भर्खरै :

सत्तामुखी राजनीतिमा अल्झिरहेका उम्मेदवारहरूलाई हराऔँ

सत्तामुखी राजनीतिमा अल्झिरहेका उम्मेदवारहरूलाई हराऔँ

हरेक निर्वाचनमा जनता समाज परिवर्तनको आशा राखी मतदान गर्छन् । उनीहरू बहुमत प्राप्त सरकारले समाज परिवर्तनको लागि केही गर्ला भन्ने विश्वास पनि गर्छन् । तर, जनताको विश्वासले जितेर गएका दलहरूको सरकारले आफ्नो घोषणापत्र र राजनीतिक प्रतिबद्धताअनुसार काम गर्दैन, गरिरहेको छैन । शासक दलका नेताहरू घोषणापत्र र प्रतिबद्धता जनताको मत लिने माध्यम ठान्छन् । जनता पनि उनीहरूको मिठो आश्वासन र लोभलाग्दो कुरामा विश्वास गरेर आफ्नो अमूल्य मत राख्छन् । शासक दलका नेताहरूले यसरी पटकपटक आश्वासन बाँडे र घात गरे । तर पनि उनीहरूको विश्वासघातबाट जनता सचेत हुँदैनन् र उनीहरूलाई नै जिताउँछन् । अतः जनता आफैं सचेत हुनुपर्छ ।
स्वेच्छाचारी, देशघाती शासकहरूलाई तह लगाउने दुइटा उपायमध्ये एक निर्वाचन हो, अर्को विद्रोह हो । व्यापक जनता सचेत र सङ्गठित नभएको बेला विद्रोह गरेर व्यवस्था अन्त्य गर्ने सम्भव हुँदैन । अहिलेको उपयुक्त अर्को बाटो निर्वाचन नै हो । निर्वाचनले नै उनीहरूलाई तह लगाउनुपर्ने हो । अहिले पनि शासक दलका नेताहरूमा देशमा भइरहेको बेथिति, अनियमितता, भ्रष्टाचार अन्त्य कसरी गर्ने भन्नेबारे भिजन देखिँदैन । विदेशिएका युवाहरूलाई स्वदेशमै रोजगारीको सिर्जना गर्ने सन्दर्भमा कुनै चिन्तनमनन गरिँदैन । शिक्षा निःशुल्क र अनिवार्य तथा स्वास्थ्य सेवा निःशुल्क गर्नेबारे कहिल्यै सोचेको पाइँदैन । जनताका आधारभूत आवश्यकताहरू पेट्रोलियम पदार्थ, खाद्यान्न सर्वसुलभ गर्ने र महँगी नियन्त्रण गर्नेतर्फ पनि ध्यान गएको देखिँदैन । अझ त्योभन्दा पनि नेपाली भूमिमा भइरहेको अतिक्रमण रोक्न नेपाललाई स्वाधीन र सार्वभौम बनाउन, मिचिएका नेपाली भूमि फिर्ता लिन र नेपाली भूमिमा रहेका भारतीय सेना फर्काउनेबारे कुनै पहल भएको देखिँदैन । किनकि, सरकारको नेतृत्व गर्ने दलका नेताहरू सत्तामुखी राजनीतिमा अल्झे, पद र पैसाको राजनीतिमा लागे । सेवा गर्नुपर्छ भन्ने कुनै दृष्टिकोण नै नभएको कारण जनताले दुःख पाइरहेका हुन् । देशले दुर्गति पाइरहेको हो । अतः जनता सचेत होऔँ, देश र जनताको सेवामा इमानदारीपूर्वक काम गरिरहेका, देश बचाउन लागिरहेका दलका उम्मेदवाहरूको चुनाव चिह्नमा मतदान गरी अत्यधिक मतले जिताऔँ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *