अन्तर्राष्ट्रिय युवा दिवस र भदौ ९ (कालो दिन) को सम्झना
- भाद्र ८, २०८३
भक्तपुर, १६ कार्तिक । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले बिरामीहरूको स्वास्थ्योपचारको लागि एकपछि अर्को स्वास्थ्य सेवाका सुविधाहरू थप्दै गएको छ । तर, बिरामीहरूको सङ्ख्या बढ्दै गएको हुँदा अझै सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ । स्थान साँगुरो भएका कारण देखिएका कति समस्याहरू हाल बनिरहेको नयाँ भवनमा सरेपछि समाधान हुने अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू बताउँछन् ।
स्वास्थ्योपचारको निम्ति आएका बिरामीहरूको एउटा गुनासो टिकट लिनको निम्ति बस्ने लाइनको हो । बिरामीहरूको लाइन लामो भयो भन्ने उनीहरूको गुनासो हो । विशेषगरी टिकट लिने स्थान, दिसा, पिसाब र रगत परीक्षण गर्ने, रिपोर्ट लिने स्थान र औषधि लिने स्थानमा अलि लामो लाइन हुन्थ्यो । स्वास्थ्य परीक्षण र औषधि लिनको लागि लाइन बस्नुबाहेक अर्को विकल्प छैन । लाइनमा बस्ने अशक्त, ज्येष्ठ नागरिकहरूको लागि लाइनमा बस्ने मेच या बेन्चको व्यवस्था भयो भने त्यो सुनमा सुगन्ध हुन्छ ।
प्रयोगशाला कक्षबारे पनि बिरामीहरूको गुनासो छ । दिसा–पिसाब र रगतको रिपोर्ट लिने स्थान दिनभरि नै खुला हुुनुपर्ने उनीहरूको माग हो । पहिले बिहान ७ बजेदेखि ९ बजेसम्म दिँदै आएको समय बढाएर अहिले दिनको १ बजेसम्म खुला गरिएको कुरा प्रयोगशालामा कार्यरत मञ्जु ब्याञ्जू बताउनुहुन्छ । त्यसबाहेक प्रयोगशालाको काम भिड नहुने बेला अरू समयमा पनि रिपोर्ट दिने काम गरिरहेको उहाँ बताउनुहुन्छ ।
बिरामीहरूको अर्को गुनासो हो – औषधिको । बिरामीहरूका अनुसार स्वास्थ्य परीक्षणमा चिकित्सकले औषधि लेखेको हुन्छ तर औषधि वितरण गर्ने ठाउँमा औषधि हुँदैन या सकिएको हुन्छ । औषधि लिन लामो समय लाइन बसेर बीमामा परेको औषधि लिन नपाउँदा बिरामीहरू झर्किनु स्वाभाविक हो । औषधि राख्ने भण्डारणमा कुन औषधि सकिएको छ या सकिन लागेको छ त्यो चिकित्सकलाई थाहा हुँदैन । औषधिको जिम्मामा सम्बन्धित व्यक्तिले कुन कुन औषधि सकिन लागेको हो त्यो औषधि सकिनुअघि नै बन्दोबस्त गर्ने प्रक्रिया अघि बढाए समस्या सजिलै हल हुन्छ । आफ्नो भण्डारणमा कुन कुन औषधि छ छैन भन्नेबारे जानकारी लिन एक–आपसमा समन्वयको आवश्यकता हुन्छ ।
ख्वप अस्पतालमा बढिरहेको बिरामीको भिड कम गर्ने अर्को उपाय भनेको भगवती स्थानको जनस्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र ब्यासी र आधारभूत स्वास्थ्य सेवा केन्द्र सल्लाघारीलाई अझ व्यवस्थित गर्नुपर्ने हुन्छ । ती केन्द्रहरूबाट पनि निश्चित औषधि अर्थात् उच्च रक्तचाप, मधुमेह, थाइराइड (गलग्रन्थ), दमखोकी, भिटामिन आदि औषधिहरू सोही स्थानबाट दिने व्यवस्था भए ख्वप अस्पतालको सेवामा सहज हुने देखिन्छ ।
शाखा स्वास्थ्य केन्द्रले पनि रगत परीक्षण गरेर ख्वप अस्पतालको प्रयोगशालमा परीक्षण कतिको सम्भव हुन्छ ? प्रयोगशालाबाट प्राप्त जानकारीअनुसार कार्तिक १२ गते दिसा–पिसाब र रगत परीक्षण गराउने सङ्ख्या १४० र कार्तिक १३ गते ३१० जना रहेका छन् । हाल प्रयोगशालामा १० जना ल्याब टेक्निसियनहरू कार्यरत छन् । दिनको २ बजेपछि पनि त्यहाँ ३ जना टेक्निसियनको व्यवस्था छ । उहाँहरूका अनुसार निर्माण भइरहेको नयाँ भवनमा स्थानान्तरण भएपछि हाल देखिएका केही समस्याहरू समाधान हुनेछ । स्थान अभाव भएकोले पनि काममा केही समस्या आएको उहाँहरूको भनाइ छ ।
प्रयोगशालामा अशक्त या वृद्धवृद्धाहरूलाई दिसा–पिसाब र परीक्षण गर्न तथा रिपोर्ट दिन प्राथमिकता दिएको देखिन्छ । त्यस्तै सेवा औषधि लिने, स्वास्थ्य परीक्षण गराउने र टिकट लिने स्थानमा पनि गर्नुपर्ने देखिन्छ ।
हाल भइरहेको स्वास्थ्य सेवा छिट्टै नयाँ भवनमा स्थानान्तरण गर्ने प्रयास गरिरहेको जनप्रतिनिधिहरू बताउनुहुन्छ । तर, नयाँ भवनमा सबै निर्माण कार्य सम्पन्न भइसकेको छैन । निर्माण कार्य पहिलो तल्लाबाट सकाउँदै गए ठाउँ स्थानान्तरण गर्न सजिलो हुनेछ । कहीँ विद्युत्को त कहीँ पानी ट्याङ्कीको काम भइरहेको छ ।
श्वास प्रश्वास सेवा केन्द्र पनि सञ्चालन भइरहेको छ । सेवा केन्द्रले दिइरहेको सेवाबारे थाहा नपाएर या प्रचार नपुगेर हो, उक्त केन्द्रबाट जति बिरामीले सेवा पाउनुपर्ने हो पाइरहेका छैनन् । प्राप्त जानकारीअनुसार उक्त केन्द्रमा थोरैमात्रै बिरामी पुगिरहेका छन् । श्वास प्रश्वासको समस्या भएको बिरामी नै कम भएको भए त्यो ठिक्कै हो । तर, दमखोकीका बिरामीहरू यहाँ नभएका होइनन् । जनताले पनि कुन सेवा कहाँ प्रदान गरिरहेको छ ? थाहा पाउनुपर्छ ।
ख्वप अस्पतालमा आइपरेका समस्या हल गर्न सम्बन्धित सरोकारवालाहरूबीच बेलाबखत छलफल गर्नुपर्ने देखिन्छ । एक–आपसमा समन्वय गर्ने काममा अनुभवी चिकित्सकहरूको बढी ध्यान जानुपर्ने आवश्यकता छ । जनताले सकेसम्म सेवाको खोजी गर्नु अन्यथा होइन । तर, भएभरको सेवा दिन सकिने पनि होइन । प्रगति भइरहेको छ । ख्वप अस्पतालमा कार्यरत हरेक चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र अन्य संलग्न व्यक्तिहरूले ख्वप अस्पताल साँच्चै जनताको सेवा गर्न सञ्चालन भइरहेको हो भन्ने कुरा बुझ्नुपर्छ । काम गर्दा कमी कमजोरी हुन सकिन्छ । कमी कमजोरी सुधार गर्दै अघि बढेमा भनपाको उद्देश्य पूरा हुनेछ । यसले जनताको सेवा गर्नेछ ।
Leave a Reply