भर्खरै :

‘नालापानी’ हेरूँ कि नहेरूँ ?

‘नालापानी’ नामको एक नेपाली चलचित्रको अहिले बजारमा चर्चा छ । यस चलचित्रको छायाङ्कन को समाचार आउँदा नै एउटा ऐतिहासिक चलचित्र हेर्न पाइने भयो भनी आशा सङ्गालेर बसेको थिएँ । नालापानी युद्ध साम्राज्यवादी बेलायतको क्रूर अमानवीयता र वीरभद्र कुँवरलगायतका नेपालीको वीरताको गाथा भनी पढेको थिएँ । बिना पिउने पानी युद्ध लडिरहेका नेपालीले आत्मसर्पण नगरेको त्यो वर्णनले हाम्रो शीर आज पनि उँचो पार्छ ।
चलचित्रमा त्यो वीरताबारे के कसरी प्रस्तुत गर्यो त्यो कुरा मलाई थाहा छैन । वीरताप्रति चलचित्रका निर्माता–निर्देशकले पक्कै न्याय गरेको होला भने अनुमान र आशा छ । त्यो कुरा थाहा पाउन चलचित्र हेर्नुपर्ने हुन्छ । तर, त्यो चलचित्र हेरूँ कि नहरूँ – दोमन भइरहेको छ । आप्mनो प्रतिक्षित चलचित्र भएर पनि त्यसका एक ‘कलाकार’ को कारण दोमन भएको हो । चलचित्रमा अर्जुनजङ शाही नामका एक पूर्वप्रहरी पनि कलाकार रहेका छन् । अर्जुनजङ शाही २०४५ सालमा पञ्चायती राज्यस्तरबाट नेपाल मजदुर किसान सङ्गठन उन्मूलन गर्न षड्यन्त्र रचिएको भक्तपुर काण्डको बेला भक्तपुरमा इन्स्पेक्टर थिए । त्यसबेला उनले एक प्रहरीको कर्तव्यमात्र निर्वाह गरेको भए उनीप्रति कुनै द्वेष वा त्याज्य हुने थिएन । उनले दिनदहाडै प्रहरी जीपमा दलबलसहित टोलटोलमा पुगेर पेस्टोल देखाउँदै ‘भक्तपुरे ज्यापुहरूलाई तह लगाउने’ भन्दै आतङ्क फैलाएका थिए । भक्तपुरका जनतालाई मानिस नै ठान्न अस्वीकार गर्दै ताण्डव मच्चाएका थिए । भक्तपुरका जनताको अचाक्ली अपमान गर्ने उनै अर्जुनजङ अभिनित चलचित्र हेर्न मनले पटक्कै मानेको छैन । हामीप्रति अन्यायपूर्ण दुर्भावना राख्ने व्यक्ति अभिनित चलचित्र हेर्नु उनले गरेको अन्यायलाई समर्थन गर्नुजस्तै मलाई लाग्यो, तपाईँलाई नि ?
स्मरणीय छ, विगतमा भारतीय चलचित्रका कलाकारहरूले नेपाल र नेपालीको अपमान गरेका थिए र हामीले ती कलाकार अभिनित चलचित्र बहिष्कार गरेका थियौँ ।
भारतीय कलाकारले हाम्रो अपमान गर्दा तिनीहरूको चलचित्र बहिष्कार गर्नु ठीक थियो भने एक नेपाली कलाकारले भक्तपुरका जनताको अपमान गर्नेको चलचित्र किन बहिष्कार नगर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *