भर्खरै :

छेपारोले भन्दा बढी रङ फेर्नेहरू !

काठमाडौँ, ९ कार्तिक । केही हास्य कलाकारहरूले मङ्सिर ४ गतेको चुनावको लागि नेका, माओवादी केन्द्र र एकीकृत समाजवादीको चुनाव गठबन्धनलाई बीले अर्थात् बीपी कोइराला र लेनिनको मिलनको रूपमा प्रस्तुत गरे । बीपीदेखि देउवासम्मको नेतृत्वमा नेकाको खासै भिन्नता देखिँदैन । नेकाको जन्म नै विदेशी पुँजीपरस्तको रूपमा भएको हो । यसकारण, नेकाका सरकारहरूमा कामदार वर्गका जनताले आशा गर्ने ठाउँ हुँदैन । माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरू पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई लेनिनसँग तुलना गरिएको पनि राजनीतिक अपरिपक्वता हो । लेनिनले पुँजीवादी सरकारमा गएर भागबन्डा खाने काम गर्नुभएन । पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र केपी ओलीले पुँजीवादी सरकारले नेतृत्व गरेर त्यही खनाल, भट्टराई, ओली र मनमोहन अधिकारीहरू रातो झन्डा खसाल्न रातो झन्डा उठाएका हरियो घाँसभित्र लुकेका गोमन सर्पजस्तै हुन् । कतिपय हास्य कलाकारहरूसँग यो हेक्का देखिएन, तर हुनु आवश्यक छ ।
यसपालिको सिस्नुपानी देउसी कार्यक्रममा हास्य कलाकारले माओवादीका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई रङ फेर्ने काममा छेपारालाई जितेका भनी व्यङ्ग्य गरे । हो, बाबुरामले माओवादी छाडे, नयाँ शक्ति पार्टी खोले, जनता समाजवादी पार्टीमा पसे र त्यहाँबाट निस्केर नेपाल समाजवादी पार्टी खोले, निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नबाट छोरीलाई उम्मेदवार बनाए, आफू नेकाको समर्थनबाट जितको क्षेत्र नं. २ बाट दाहाललाई काङ्ग्रेसको समर्थनमा उम्मेदवार बनाए । बाबुरामले दाहाललाई माओवादीले सशस्त्र द्वन्द्वको नाममा लुटपाट गरेको २० अर्ब रुपियाँ एकलौटी गरेको र बुढी गण्डकी जलविद्युत्को ९ अर्ब रुपियाँ ओली, देउवा र दाहाल मिलेर भ्रष्टाचार गरेको आरोप लगाए । उही ओलीसँग बाबुराम यसपालिको सिस्नुपानी देउसी संयुक्त उद्घाटन गर्न पुगे । यसकारण, बाबुरामले छेपारोभन्दा बढी रङ बदल्ने पुष्टि हुन्छ ।
नेपालीहरूले भोज बोलाएर गाली गर्दैनन् । तर, सिस्नुपानी देउसीले नेका, एमाले, माओवादी, राप्रपाका नेताहरूलाई कार्यक्रममा बोलाएर ‘गाली’ पनि ग¥यो । तर, निर्वाचनमा सिद्धान्तहीन गठबन्धनको नाममा ठगबन्धन गरी जनतालाई धोका दिँदै आएका शासक दलका नेताहरूमा चेत आएको छैन । आउने पनि देखिँदैन । किनभने, नेपालीको भरमा ती पार्टी र तिनका नेताहरू चलेका होइनन्, रिमोट कन्ट्रोलबाट चलेका हुन् । एक जना विश्लेषकले भने, “भारतीय एकाधिकार पुँजी र विस्तारवादको समर्थनविना नेपालमा अहिलेसम्म कुनै ‘माइकालाल’ प्रधानमन्त्री र मन्त्री भएका छैनन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *