नेपालीहरू भारतविरोधी होइनन् – २
- कार्तिक १२, २०८३
कथा
आन्दोलनले गति लिनुभन्दा पहिले नै हामीले एक दुर्गम सम्झिने गाउँ (घरपति सहरका) मा आफ्नो डेरा बनायौँ । हामी बसेको गाउँ वा बस्तीमा ८ घर जतिमात्रै थिए– अलिअलि टाढा । पर्खालले घेरिएको बारी, घर र आँगन थियो । घरको पूर्वतिर आधा घण्टा पैदल गएपछि एक बजार आउँथ्यो, हामी त्यहाँ चामल, दाल र तरकारी किन्थ्यौँ र पश्चिमतिर पनि आधा घण्टा जति गएपछि सहरको नजिक एउटा पुरानो प्रेसमा छपाइको काम हुन्थ्यो । त्यो सानो ८–१० घरको छेउछाउ कतै पनि प्राथमिक विद्यालय थिएन ।
राम एक अवकाश प्राप्त कर्मचारी, लक्ष्मण पेशाले एक व्यापारी, भरत एक शिक्षक र म कान्छो शत्रुघन नाममा काम गर्दै थियौँ । राम र लक्ष्मण दुई–चार दिन त्यहाँ देखापर्थे र फेरि दुई चार हप्ता र कहिलेकाहीँ एक दुई महिना अन्तै गाउँ र जिल्लामा फरक फरक दिशामा जनताको सेवामा लाग्थे ।
म कान्छो शत्रुघनको घरको पालोको रूपमा लगातार चार वर्ष त्यहीँ बस्थेँ । म पुस्तकको प्रेमी भएको हुँदा मलाई बाहिरी काम दिइएन र लेख–पढमै मस्त थिएँ । राम, लक्ष्मण र भरत कहिलेकाहीँ आ–आफ्नो घर– परिवार र छोरा–छोरीका समाचार थाहा पाएर दुःखी र खुसी हुन्थे ।
२
म बिहान ६ बजेभन्दा पहिले नै उठ्थँे, आफ्नो ओछ्यान कोठाको सफाइपछि आँगन र चर्पी सफाइ गर्थँे । त्यहाँ सानो कुवा थियो र त्यसैको पानीले काम चलाउँथ्यौँ र पानी चिसो र मिठो थियो ।
७ बजेअघि नै सबै आ–आफ्नो नित्य कर्मबाट फुर्सत पाएर टेबुलको चारैतिर बस्थ्यौँ । म चार कप कालो चिया तयार गरेर आफ्नो स्थानमा बस्थ्यौँ र हिजोको रातको र बिहानको समाचारबारे जानकारी र टिप्पणी प्रस्तुत ग¥थ्यौँ ।
बिहान १० बजेसम्ममा म भात पकाएर खानको निम्ति जोरजाम गर्थँे । कहिलेकाहीँ राति हामी रोटी खान्थ्यौँ । भरत शिक्षक भएको कारण खाना खाईओरी प्रेसमा गई पत्रिका र पुस्तक छपाइको काम गर्थे र फर्कँदा ४–५ बजिसकेको हुन्थ्यो । उनी समाचारपत्र र अन्य पत्र–पत्रिका पनि लिएर आउँथे ।
राम र लक्ष्मणले पालैपालो एक दुई दिन बिराएर तरकारी, आलु, प्याज, काउली, चामल र पिठो ल्याउँथे । जिल्ला र अन्य ठाउँमा केही हप्ता वा महिना बिराएर आउँदा सङ्गठनका नयाँ–नयाँ उपलब्धिका समाचार र स्थानीय खानेकुराको परिकार पनि लिएर आउँथे ।
म ती सबै कामको रेकर्ड राख्थँे, हिसाब राख्थँे र आगामी कार्यक्रम बनाउँथेँ । कहिले बिहान, दिउँसो र रातिसमेत जिल्ला जिल्लाबाट २–४ जना २–४ जना साथीहरू तालिमको निम्ति आउँथे । तिनीहरूलाई खाना ख्वाउने र छुट्टै कोठामा कक्षा सञ्चालन र सुत्ने बन्दोबस्त गर्थेँ । कपडा धुन साबुन र सोडा तथा नुहाउने बन्दोबस्तको निम्ति सानो स्नानगृहको पनि बन्दोबस्त थियो । केही दिन साथीहरू आ–आफ्ना जिल्ला फर्कने बेलामा ख्याल ख्यालमा ‘कम्युन’ भनेको यस्तै हो कि भनी जिज्ञासा राख्थे । भरत, राम र लक्ष्णम हाँसेर भन्थे– यो ‘प्रारम्भिक समिति’ सम्म हो ।
पहिलो पटक आउने साथीहरूलाई पृथ्वीको प्रादुर्भाव कसरी भयो, तारा र ग्रहहरूमा के फरक छ, पानीको विकास कसरी भयो, बाँदर र मानिसको विकास कसरी भयो र प्राचीन ढुङ्गे युगका मानिस के कस्ता थिए भन्नेबारे कक्षा सञ्चालन हुन्थ्यो ।
दोस्रो पटक आउने साथीहरूलाई मध्य पाषाणयुग र नव पाषाणयुग, त्यसबेलाका तिनीहरूको जीवनचर्या, घुमन्तु जाति, मातृसत्तात्मक समाज र सभ्यताको विकासको जानकारी दिइन्थ्यो । उपलब्ध छापा र तस्बिरहरू हेरेर उनीहरू इतिहासभन्दा पहिलेका मानव समाजको कल्पना गर्थे ।
तेस्रो पटक आउने साथीहरूलाई दासयुग, सामन्तवादी समाज र पुँजीवादी व्यवस्थाको विकास र परिणामबारेमा जानकारी गराइन्थ्यो । चौथो पटक आउने साथीहरूलाई दास विद्रोह, किसान विद्रोह, मजदुर आन्दोलनहरूका इतिहास र परिणामहरू बताइन्थ्यो । बेलायत र फ्रान्समा राजतन्त्रको पुनः स्थापना, अमेरिकी स्वतन्त्रता आन्दोलनपछि दासप्रथा र त्यसको मुक्ति आन्दोलन आदिबारे छलफल हुन्थ्यो ।
पाँचौँ पटक आउने साथीहरूसित पेरिस कम्युनको विजय र पराजय, १९१७ को बोल्शेविक क्रान्ति र सोभियत सङ्घ र पूर्वी युरोपेली समाजवादी देशहरूमा पुँजीवादको पुनः स्थापना र साम्राज्यवाद, विश्व युद्धको कारण र परिणामबारे छलफल हुन्थ्यो ।
छैटौँ पटक आउने साथीहरूसित विज्ञानको विकासले मानव समाजमा पर्ने परिणाम, अर्थतन्त्रको नागबेली बाटो, युद्ध र शान्ति तथा मानव समाजको भविष्यबारे गम्भीर छलफल हुन्थ्यो ।
३
म आफूलाई राजनैतिक चौकीको पहरेदारको रूपमा लिन्थँे । केही विद्यालयका प्रधानाध्यापक र शिक्षकहरू केही हजार रूपैँया बढी दिनासाथै आफैले स्थापना गरेको विद्यालय छोडेर अर्कै विद्यालय र कलेज वा विश्वविद्यालयमा जान्छन् । केही आमा आफ्ना लालाबालालाई टुहुरा–टुहुरी बनाएर अन्तै जान्छन्, त्यस्ता आमाहरूलाई सन्तानले ठूलो भएपछि बोल्नसमेत नमानेर राऐको मैले आफ्नै आँखाले देखेको छु । आफ्नो सम्पत्ति खर्च गरेर पठाएका छोराछोरीहरू फेरि अमेरिका गएर नफर्की आफ्नो भागको सम्पत्तिको दाबा गर्ने छोरा–बुहारी र दाजुभाइ पनि छन् । आफ्नै आमा र दिदी–बहिनीलाई भारतमा बेच्नेहरूको नाम नेपाली पत्रपत्रिकाले बरोबर छापेको सबैलाई थाहा छ ।
तिनीहरू सबै आफ्नो फाइदाको निम्ति वा सानो स्वार्थको निम्ति देश र आमा–बुबा छोडेर जानेहरूलाई लडाइँमा चौकी छोडेर शत्रु सेनालाई विजय गराउने देशद्रोही र विश्वासघाती मान्छन् । तिनीहरू अझ धेरै रकम दिने वा नाफा पाउने भए केटी बेच्ने र विदेशीहरूलाई पैसा खुवाएर श्रमिक युवाहरू बेच्ने म्यानपावरका दलाल हुन्छन् ।
यसकारण, म आफूलाई देशको चौकीदार र पहरेदार हुँ भन्न मन लाग्छ ।
भरत दाइका कति सहपाठीहरू दलालहरूलाई पैसा दिई विदेश गएर दलाल हुन सिकेको देख्दा त्यस्ता दलालहरूप्रति सा¥है घृणा जाहेर गर्नु हुन्छ । पछि तिनीहरू देश बेच्न पनि पछि पर्दैनन् भन्नुहुन्छ ।
उहाँ प्रेसमा गएर कामदार जनताका समाचारहरू मिलाएर छाप्नुहुन्छ र संसारका क्रान्ति र क्रान्तिकारीहरूबारे पुस्तक प्रकाशनको काम गर्नुहुन्छ । उहाँले धेरै पुस्तकहरू प्रकाशन गर्नुभयो । तर, उहाँ आफूलाई एक शिक्षकको रूपमा मात्रै परिचय दिनुहुन्छ ।
राम र लक्ष्मण देश र समाजको आमूल परिवर्तनको निम्ति माथिल्लो पदमा हुनुहुन्छ । तर, उहाँहरू आफूलाई हामी नेता र माथिल्लो समितिको भनी परिचय दिनुहुन्न । पढे–लेखेका प्रहरी र पत्रकारको नाउँमा काम गर्ने गुप्तचरहरूले थाहा पाए उहाँहरू धेरैपटक पक्राउमा पर्नुहुन्थ्यो । त्यसको परिणाम उहाँहरूलाई ठूलो सजाय हुन्थ्यो र जनताले आफ्ना ४ महत्वपूर्ण साथीहरू गुमाउँथे ।
म कान्छो भाइ हुँ । मैले १०–१२ वर्षकी बहिनीबाट भात पकाउन र भाँडा माझ्न सिकेँ । चार वर्षदेखि मैले यही चौकीमा काम गर्दै छु । सबै साथीहरू देशको परिवर्तनमा सहभागी गराउन सकेको सहयोग गर्दै छु । मलाई पद र पैसाको कुरा सुन्दा अचम्म लाग्छ र पुँजीवादी नेताहरू झगडा गरेको सुन्दा घृणा जाग्छ । कोही आफ्नो नाउँ ‘चलाउन’ पत्रकारहरूलाई पैसा दिएर आफ्नो समाचार छापामा छपाउन पैसा बाँड्छन् । कत्ति राम्रा मानिसहरू आफ्नो मेहनत र उपलब्धिलाई जनता र साथीहरूको सफलता भनी बताउँछन् !!!
Leave a Reply