भर्खरै :

लोकतन्त्र समानताको सिद्धान्तमा आधारित हुनुपर्छ

लोकतन्त्र समानताको सिद्धान्तमा आधारित हुनुपर्छ

“जनताको, जनताका लागि र जनताद्वारा गरिने शासन नै लोकतन्त्र हो ।” लोकतन्त्र वा प्रजातन्त्रको सन्दर्भमा लिङ्कनको यो परिभाषा निकै चर्चित छ ।
लोकतन्त्रमा आम मानिसको भलाइको कामना गरिएको हुन्छ । यसको उद्देश्य भनेकै सम्पूर्ण जनताको राजनीतिक, आर्थिक र सामाजिक उन्नति हो । प्रभुसत्ता जनताको हातमा हुन्छ । यहाँ कुनै व्यक्ति वा वर्गको हितका लागि मात्र कानुन बनाइँदैन, प्रशासन चलाइँदैन र नियमकानुन मिच्ने काम पनि हुँदैन ।
लोकतन्त्र समानताको सिद्धान्तमा आधारित हुन्छ । यसमा जाति, धर्म, लिङ्ग, रङ्ग कुनै पनि आधारमा कसैलाई पनि भेदभाव गरिँदैन । सबैको चौतर्फी विकासका लागि सबैलाई समान अधिकार र समान मौका दिने बन्दोबस्त गरिन्छ ।
नागरिक स्वतन्त्रता लोकतन्त्रको कडी हो । यस्तो व्यवस्थामा आवधिक चुनाव हुन्छ । यसमा सरकारका कमी कमजोरीको खुलेर विरोध गर्न पाइन्छ । जनताले राजनीतिक शिक्षा पाउँछन् । सरकार, देश र जनताप्रति जिम्मेवार र उदार हुन्छ । सरकारले गरेका राम्रा कामका कारण सारा जनतामा देशभक्तिको भावना विकास हुनथाल्छ ।
यति धेरै कुराहरू भए पनि हाम्रो देशमा बहुदलीय व्यवस्थापछि अहिलेसम्म लोकतन्त्रका नाममा पालना वा अभ्यास गरिएको एउटा विशेषता भनेको जनताले बोल्न, लेख्न र विरोध गर्न पाउने अधिकार हो । यसको खासै प्रभावकारी अर्थ देखिएन । सरकारको खराब कामको विरोध गर्नु भनेको कसाहीको अघि जीवनको भीख माग्नुसरह नै भयो ।
लोकतन्त्रको विशेषताको नाममा साँच्चै पालना गरिएको एउटा विशेषता आवधिक चुनाव (बीचमा ज्ञानेन्द्रको शासनबाहेक) नै देखियो । अहिलेसम्म सम्पन्न भएका सम्पूर्ण निर्वाचनहरू ‘देश, जनता र विकास’ का नाममा नै भए । क्रान्ति र राजनीति सबै यसैसँग गाँसिएको भान पारियो । तर दुर्भाग्य ! आजसम्मका हरेक निर्वाचन नेता र तिनका केही कार्यकर्ताहरूले मात्र जिते ! ती जित्नेहरूले देश र जनताको भलाइ होइन, आफ्नै भलाइ र मोजमज्जामा समय बिताए । देश र जनताको जीत कहिल्यै पनि भएन । यो सरकार, त्यो सरकार, बहुमतको सरकार, स्थिर सरकार भन्दाभन्दै जनताले दुईतिहाइ नजिकको सरकार पनि बनाइदिए । तर, देश र जनताका लागि काम गर्नुको साटो नीतिगत भ्रष्टाचारको व्यवस्था गरेर सत्ता र स्वार्थका लागि आफूआफूमा झगडा गर्न थाले । गफ आकाशपातालको लगाए । काम, देशको ढुकुटीमा रजाइँ र देश अरूलाई जिम्मा दिने काममा मिल्न थाले ।
यस्तो भएपछि यो देशको ढुङ्गामाटोले पनि नेताका बदमासी थाहा पाए भन्ने कुरा केही बाँकी रहेन । ढाँट्न बाँकी कुरा पनि सकिए । भ्रम पनि कसैले नपत्याउने भए । यो कुरा बुझेका हाम्रा धूर्त नेतालाई अब साम, दाम, दण्ड र भेदले मात्र कुनै काम हुँदैन भन्ने कुराको ज्ञान भयो । त्यसैले ‘जसरी पनि मिलेर खाने’ उद्देश्यको कारण उनीहरुले गठबन्धन गरे । मतदान गर्दा, गठबन्धनभन्दा बाहिर जान पाउने अवस्था नै छैन भन्ने भ्रम जनतामाझ छरियो ।
