भर्खरै :

साहित्यको समालोचना गर्नु आवश्यक

समाजमा कवि, कलाकार, कथाकार, निबन्धकार, गजलकार, लेखक, राजनीतिक विश्लेषकमात्र भएर पुग्दैन । साहित्यलाई पठनीय बनाउन र साहित्यकारहरूलाई समाजमा चिनाउन समालोचकहरूको पनि खाँचो छ । कुनै कविले लेखेको कविता, कथाकारले लेखेको कथा या कसैले लेखेको साहित्य सही छ या छैन, शब्द चयन मिलेको छ या छैन, लय, छन्द, मात्रा, गति मिलेको छ कि छैन भन्ने कुरा थाहा पाउन समालोचकहरूले समालोचना गर्नु आवश्यक हुन्छ । वाचित कुनै पनि साहित्यको समालोचना भएमा कुनै कवि, कथाकार, निबन्धकारको साहित्य अझ परिमार्जित र परिस्कृत हुन्छ र त्यो साहित्य समाजमा वाचन गर्न लायकको साहित्य बन्छ ।
हाम्रा कतिपय कवि, कथाकार र कलाकारहरू कुनै साहित्य सम्मेलन भएपछि मात्र देखापर्छन् । कतिपय साहित्यकारहरूको साहित्य सम्मेलन या साहित्य गोष्ठी भएन भने साहित्य लेख्ने बानी हुँदैन । साहित्य सम्मेलन हुने भएपछि मात्रै त्यो पनि अन्तिम समयमा तिनीहरू कविता, कथा, निबन्ध लेख्छन् । यसले गर्दा कति साहित्यकारहरूको साहित्य समसामयिक विषय हुँदाहुँदै पनि स्तरीय हुँदैन । कति साहित्य नाराबाजीजस्तै हुन्छ । कति साहित्यको सिलसिला मिल्दैन । सुरुमा एउटा विषय हुन्छ, बीचमा अर्काे विषय हुन्छ र अन्त्यमा अर्कै विषय लेखिएको हुन्छ । साहित्यकारले के के न सन्देश बाँडेको जस्तो भए पनि त्यहाँ स्पष्ट कुनै सन्देश हुँदैन । साहित्यकारहरूका कुनै रचित रचनाबारे गोष्ठीमा बरोबर समीक्षा भएमा या रचनाको समालोचना भएमा आफ्नो कमी कमजोरी थाहा हुन्छ र पछिल्लोपटकको साहित्य सम्मेलन या गोष्ठीमा जनताले स्तरीय साहित्य सुन्न पाउनेछन् ।
साहित्य सम्मेलनअघि नै साहित्य गोष्ठी हुनुपर्ने कुरा बेलाबखत नउठेको होइन । गोष्ठी हुँदै नभएको पनि होइन । तर, त्यस्ता गोष्ठीहरू नियमित भएनन् । साहित्य सम्मेलनमा वरिष्ठ साहित्यकारहरू र विद्वान् स्रोताहरूको पनि उपस्थिति हुन्छ । हामीले वाचन गर्ने साहित्य स्तरीय भएन, पढ्न लायकको भएन भने त्यसले गतिलो सन्देश जाने गर्दैन । साहित्य पढ्नको लागि पढ्ने होइन । साहित्य मैले पनि पढेको छु भन्ने देखाउन पढ्ने होइन । हाम्रो हरेक साहित्य सन्देशमूलक हुनुपर्छ । देश र जनताको पक्षमा लेखिएको हुनुपर्छ । कवितामा छन्द, लय, मात्रा र गति आदिको ध्यान दिनुपर्ने हुन्छ । यी सबै विषयका जानकार व्यक्तिहरू राखेर साहित्य गोष्ठी भएमा, गरिएमा पक्कै पनि हाम्रो साहित्यको स्तर उठ्नेछ, सम्मेलनमा वाचित साहित्य पढ्न लायकको हुनेछ र सन्देशमूलक हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *