सरकारी निकायमा हुने बेरुजुको अन्त्य कहिले ?
- जेष्ठ ४, २०८३
निर्वाचनताका शासक दलका नेताहरू सडक बाटोको स्तर उन्नति, विकास गर्ने हो भन्दै पटक–पटक सत्तामा पुगे । तर, सडक बाटोको विकास भएको जनताले महसुस गर्न पाएका छैनन् । आज पनि काठमाडौँ कलङ्कीबाट नौबिसेसम्म २० किलोमिटरको बाटो पार गर्न दुई घण्टै लाग्छ । यात्रु समयमा गन्तव्य स्थानसम्म पुग्न सकिरहेको हुँदैन । बिग्रेको सडक बाटोले सवारी साधन दुर्घटनामा पर्छन् । बाटोमा सकसपूर्ण यात्रा भइरहँदा शासक दलका नेता, मन्त्री र कर्मचारीहरूलाई यात्रुहरूले सरापिरहेको सुन्न सकिन्छ । देशैभरिको सडक बाटो स्थिति उस्तै छ । २ वर्षमा सम्पन्न गर्नुपर्ने सडक निर्माण काम समय थप्दाथप्दै पाँच वर्ष, सात वर्ष पुग्दा पनि सम्पन्न हुँदैन । बाटो बनाउँदा बनाउँदै कहीँ भत्किसकेको हुन्छ तर पनि काम समयमै पूरा हुन सकेको हुँदैन । जनताले सधैँ सास्ती नै खेप्नु परिरहेको छ ।
नीति नियम राम्रो बनाउने, राजनीतिक दलका नैतिकवान इमानदार नेताहरू सत्तामा नपुगेसम्म वर्षौँ वर्ष यस्तै चल्दै आएको थियो र यसरी नै चलिरहन्छ । कमिसनखोर र घुसखोरी सत्तामा पुगेपछि आम नागरिकले दुःख पाइरहने नै हो । समयमै काम सम्पन्न नगर्नेलाई कुनै कारबाही हुँदैन । तिनीहरूलाई उल्टै शासक दलहरूबाट राजनीतिक संरक्षण हुन्छ । विकास निर्माणका कामहरू छिटोछरितो र भरपर्दो नहुनुमा भ्रष्ट नेताहरूकै संलग्नता रहेकोले जनताले यिनीहरूलाई सरापेका हुन् । पालैपालो सत्तामा पुगेर जनतालाई दुःख दिने राजनीतिक दल र नेताहरूलाई निर्वाचनताका हराएर भए पनि सजाय दिनुपर्दछ ।
फेरि पनि अधुरा बाँकी काम कुराहरू पूरा गराउनको लागि भनी तिनै शासक नेताहरू मत माग्न लाज मान्दैनन् । मुख्य राजमार्गहरूमा बाढी पहिरो, बिग्रेको सडक अवस्था र सडक चापले हजारौँ नागरिकहरूले ज्यान गुमाउन परिरहेको छ । सधैँ भ्रष्ट दल र नेताहरूलाई विकास गर्ला नि भन्ने आशामा मत दिनु मूर्खता हो ।
Leave a Reply