भर्खरै :

असल उम्मेदवारलाई मतदान आवश्यक

दलीय व्यवस्थामा दलको राजनीति हुन्छ, हुनुपर्छ । राजनीति दलहरूले नै गर्नेछन् । दलले राजनीति नगरे अरू कसले गर्छ ? जनताले दलहरूप्रति घृणा गर्नु ठीक होइन । किनकि, सबै दल र दलबाट उठेका उम्मेदवारहरू खराब होइनन्, गलत विचारका होइनन् । देशका सबै दलहरू देशघाती छैनन् । सबै दलले दलको सिद्धान्त र विचारअनुसार काम नगरेका होइनन् । सबै दल गठजोडमा लागेका छैनन् । कुनै दलले गरेको दोष या कमीकमजोरी सबै दलमाथि थोपर्नु गलत हो । कति दलको कारण जनतामा निराशा छाएको हो, राजनीतिप्रति वितृष्णा भएको हो । देश र जनताको निम्ति सङ्घर्षरत दलहरू पनि छन् । अतः असल व्यक्ति हेरेर मतदाताले मतदान गर्नुपर्छ या भोट खसाल्नुपर्छ । देश र जनताप्रति समर्पित असल उम्मेदवारहरूलाई छान्नु हरेक देशभक्त र सचेत मतदाताको कर्तव्य हो, त्यो कर्तव्य प्रत्येकले निर्वाह गर्नुपर्छ ।
कुनै पनि दलले अलोकतान्त्रिक र अराजनीतिकढङ्गले चुनावी गतिविधि गरेर मतदातालाई भुल्याउने काम गर्नु ठीक होइन । निर्वाचनको बेला शासक दलका नेता तथा कार्यकर्ताहरू जसरी भए पनि निर्वाचन जितेर सत्ता हत्याउने प्रयासमा छन् । उनीहरूको ध्यान जसरी भए पनि जित्ने, सरकारमा जाने र देशको राजस्वमा रजाइँ गर्ने रहेको छ । पद र पैसाको निम्ति राजनीति गरिरहेको थाहा हुँदाहुँदै, लोभलालच देखाएर र पैसा बाँडेर मत लिइरहेको थाहा हुँदाहुँदै किन ती नै दलका उम्मेदवारलाई मत हाल्छन् ? शासक दलका नेताहरूले जनताको मत जित्न सकेका भए गठबन्धन गर्नुपर्ने आवश्यकता नै थिएन । यसकारण, जनता प्रश्न गर्दै छन्, सधैँ कुर्सीका लागि लडिरहने दलका उम्मेदवारलाई अहिले किन फेरि जिताउने ?
जनताले विश्वास गरेर उनीहरूलाई जिताएर शासक वर्गमा पु¥याए । तर, शासक वर्गका नेताहरूले जनतालाई भुले । जनता सधैँ शासक दलका नेताहरूको दास बन्ने होइन । जनता अब लहैलहैमा जाने होइन । यतिबेला जनताले सोचविचार गर्नुपर्छ, चिन्तन मनन गरेर असल उम्मेदवारलाई जिताउनुपर्छ । असल उम्मेदवारलाई मत हाल्दा हाम्रो मत खेर जाँदैन । हाम्रो मत देश र जनताकै निम्ति हुन्छ । एकक्षण, एकपटक प्रलोभन देखाएर पनि जनताको मत लिन पाए पाँच वर्ष ढुक्क हुन्छ भन्ने कुरा शासक दलका नेताहरूले बुझे । यसकारण, शासक दलका नेताहरू अनेक भ्रमजाल गर्छन् । असल नेता, प्रम, मन्त्री, सांसद र जनप्रतिनिधि नभएकै कारण देशको स्थिति बिग्रेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *