भर्खरै :

प्रजातन्त्रलाई पैसातन्त्र बनाउनु अपराध हो

प्रजातन्त्रलाई पैसातन्त्र बनाउनु अपराध हो

आवधिक निर्वाचन प्रजातन्त्रको विशेषता र प्राण मानिन्छ । त्यसैले सबैजसो प्रजातान्त्रिक देशमा आवधिक निर्वाचन नियमित हुन्छ– विशेष परिस्थितिमा बाहेक ।
हरेक निर्वाचनमा मतदान हुन्छ, तर नेपालजस्तो देशमा मतदानभन्दा धेरै पैसादान हुन थालेको छ । २–४ करोड खर्च नगर्ने उम्मेदवार नै हुँदैन, खर्च गर्न सक्ने उम्मेदवार नै बन्दैन । लाख खर्च गर्ने सीमा हुन्छ तर ५–१० करोड खर्च गरेको कुरा हाकाहाकी गरेका उदाहरण धेरै छन् । अहिलेको चुनावमा उम्मेदवारहरूले नियमसम्मत खर्च गर्ने रकम ३४ अर्ब बताइएको छ । तर, एक खर्बको हाराहारीमा उम्मेदवारहरूले खर्च गर्ने आकलन पनि गरिएको छ । यसको अर्थ कानुनसम्मत खर्चभन्दा दोब्बरभन्दा बढी खर्च हुनेछ ।
एउटा सांसद पदको लागि करोड–करोड खर्च गरेर जितेपछि ५ वर्षमा उसले तलब–भत्ता–सुविधा गरेर मानौँ ५० लाख कमाउला । २–४ करोड अझ ५–१० करोड खर्चेर ५ वर्षमा आधा करोड तलब भत्ता थाप्न किन मरिहत्ते गर्छन् ?
डाक्टर, इन्जिनियर पढ्नेहरूले पनि ५० औँ लाख खर्च गरेर प्रमाणपत्र प्राप्त गर्छन् । तर, तिनीहरूले सोझो तलब थापेर पनि २–४ दशकमा खर्च उपर गर्छन् । छिट्टै उपर गर्न अनियमित र अनैतिक काम गर्नेहरू पनि प्रशस्तै छन् । तब सांसदहरूले ५ वर्षभन्दा बढी तलब थाप्नै पाउँदैनन्, तब आफ्नो लगानी उठाउन अनियमित, अनैतिक अर्थात् भ्रष्टाचार, कमिसनको भर नपरी सुखै छैन । पार्टीको सिद्धान्त, घोषणापत्र, जनतासमक्ष गरेका वाचा आदि सबैलाई फाल्नुको विकल्प नै छैन । त्यसैले पैसाको खोलो बगाई चुनाव जित्नेले भोलि देश र जनताको हित र भलो गर्छ भनी सोच्नु हदैको केटाकेटीपन हो । जबसम्म मतदाता यो तथ्य बुुझ्दैनन्, पैसा छरेर चुनाव जित्नेहरू कहिल्यै चेत्दैनन् । सिद्धान्त, विचार, घोषणापत्रले लड्नुपर्ने चुनाव पैसाले लडेपछि भोलिका सांसद पैसामुखी हुनु स्वाभाविक छ । आज २–४ हजार लिएर मतदान गर्ने अनि भोलि आफूले जिताएको सांसदले भ्रष्टाचार ग¥यो भनी चिच्याउनुको कुनै तुक छैन । भोलि भ्रष्टाचार गर्न र कमिसन खान नै उसले मतदातालाई आज २–४ हजार बाँडेको तथ्य त सद्दे दिमागका सबैले बुझ्नैपर्ने कुरा हो । सचेत मतदाताले यो कुरा राम्रै बुझेका छन् ।
बुझ्न त निर्वाचन आयोगका पदाधिकारीले पनि धेरै बुझेका छन् । त्यसैले एक पूर्वपदाधिकारीले भनेका छन्, “पैसाले चुनाव जित्ने प्रवृत्ति बढेको छ, त्यो प्रवृत्ति लोकतन्त्रको लागि घातक छ ।” त्यो घातक प्रवृत्ति आजको होइन हिजोअस्ति झन् अस्तिदेखि देखिएको हो । आफू पद र अधिकारमा छँदा कडाइका साथ र निर्मम ढङ्गले नियन्त्रण गरेको भए सायद त्यो प्रवृत्ति बढ्दोको ठाउँमा घट्दो हुन्थ्यो होला । त्यसबेला दैलो नदेख्ने अहिले चिन्ता व्यक्त गर्नुलाई लोकाचार बाहेक के भन्ने ?
आफू पदमा छँदा गर्नैपर्ने काम गर्दै भूतपूर्व भएपछि चिन्ता व्यक्त गर्दै उपदेश दिनेहरू यो देशमा प्रशस्त छन् । न्याय, प्रहरी, कर्मचारी, सेनादेखि मन्त्री, प्रधानमन्त्रीसमेतले वर्तमान पदाधिकारीलाई उपदेश दिने गरेको पत्रपत्रिकामा बरोबर पढ्न पाइन्छ ।
यस्तो लोकाचार कतिपय मतदाताले पनि गर्छन् दल र उम्मेदवारबारे राम्रो सोधखोज नगरी घोषणापत्रको अध्ययन नगरी, दलको पूर्व व्यवहारमा ध्यान नदिई मतदान गर्छन् । अनि, पछि आफै इमानदार हुनुपर्ने, देश र जनतालाई प्राथमिकतामा राख्नुपर्ने, नैतिकता र आचरण राम्रो हुनुपर्नेजस्ता गुनासो गर्छन् । कुकुरलाई मासु पैँचो दिने, पछि फर्काएन भन्नु त आफै हुस्सु हुनु होइन र ? पटक–पटक झुक्याएपछि पनि फेरि झुक्किनु अर्थात् गलत दल र उम्मेदवारलाई नै मत दिनुको दोषी अरू कोही होइन, आफै हो ।
त्यसैले राष्ट्रघात र देशघात गर्ने, भ्रष्टाचार र कमिसनतन्त्रलाई मलजल गर्ने, देश र जनताको साटो आफू र आफ्नाको स्वार्थ पूर्ति गर्ने, पैसा र सामान दिएर हामी मतदातालाई अनैतिक र भ्रष्ट बनाउन खोज्ने दल र तिनका उम्मेदवारलाई मत दिनु भनेको प्रजातन्त्रलाई पैसातन्त्र बनाउनु हो । त्यो मतदाताको सामान्य कमजोरी होइन अपराध पनि ठहरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *