जम्मु–कस्मिरमा विधानसभा निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान सुरु
- आश्विन ३, २०८१
भक्तपुर, ६ कार्तिक । भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन भएको ६ दिने खेलकुद प्रशिक्षक प्रशिक्षणको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
सो अवसरमा उपप्रमुख जोशीले खेलको नीति, सिद्धान्त, अनुशासन, मानसम्मान गर्ने सामाजिक व्यवहारले खेलाडीमा सार्वभौमिकता, भौगोलिक अखण्डताजस्ता देशभक्तिको भावना सिकाउने बताउँदै भक्तपुर नगरपालिकाले जनताको निर्देशनबमोजिम स्वास्थ्य, शिक्षा र सम्पदा संरक्षणमा विकास भएको ख्वप मोडेल अब खेल क्षेत्रमा गर्न लागेको बताउनुभयो । उहाँले शिक्षा र खेलकुद सँगसँगै लानुपर्ने बताउनुभयो ।
नेपाल खोखो सङ्घका कार्यवाहक केन्द्रीय अध्यक्ष तथा प्रशिक्षक प्रदिप महर्जनले सिकाइमा संलग्न भएका शिक्षकहरूको जिज्ञासु तथा उत्सुकताको व्यवहारले विद्यालयका विद्यार्थीहरूलाई आफूले सिकेको सीप, ज्ञान सहजरूपमा सिकाउने र उनीहरूमा आत्मविश्वासका साथ निर्णय गर्न सक्ने क्षमता वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर जिल्ला भलिबल सङ्घका अध्यक्ष तथा प्रशिक्षक विनोदचरण रायले मोबाइल तथा ल्यापटपजस्ता डिजिटल खेलले पार्ने असरबाट बच्न र खेलाडी तथा शिक्षकले खेलको आधारभूत नियम नबुझ्दा प्रतियोगिता सञ्चालनमा हुने असहजतालाई न्यून गर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाको युवा तथा खेलकुद समितिका संयोजक तथा भनपा वडा नं १ का अध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाले जन्मदेखि मृत्युसम्मका जनताको आधारभूत आवश्यकता पूर्ति सहजरूपमा गराउन लागिपरेको बताउँदै भक्तपुर नगरपालिकाभित्रका कभर हलहरूमा विद्यालयका विद्यार्थीहरूले निःशुल्करूपमा प्रशिक्षित हुन र अभ्यास गर्न पाउने बताउनुभयो ।
उहाँले शिक्षा ग्रहणसँगै खेलकुद सिकाइलाई प्रभावकारी बनाउन र राष्ट्रिय अन्तर्राष्ट्रिय खेलमा सहभागी भई देशको नाम राख्न उक्त तालिम सञ्चालन गरेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष उपेन्द्र सुवाल, युवा तथा खेलकुद समितिका सदस्य रामसुन्दर बासीलगायत प्रशिक्षार्थीद्वय पुष्पा प्रजापति तथा रविन खड्काले आ–आफ्नो तालिमको अनुभव सुनाउनुभयो ।
Leave a Reply