भर्खरै :

शक्ति राष्ट्रको पछि दगुर्नु दास मानसिकताको उपज

सच्चा देशभक्तिको भावना देशको चिन्तामा मात्र सीमित हुँदैन, बरु देशको निम्ति पूर्ण समर्पित हुन्छ । देशको पिर लिनु, राष्ट्रको निम्ति सङ्घर्षमा भाग लिनु देशभक्तिको अभिव्यक्ति हो । देशभक्तले देशको कार्यलाई आफ्नै कार्य ठान्छ, देशको समृद्धिको लागि काम गर्छ । देशभक्तिपूर्ण भावना लिएर गरिएको क्रियाकलापमा मात्र साँचो देशभक्ति झल्किन्छ । प्रजगका कोरियालीहरूमा देशभक्तिपूर्ण भावना छ । पार्टी, जनता र देशप्रतिको बफादारीको भावना नै वास्तवमा देशभक्तिको भावना हो । कोरियाली जनताले आफ्नो मातृभूमिलाई राम्ररी बुझे । प्रजग कोरियाका राष्ट्रपति किम इल सङको नेतृत्व प्राप्त जापानविरोधी सङ्घर्ष र कोरिया मुक्ति युद्ध (सन् १९५०–१९५३) मा भाग लिएका क्रान्तिकारी जनताले समाजवादी समाज खडा गरे ।
कोरियाली राष्ट्रलाई समृद्धिशाली बनाउने बाटोमा बाधा भनेकै विदेशी शक्ति राष्ट्र हो अर्थात्, साम्राज्यवादी देश अमेरिका हो । अमेरिकी सरकारकै कारण कोरिया विभाजन भयो । संयुक्त राज्य अमेरिकाले दक्षिण कोरियामा कब्जा जमाइबसेको हुँदा कोरियाली जनताले राष्ट्रिय विभाजनको पीडा भोग्दै छन् । हजारौँ वर्षदेखि एउटै भू–खण्डमा बस्दै आएको राष्ट्रको विभाजन हुँदा कोरियाली जनताको मर्ममा चोट पुग्नु स्वाभाविक हो । आफ्नै विशेषता भएको कोरियाली जनताको देशभक्तिपूर्ण बाटो भनेको देशको पुनः एकीकरण गर्ने बाटो हो । आँखा चिम्लेर ठूला देशको पछि लाग्दा या उनीहरूको उठबसमा बस्दा देश असफल हुन्छ । ठूला देशहरूको भरमा काम गर्दा देशकै बर्बादी हुन्छ । कुनै देशले आफ्नो स्वाधीनता जोगाउन सक्दैन या अरू देशको अघि झुक्छ या आत्मसमर्पण गर्छ भने कुनै पनि स्वाधीन देशले साम्राज्यवाद र प्रभुत्ववादको आधिपत्य र पराधीनबाट मुक्ति पाउन सक्दैन ।
नेपालका शासकहरू पनि विदेशी शक्ति राष्ट्रका शासकहरूको खुसामद गर्छन्, विदेशी शक्ति राष्ट्रहरूको पाउ मोलेर देश चलाउँछन् । आक्रमण र अतिक्रमण गर्ने विदेशी शक्तिहरूको प्रशंसा गर्ने कार्यले देश विनासको बाटोमा लाग्छ । अर्काको लहैलहैमा लाग्नु, अर्काले भनेको कुरामा अन्ध समर्थन गर्नु वास्तवमा देशको राजनीतिक स्वाधीनताप्रति मतलब नराख्नु हो । आफ्नो देशका स्वाधीनता र सार्वभौमसत्ताको ख्याल नगर्ने सरकारले देश जोगाउन सक्दैन । आफ्नो देशको स्वार्थ छोडेर, जनता भुलेर विदेशी शक्ति राष्ट्रको कुरा सुन्नु र उनीहरूको पछि दगुर्नु दास मानसिकताको उपज हो । यसले विस्तारै देश पराधीन बन्छ । तर, प्रजग कोरियाली सरकार, जनता, पार्टी र सेना कसैको दासी भएर बस्न चाहँदैनन् । प्रजग कोरियाले कहिले पनि साम्राज्यवादको विरोध गर्न छोडेन । कोरियाली राष्ट्रले राष्ट्रपति किम इल सङ र नेता किम जङ इललाई उच्च श्रद्धा गरेदेखि र कोरियाली मजदुर पार्टीले नेतृत्व प्राप्त गरेदेखि कोरियाली राष्ट्र आज आफ्नो भाग्य आफैले कोर्न सक्ने देश बनेको छ । समाजवादको झन्डा फरफराइराख्न एक सफल देश बनेको छ प्रजग कोरिया । तर, कम्युनिस्टहरू बहुमत भएको देश भनिएको नेपालमा त्यो दिन कहिले आउने हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *