भर्खरै :

देशको सार्वभौमिकता कमजोर हुनुमा शासक दलहरू दोषी

देशको सार्वभौमिकता कमजोर हुनुमा शासक दलहरू दोषी

काठमाडौँ, २८ असोज । नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा दिइएका उम्मेदवारहरूको भेला शुक्रबार सम्पन्न भयो ।
भेलामा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले जनतालाई राजनीतिकरूपले सचेत बनाइएपछि मात्र क्रान्ति सफल हुने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “पटकपटक सरकारमा गएका दलहरूले देशको हितमा कुनै काम गरेका छैनन् । कामदार वर्गलाई हेला गर्ने शासक दलहरूलाई जनताले स्वीकार्नु हुँदैन । नेपाल मजदुर किसान पार्टीले सरकारको जनविरोधी कामको विरोध गरेर जनताको आँखा खोल्ने काम गर्दै आएको छ ।”
“देशको सन्तुलित विकास गरिएको भए शिक्षा, स्वास्थ्य र रोजगारीको लागि काठमाडौँमा नेपाली जनता आउनुपर्ने थिएन । निर्वाचनमा पैसा र सामान बाँड्ने, भोज खुवाउने पार्टीहरूको सरकार बनेपछि मूल्य बढ्नेछ ।” अध्यक्ष बिजुक्छेँले स्पष्ट गर्नुभयो ।
पुँजीवादी पार्टीको सरकारले सार्वजनिक सम्पत्तिहरू मुट्ठीभरका व्यक्तिको हितमा निजीकरण गर्ने उल्लेख गर्दै उहाँले नेपाल मजदुर किसान पार्टी उत्पादनका मुख्य मुख्य साधन र सेवा राज्यको स्वामित्वमा हुने वैज्ञानिक समाजवादको पक्षमा रहेको स्पष्ट गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “पुँजीवादी पार्टीहरूको सरकारले रुसविरुद्ध युक्रेन युद्धमा अमेरिकी आक्रमणलाई समर्थन ग¥यो । अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीले नेपाललाई सार्वभौम देशको रूपमा व्यवहार गरेका छैनन् । यसको दोषी सरकारमा गएका पार्टीहरू नै हुन् ।”
पार्टीका सचिव प्रेम सुवालले नेपाल मजदुर किसान पार्टीबाट देशभरि उठेका उम्मेदवारहरूलाई जिताउन सम्पूर्ण कार्यकर्ताहरू लागिपर्नुपर्ने उल्लेख गर्दै शासक दलका नेताहरूबाट उम्मेदवारी मनोनयनकै बेला भएको आचारसंहिता उल्लङ्घनको विरोध गर्नुभयो ।
“नेपाल मजदुर किसान पार्टीले देशघाती एमसीसी सम्झौता, एसपीपी साझेदारी र नागरिकता विधेयकको विपक्षमा मत दिएर देशलाई सिक्किमजस्तै विलय गराउने भारतीय विस्तारवादको विरोध गर्दै आएको छ ।” सचिव सुवालले भन्नुभयो ।
सिद्धान्तहीन गठबन्धन गर्ने पुँजीवादी पार्टीहरूलाई पराजित गर्नुपर्ने उल्लेख गर्दै सचिव सुवालले मनाङ जिल्लामा पुँजीवादी पार्टीहरूका साझा उम्मेदवार प्रदेशसभामा निर्विरोध निर्वाचित गरिएबाट ‘गाँसेगुसे एकैनासे’ नै भएको बताउनुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जन र केन्द्रीय सदस्य राजवीर डंगोलले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *