“सहकारी बैङ्क तथा वित्तीय संस्थाको रूपमा मात्र सञ्चालन हुनुहुँदैन”
- पुष १०, २०७९
भक्तपुर, ६ कार्तिक । श्रमिक बचत तथा ऋण सहकारी संस्था लि. को १९ औँ वार्षिक साधारण सभा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवं नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
सभामा अतिथि चवालले देशमा आर्थिक मन्दीको सङ्घारमा पुगेको, शासक दलहरूले देशलाई ऋणमा डुबाउँदै गएको र ऋणकै कारणले विदेशीको सहयोगविना हामीले केही गर्नै नसक्ने मानसिकता विकास गराएको विचार राख्नुभयो ।
पुँजीवादी विश्वमा पुनः आर्थिक मन्दीको कालो बादल मडारिन थालेको बताउँदै उहाँले चीनले जस्तै विश्वलाई विदेशी सामान खरिद गर्ने होइन सक्दो विदेशीलाई बेच्नुपर्छ भन्ने भावनाको विकास गर्नुपर्ने विचार राख्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.का सचिव जगनाथ प्रजापतिले समुदायमा आधारित र गैरसमुदायमा आधारित सहकारीबारे हामीले अझ व्यापक जनचेतना दिनुपर्नेमा जोड दिँदै केही ब्याजको लोभमा फस्न नहुने विचार राख्नुभयो ।
संस्थाका अध्यक्ष राजाराम गोसाईको सभापतित्वमा सम्पन्न उक्त सभामा सल्लाहकारद्वय लक्ष्मीभक्त कवां, गणेशराम सुवाल, कानुनी सल्लाहकार विकल प्रजापति, संस्थापक अध्यक्ष कृष्णनारायण मचामसी, पूर्वअध्यक्ष दिनेश ग्वाछा, सिद्धि गणेश साकोसका विष्णुप्रसाद दुमरु, सञ्चालक विष्णुप्रसाद त्वायनालगायतका महानुभावहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सचिव रामसुन्दर दुवालले आ.व.२०७८÷७९ को प्रगति प्रतिवेदन तथा २०७९÷८० को भावी कार्यक्रम, कोषाध्यक्ष ललिता गोसाईले आ.व.२०७८÷७९ को आयव्यय तथा आ.व.२०७९÷८० को अनुमानित बजेट र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक लक्ष्मीसुन्दर सुवालले प्रस्तुत गर्नुभएको थियो । बीच बीचमा संस्थाद्वारा प्रशिक्षित नृत्य तथा सांस्कृतिक, कार्यक्रमहरू प्रस्तुत गरिएको थियो ।
सो सभामा एस.ई.ई. उत्तीर्ण ३० जना विद्यार्थीलाई प्रशंसापत्र र पुरस्कार वितरण तथा ७० वर्षदेखि माथिका २१ जना ज्येष्ठ सदस्यहरूलाई सम्मान गरिएको थियो । उपस्थित शेयर सदस्यहरूमा ख्वप बहुप्राविधिक संस्थानका स्वास्थ्यकर्मीहरूद्वारा रक्तचाप परीक्षण गरिएको थियो ।
Leave a Reply