यतिखेर, आगामी मङ्सिर ४ मा हुने चुनावलाई लिएर अनेक थरी टीकाटिप्पणी हुन थालेका छन् । ‘ठूला नेतालाई हराउनुपर्छ ।’ ‘… फलानो पार्टीलाई जिताउनुपर्छ ।’ ‘……. उसका विरुद्ध ऊ उठेको हुँदा उसले हार्छ ।’ ‘ …. त्यसलाई त जसरी पनि हराउनैपर्ने हो ।’ ‘… … त्यसलाई त जिताउनै पर्छ … ।’ समय काट्ने क्रममा सर्वसाधारणमाझ यस्तै कुराकानी हुँदै गर्दा कथित ठूला पार्टीका ठूला नेताहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी झूटा आश्वासनहरू दिन थालेका छन् ।
राम्रो गर्न केही पनि सकेनन् । नराम्रो गर्न केही पनि बाँकी राखेनन् । दुनियाँको घृणित पात्र भइसक्दा पनि अझै राष्ट्रदोहन गर्ने लिप्सा घटेको छैन ! अनि गरीब–दुःखी र सोझासीधा उपस्थित भएको पाएपछि केही न केही भनेर ठूलो मान्छे त हुनैप¥यो !
वास्तवमा ठूलासाना, माउबच्चा, कच्चापक्का जसले जिते पनि आखिर तिनै ‘राष्ट्रघाती’ पार्टीका सदस्यहरूले नै जित्ने हुन् । ढाँट्न र गफ लाउनमा कोही कम छैनन् । ‘नेपाली लाजनीति’ को यो कुरा अब कसैले पनि बुझ्न बाँकी छजस्तो लाग्दैन ।
यस्तो निराशामय वातावरणमा आशाको दियो कतै पनि छैन त ? अवश्य पनि छ । त्यो आशाको दियो हो–नेपाल मजदुर किसान पार्टी जसले स्थापनाकालदेखि अहिलेसम्म आफ्नो इमानदारी, निःस्वार्थी र सदाचारी छविमा कुनै दाग आउन दिएको छैन ।
संसारमा असल मान्छे र असल विचार जहिले पनि अल्पमतमा परेको इतिहास छ । त्यस्ता व्यक्ति र विचारले दुःख पनि पाउँछन् । तर, त्यस्तै अवस्थाबाट व्यक्ति र विचारको परीक्षा हुन्छ, मूल्याङ्कन हुन्छ । नेमकिपालाई धेरैले ‘नेपाली राजनीतिको प्रकाश स्तम्भ’ भनेका छन् ।
यो पार्टीले, सरकारले गर्न खोजेका हरेक राष्ट्रघाती सन्धि सम्झौताको व्यापक विरोध गर्दै आइरहेको छ– चाहे त्यो महाकाली सन्धि होस् वा अहिलेको एमसीसी, एसपीपी वा नागरिकता विधेयक नै । नेमकिपाकै कारण ती दलहरूलाई राष्ट्रघाती सन्धि सम्झौता अनुमोदन गर्न समय लागेको हो ।
नेमकिपा गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्छ भन्ने पक्षमा छ । मौलिक कला, संस्कृति, सम्पदा जोगाउने कुरामा गम्भीर छ । ऊ अरूको सहायता लिन चाहँदैन । ऊ आत्मनिर्भर बन्नुपर्छ भन्ने कुरामा विश्वास राख्छ । यस्ता कुरालाई व्यवहारमा उतारेर भक्तपुर नगरपालिका देशकै उत्कृष्ट नगरपालिका बन्न सकेको कुरा सबैलाई थाहै छ ।
मित्रराष्ट्रहरूले माया गरेर स्थापना गरिदिएका कलकारखाना जोगाउनुपर्छ । दिएका उपहारहरूको सदुपयोग गर्नुपर्छ । भ्रष्टाचार, अनियमितता, कमिसन, कालाबजारी, बिचौलियाजस्ता देश र समाज बिगार्ने ऐंजेरुलाई निर्मूल पार्नुपर्छ । नेमकिपालाई अब पनि नचिन्ने हो भने देशले अझै दुःख पाउने कुरामा दुईमत छैन ।
धन, डन, गुन्डा, भ्रम, झूटको खेती इत्यादि गरेर चुनाव जित्नु, सरकार बनाउनु एउटा कुरा हो । तर, देश र जनताको पक्षमा अटल रहेर एउटा स्वाभिमानी पार्टीका रूपमा देशविदेशका असलको नजरमा पहिचान बनाउनु अर्कै कुरा हो ।
मान्छेले अरूलाई ढाँट्न सके पनि आफूलाई कहिल्यै ढाँट्न सक्दैन । यसै सन्दर्भमा हाम्रा कथित ठूलाबडा नेताहरूले समेत नेमकिपाको गुणगान गाएका छन् । त्यसो गर्नु भनेको ‘हामी असल छैनौँ’ भनेको हो । त्यसैले पनि यो चुनावमा नेमकिपाका उम्मेदवारलाई जिताउनुपर्ने कुरा उठेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *