साम्राज्यवादीहरू भियतनामबाट पुच्छर लुकाएर भागे
- जेष्ठ ४, २०८३
निर्वाचन नजिकिँदै गर्दा जताततै राजनीतिक चहलपहल बढ्न थालेको छ । कतिपय क्षेत्रमा हिजो ‘हराएका’ अनुहारहरू देखिन थालेका छन् । विगतमा चुनावको बेला घरदैलो र नमस्कार गर्दै हिँडेका नेताहरू राजधानीबाट फेरि मत माग्न आइपुगेका छन् । मत माग्यो, मतदाताले दियो र विजयी भएपछि नाकमुख नदेखाउनेहरू पनि अहिले मङ्सिर ४ गतेसम्मको लागि देखापरेका छन् । निर्वाचन क्षेत्रका जनताको पीरमर्का समस्याप्रति चासो राख्न नभ्याउने ‘व्यस्त त्यस्ता कतिपय नेताहरूले राजधानीमा बसेर ‘मूर्ख मतदातालाई झुक्याउन’ सकेकोमा ऐशको जीवन बिताए । तीमध्ये कतिपय मन्त्री पनि भए । तर, तिनीहरूले देश र जनताको लागि भन्दा आफू र आफ्नाका लागि नै कार्यकाल सकाए । त्यतिमात्र भए गलत दल र उम्मेदवारलाई मत दिइएछ भनेर पश्चाताप गर्न हुन्थ्यो । तिनीहरूले देशको सार्वभौमिकता र स्वतन्त्रतामाथि नै आँच पुग्ने काम गरे, घात गरे । यसरी गलत दल र उम्मेदवारलाई दिइएको मत ‘भष्मासुरलाई वरदान’ हुन पुग्यो । देशको अस्तित्वलाई समेत सङ्कटोन्मुख पारे । देशघात, राष्ट्रघात, जनआन्दोलनको मर्मविपरीत, अमर सहिदको अपमानसमेत गरे । यस्तो अवस्थामा मतदाताहरूले आफूले मत दिएका दल र उम्मेदवारलाई धारे हात लगाएर सन्तोष लिनेको सङ्ख्या असङ्ख्य छन् । यस्तो स्थिति मतदाताहरूले पटक–पटक भोगेका छन्, व्यहोरेका छन् । सायद मतदाताको यो ‘नियति’ नै हो ।
यस्तो ‘नियति’ मा गलत दल र उम्मेदवारको मात्र दोष देख्नु पनि जायज छैन । ‘नियति’ वा भाग्य अरूले बनाइदिने होइन, आफैँले बनाउनुपर्छ । भाग्यमा छ भनेर डोकोमा दूध दुइनेको झन् ठूलो दोष हुन्छ । सोचविचारै नगरी डोकोमा दुहने, अनि दूध भुइँमा पोखियो भनेर कसलाई दोष लगाउने ? चुनावको बेला सोचविचार नगरी मत दिने, पछि धारे हात लगाउनुको पहिलो दोषी दल र उम्मेदवार होइन मतदाता नै हुन्छ । झूटो आश्वासन, लोभलालच, चिप्ला कुरामा विश्वास गर्ने अनि पछि पछुताउने काम मतदातहरूले नै गर्छन् । ठगले ठग्नु, चोरले चोर्नु स्वाभाविक कुरा हो । आफू सचेत हुनु र सुरक्षा गर्नु त हाम्रो दायित्व हो । हामी आफ्नो दायित्वबाट चुकेपछि, कर्तव्य भुलेपछि, सचेतताको कमी भएपछि, मत दिनुअघि गम्भीर भएर नसोचेपछिको दुःखद परिणाम हामी आफूले नभोगी सुखै छैन । हाम्रो कमजोरी नै ठग, चोरको लागि फलिफाप भएझैँ हाम्रो गलत मतदान गलत दल र उम्मेदवारको लागि देशघात, भ्रष्टाचार, शोषण–दमनको लागि लाइसेन्स बन्छ । हाम्रो धारे हात, गाली, सरापले उनीहरूको स्वास्थ्यमा कुनै असर गर्दैन, ‘कुकुर भुकिरहन्छ हात्ती लम्किँदै गर्छ’ भनेर टेरपुच्छर लगाउँदैन ।
त्यसैले मताधिकार देश सपार्ने र बिगार्ने साँचो हो । यसको सदुपयोग गर्नु मतदाताको परम कर्तव्य हो । देशघात गर्ने, भ्रष्टाचार गर्ने, प्रजातन्त्रको दोहोलो काढ्ने, नातावाद–क्रिपावादलाई प्रश्रय दिने, विदेशीको आशीर्वाद थाप्न देश र जनतालाई सकस दिने दल र उम्मेदवारलाई मत दिनु मतदाता स्वयम् कर्तव्यच्युत हुनु हो । आशा छ, सम्पूर्ण मतदाताहरूले आफ्नो मताधिकार सही दल र उम्मेदवारलाई दिएर आफू देशभक्ति, जनहितको एक अँशियार बन्ने छन् ।
Leave a Reply