भर्खरै :

निर्वाचन जनतालाई राजनीतिकरूपमा सचेत पार्ने अभियान

भक्तपुर, २८ असोज । नेपाल मजदुर किसान पार्टीमा आबद्ध चाँगुनारायण नगरपालिका क्षेत्रका कार्यकर्ताहरूको भेला शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईंले पार्टी विकासको निम्ति कार्यकर्ताहरूले पार्टी निर्देशनअनुसार आवश्यकताअनुसार दुर्गम क्षेत्रमा गएर जनताको सेवा गर्न जानुपर्ने बताउनुभयो ।
जनताको सेवामा समर्पित कार्यकर्ताहरूले राजनीतिक र सांस्कृतिक स्तर उच्च बनाउनुपर्नेमा जोड दिँदै उहाँले पार्टी प्रकाशन, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन तथा राजनीतिक नेताहरूको जीवन अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपाले नेपालको राजनीतिक आन्दोलनलाई दिशानिर्देश गरिरहेको स्पष्ट पार्दै केन्द्रीय सदस्य गोसाईले भन्नुभयो, “नेमकिपाको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र माओ विचारधारा हो । नेमकिपाले निर्वाचनलाई लेनिनवादी सिद्धान्तअनुसार उपयोग गरिरहेको छ । पार्टीले निर्वाचनलाई जनतालाई राजनीतिकरूपमा सचेत पार्ने अभियानको रूपमा उपयोग गरिरहेको छ ।”
नेमकिपाले स्थापनाकालदेखि भारतीय विस्तारवाद, एकाधिकारी पुँजी तथा अमेरिकी साम्राज्यादविरूद्ध सङ्घर्ष गर्दै समाजवादी आन्दोलनलाई टेवा पुग्ने गतिविधि गरिरहेको उहाँले बताउनुभयो ।
बहुसङ्ख्यक कामदार जनतालाई राजनीतिकरूपमा सचेत पार्नु अहिलेको आवश्यकता हो भन्दै केन्द्रीय सदस्य गोसाईले निर्वाचनबाट आमूल परिवर्तन नहुने भएकोले समाजवादी आन्दोलन अगाडि बढाउन आवश्यक पूर्वाधार तयार गर्ने दायित्व कार्यकर्ताको रहेको स्पष्ट पार्नुभयो ।
“एमसीसी, नागरिकता विधेयकका पक्षधरहरू देशद्रोही भएकोले नेमकिपाले संसद् र सडकबाट विरोध गर्नुका साथै जनतालाई सचेत पार्न देशका प्रमुख सहरहरूमा पार्टीले कार्यक्रम गरी देशप्रतिको सच्चा कर्तव्य पूरा गरेको छ”, उहाँले भन्नुभयो ।
कार्यक्रमका सभापति एवं नेमकिपा चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजूले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवार तथा राजनीतिक पार्टीहरूलाई कारबाही नगरेसम्म निर्वाचन स्वच्छ र निष्पक्ष नहुने धारणा राख्दै उहाँले भन्नुभयो, “पुँजीवादी निर्वाचन स्वच्छ र निष्पक्ष नहुने भएकोले ठूला भनिने राजनीतिक पार्टीका उम्मेदवारहरूले धाँधली गरी निर्वाचन जित्ने दाउ खोजिरहेका हुन्छन् ।”
नेमकिपाले निर्वाचन आचारसंहिताको पालना गर्ने स्पष्ट पार्दै उहाँले नेपालको कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनका लागि नेमकिपाका उम्मेदवारहरूलाई निर्वाचित गर्नु जरूरी रहेको बताउनुभयो ।
“नेमकिपाका उम्मेदवाहरूले सांसद विकास कोषको रकम भक्तपुर जिल्लाका साविक गाउँहरूलाई प्राथमिकता दिई खर्च गरेका छन्”, उहाँले भन्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका मिनबहादुर बाटाले आसन्न निर्वाचनलाई नेमकिपाका उम्मेदवारहरूलाई जिताउन कार्यकर्ताहरू अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाले विचार र सिद्धान्तको राजनीतिलाई जोड दिइरहेको छ । देश र जनताको निःस्वार्थ सेवा गर्नु नै नेमकिपाको उद्देश्य हो, उहाँले भन्नुभयो ।
कार्यक्रममा घनश्याम खड्का, सन्तराम दुलाल, लक्ष्मीनारायण लिगल, राजन फुयाँल, गणेशराम सुवाल, सूर्यबहादुर फोजू, नारायणभक्त न्हेमाफुकी, रमेशबहादुर श्रेष्ठ, सरोज थिङ्ग, गीता काफ्ले र रामबहादुर श्रेष्ठलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *