नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
काठमाडौँ, ११ कार्तिक । निर्वाचनको बेला हरेक राजनीतिक दलहरूमा आ–आफ्नै चिन्तन र वर्ग आधारअनुसारको असन्तोष, मतमतान्तर, गुनासो र फुटका समाचारहरू सुन्नमा आउँछन् । अहिले शासक दलहरूमा महिलालाई जित्ने निर्वाचन क्षेत्रमा उम्मेदवारी नदिनु पार्टी नेतृत्वको पुरूष अहङ्कारवाद र महिलाप्रति पुरानै दृष्टिकोण बाँकी रहेको गुनासो सुनिँदै छ ।
त्यसको उत्तरमा भित्रभित्र सुन्नमा आउँछ – महिला भन्दैमा जित्ने सम्भावना बढी छ भन्नु आत्मवञ्चना हो, तीन पुस्तादेखि पार्टीमा भएकै नाताले मतदाताको मत आउँछ भन्ने अड्कल लाउनु जनताको भावना नबुझ्नु हो । आफ्नो गाउँमा परिवारको कारण राम्रै मत आउला, तर १०–२० गाउँबाट त्यसरी नै मत आउँछ भन्ने आकलन पटक्कै मिल्दैन भन्ने अनुभवीहरू सम्झाइरहन्छन् । समाजमा ठूलो जात र सानो जात, नेपाली भाषाभाषी र अन्य भाषाभाषी, गाउँ र भेगको क्षेत्रीय भावना, गरिब र धनीको भेदभाव एकातिर छ भने अर्कोतिर तीनपुस्ते परिवारले गाउँ, भेग र जिल्लामा भए गरेका ‘ठूलापन’ र ‘हेलाहोचो’ र शोषणको हिसाब–किताब बाँकी भए पनि प्रतिद्वन्द्वी दलहरूले राजनीतिक र सैद्धान्तिकरूपले विरोध र आलोचना छेक्न सक्ने र जनसभाहरूमा चित्तबुझ्दो जवाफ दिन सक्ने उम्मेदवार हो–होइन भन्ने विषय कम महत्वपूर्ण छैन ।
निर्वाचनमा चर्चा हुने विषयमा हिजो पढाइ र शिक्षा स्तरको कुरा हुन्थ्यो भने त्यसका अतिरिक्त उम्मेदवारले कति वर्ष गाउँ र सहरमा जनताको सेवा गरेका छ–छैनन् भन्ने बढी प्रश्न गर्छन् । भर्खर विश्वविद्यालय सकेर गाउँ फर्केकाहरूबारे आफ्नै गाउँ र परिवारले कर–बलले भए पनि मत देलान् रे । तर, जनता प्रश्न गर्छन् – उम्मेदवारले कति वर्षदेखि कति व्यक्तिलाई स्वास्थ्य उपचारमा सहयोग गरे, गाउँ र वार्डको विद्यालय र पुस्तकालय खोल्न के सहयोग गरे, झगडा पर्दा र अदालती काममा कतिलाई मद्दत गरे, गाउँ र जिल्लामा उसको के – के योगदान छ सबै खोतलखातल गर्छ । उम्मेदवारले कति समिति र सङ्गठन गरेको छ भन्नेबारे प्रश्न बारम्बार आउँछ ।
मतदाता र कार्यकर्ताहरूले मुख खोलेरै भन्ने गर्छन्, खान्दान र लोग्नेको कारण महिलालाई मत दिनु र सामान्य व्यवहार गर्नु फरक विषय हो । उम्मेदवार हुने व्यक्तिको बोली–वचन, व्यवहार, राजनीतिक सुझबुझ, सिद्धान्त र विचारप्रति आस्था र दृढता आदि पनि कार्यकर्ता र मतदाताहरूले जानकारी खोज्छन् । त्यसको निम्ति महिला उम्मेदवारले महिलाकै नाताले होइन बरू पदमा पुग्दा तिनले सदन र सभाहरूमा बोल्ने भाषा र विषयमा देखिने ल्याकत, लेखाइमात्र होइन वक्तृत्वकला, उनको बानीव्यहोरासमेत छलफलमा आउनु नौलो विषय होइन । घमण्डी, ठुस्स पर्ने, अरूलाई मानिस नगन्ने, जातिवादी र शोषणको प्रवृत्ति देखियो भने कार्यकर्ता र मतदाताहरूले अगाडि ठिक्क गरे पनि मतदानमा के गर्लान् भन्न सकिने विषय होइन भनी सबै भुक्तभोगीहरू अनुमान गर्छन् । पैसा खर्च गर्दैमा र जनतालाई तर्साएर मत माग्दैमा जित्ने भए, धनीहरू सबै जित्ने थिए र गुण्डाहरू र सामन्तहरू सबै जित्ने थिए । तर, व्यवहारमा त्यसो देखिएको छैन ।
विषय को निर्वाचनमा उम्मेदवार बन्नेभन्दा किन प्रतिद्वन्द्वी बन्ने र बनाउने वा निर्वाचनलाई उपयोग गर्नेबारे प्रस्ट हुनु आवश्यक छ । महिलाहरू प्रतिनिधिसभा, प्रधानमन्त्री र राष्ट्रपतिको निम्ति प्रतिस्पर्धी देखिएको झन्डै ५०–६० वर्ष अगाडि सुरू भयो । यो युरोप, ल्याटिन अमेरिका र एसियामा देखियो । वर्गीयरूपले पुरूष र महिला भए पनि वर्गीय स्वार्थमा फरक हुने गर्दैन । सूची लामो छ – परिणाम एउटै छ । कामदार जनताको आमूल परिवर्तन चाहने क्रान्तिकारी दलका उम्मेदवारले (पुरूष वा महिला, युवक वा ज्येष्ठ भए पनि) निःस्वार्थरूपले देश र जनता तथा कामदार वर्गको दीर्घकालीन हितको निम्ति समर्पित हुने भावना र शिक्षाप्रति प्रतिबद्ध हुनैपर्छ । पुँजीवादी दलका नेताहरू मन्त्री र सभामुख हुन्छ भने हामी किन नहुने भन्ने छलफल नयाँ होइन र गोलीले जित्न नसक्ने कम्युनिस्टहरू चास्नी पोतेको गोलीले पराजित भएका कैयौँ उदाहरणहरू छन् । यसकारण, सच्चा कम्युनिस्टहरूले व्यक्तिगत हितलाई प्राथमिकता नदिई सिद्धान्त, क्रान्ति र समाजवादको बाटोमा अघि बढ्न त्याग र बलिदानमा प्रतिस्पर्धाको निम्ति निर्वाचनलाई उपयोग गर्ने हो भन्ने उद्देश्य प्रस्ट गर्दा अनेक राजनीतिक असझदारी प्रस्ट हुनेछ ।
Leave a Reply