरूले महाधिवेशनपूर्व पुनः योग्यता समीक्षा समितिको अनुसन्धानको सामना गर्नुपर्छ ।

महाधिवेशन प्रतिनिधि हुन को योग्य हुन्छन् ?
महाधिवेशन प्रतिनिधि पार्टीका उदाहरणीय सदस्यहरू र पार्टीले निर्धारण गरेको योग्यता पुग्नेहरू हुनुपर्छ । राजनीतिक सुझबुझलाई नै पहिलो गुण मानिन्छ । चिकपाले निर्धारण गरेको योग्यताअनुसार प्रतिनिधि उम्मेदवार पार्टीको आदर्श, विश्वास र सिद्धान्तमा कटिबद्ध र उच्च नैतिकता भएको हुनुपर्छ । योग्यता पूरा गरेको उम्मेदवार स्वच्छ छविको र इमानदार पनि हुनुपर्छ । एकचोटि भ्रष्टाचारको दाग लागेका अधिकारी वा पार्टी सदस्यलाई प्रतिनिधिमा मनोनयन गर्न रोक लगाइएको छ । क्विचाउ प्रान्तमा त प्रतिनिधि हुन अयोग्य ठहर भएका, राजनीतिक र सैद्धान्तिक समझदारी नभएका तथा नियम र राजनीतिक अनुशासन तोडेका सदस्यहरूको नकारात्मक नामावली नै सबैतिर सर्कुलर गरिएको थियो ।
भिन्न भिन्न निर्वाचक एकाइहरूमा प्रतिनिधि चयन हुनको लागि भिन्न भिन्न विशेषता आवश्यक हुन्छन् । उदाहरणको लागि तिब्बत स्वशासित क्षेत्रबाट प्रतिनिधि बन्नका लागि समुदायप्रति गहिरो विश्वास र चिनियाँ राष्ट्रप्रति बलियो आस्थाको भावना भएका र पृथकतावादविरुद्ध स्पष्ट अडान भएको हुनुपर्छ । प्रतिनिधिका उम्मेदवारहरूको समग्र व्यवहार, कार्य र योग्यताहरूमा पनि ध्यान दिने गरिन्छ ।

सीटहरू कसरी निर्धारण गरिएका छन् ?
अघि पनि उल्लेख भयो २ हजार ३ सय प्रतिनिधिहरू ३८ वटा निर्वाचक क्षेत्र (एकाइ) हरूबाट निर्वाचित भएर आउने गर्छन् । चिकपाको राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरूको सीट सङ्ख्या मुख्यतया पार्टी सङ्गठनहरूको सङ्ख्या र प्रत्येक निर्वाचक क्षेत्र (एकाइ) हरूमा भएका पार्टी सदस्य सङ्ख्याको आधारमा निर्धारण गरिन्छ । त्यसबाहेक अघिल्लो चिकपा राष्ट्रिय महाधिवेशनमा सहभागीहरूमध्ये यसपटकको सम्मेलनमा प्रतिनिधि निर्वाचित नभएका केहीलाई प्रतिनिधिको रूपमा आमन्त्रण गरिन्छ । त्यस्तै परम्पराको रूपमा अवकाश प्राप्त पार्टी पदाधिकारीहरूलाई पनि महाधिवेशन प्रतिनिधिका रूपमा आमन्त्रण गरिन्छ  । आसन्न बीसौँ महाधिवेशनमा पनि त्यस्तै गरिएको छ ।
व्यापक सदस्यहरूको प्रतिनिधित्वलाई कसरी सुनिश्चित गरिएको छ ?
समग्र महाधिवेशन प्रतिनिधिहरूले चिकपाका ९ करोड ५० लाख सदस्यहरूको र असङ्ख्य सार्थकहरूको प्रतिनिधित्व गर्छन् । कूल प्रतिनिधिहरूमध्ये कम्तीमा एकतिहाइ अग्रमोर्चामा रहेर काम गरिरहेका पार्टी सदस्यहरू हुनैपर्छ । तर, त्यस्ता अधिकारीहरू दुईतिहात्न्दा बढी भने हुनुहुँदैन । किसान, मजदुर, प्राविधिकहरूमध्ये उत्कृष्ट पार्टी सदस्यहरूलाइ पनि प्राथमिकता दिइन्छ । त्यस्तै विभिन्न पेशामा आबद्ध पार्टी सदस्यहरू जस्तोः व्यापारीहरू, वैज्ञानिकहरू, चिकित्सकहरू र प्रान्त तहदेखि महानगर र गाउँपालिकासम्ममा कार्यरत विभिन्न तहका प्रशासकहरूमध्येबाट पनि धेरैलाई प्रतिनिधिमा छनोट गरिन्छ । उदाहरणको लागि चियाङसी प्रान्तको नानचाङको पार्टी नेतृत्वले सबैभन्दा तल्लो तहमा राम्ररी काम गरेर नमुना बनेका १३३ जना रोल मोडलहरूको नाम विकल्पको २ लाख ६० हजार सदस्यहरूको बीचमा सर्कुलर गरेको थियो ।
दक्षिण पश्चिमी युनान प्रान्त दर्जनौँ जाति र भाषाका मानिसहरूको बसोबासस्थल रहेको हुनाले प्रतिनिधिहरूको ठूलो सङ्ख्या ती सबै जातिहरूबाट लिइएको छ ।

स्वच्छ निर्वाचन कसरी सुनिश्चित गरिएको छ ?
कुनै तवरले मतदाताहरूमाथि दबाब बनाउन र मत किनबेचमा कडा प्रतिबन्ध लगाइएको छ । पार्टी अनुशासन विभाग र सङ्गठन विभागले देशव्यापीरूपमा अनुगमनलाई तीव्रता दिएको पाइन्छ । जनताको गुनासो र उजुरी सुन्नका लागि हटलाइन फोन तथा मेलसेवा सञ्चालन गरिएका छन् । व्यापक स्तरको जनचेतना अभियानहरू चलाइएका छन् । केही पार्टी तथा सरकारका अधिकारीहरूले पहिले गरेका भ्रष्टाचार र अनियमितताको आधारमा अहिलेका अधिकारीहरूमाथि निगरानी गरिएका छन् र गलत व्यवहार तथा अधिकारको दुरूपयोग हुनबाट रोकथामको प्रयासलाई कडा पारिएको छ ।
सुरपरीवेक्षक अङ्गलाई ठूलो अधिकार प्रदान गरेर निर्वाचनको सबै प्रक्रियालाई निकै मिहीन सुपरीवेक्षणमा राखिएको छ । पार्टीको नियम, अनुशासन र निर्वाचनको आचारसंहिताको कुनै पनि खालको उल्लङ्घनलाई सहन गरिएको छैन ।
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *