भर्खरै :

संरा अमेरिकालाई लुलाबारे केले चिन्तित बनाउँछ ?

संरा अमेरिकालाई लुलाबारे केले चिन्तित बनाउँछ ?

अमेरिकी राष्ट्रपति जो बाइडनले ब्राजिलको राष्ट्रपतिमा विजयी भएका लूइज इनासियो लुला दा सिल्भालाई बधाई दिँदै ‘स्वतन्त्र, निष्पक्ष र विश्वसनीय’ निर्वाचन परिणामबाट विजयी भएकोमा बधाई भन्ने शब्द उल्लेख गरे । अक्टोबर ३० आइतबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा विद्यमान राष्ट्रपति जायर बोल्सोनारोलाई झिनो मतान्तरले पराजित गरी लुला विजयी भएका हुन् ।
केही राजनीतिक विश्लेषकहरूले बाइडन प्रशासनका यी शब्दहरूको व्याख्या गर्दै ब्राजिलको निर्वाचनले लुलाको अगाडि बलियो विपक्षी खडा रहेको र लुला सफल राष्ट्रपति हुनका लागि ‘ट्रपिकल ट्रम्प’ नामले चर्चित विपक्षीहरूमाझ जरा गाड्नुपर्ने बताएका छन् । यस किसिमको तर्कले ब्राजिलको स्थितिलाई पूरै झूटो नभए पनि राम्ररी नै गलत चित्रण गर्ने गर्छ । लुलाको पुनरागमनबाट वासिङ्टनलाई सबभन्दा बढी चिन्तित बनाएको विषय भनेको शक्तिशाली असंलग्न आन्दोलनको पुनर्जागरण र लुलाले आफ्नो स्वभावअनुसार ल्याउनसक्ने प्रगतिशील कार्यक्रम हो । आफ्नो अघिल्ला दुई कार्यकालमा लुलाले आफैलाई विकासशील विश्वको प्रवक्ताका रूपमा उभ्याएका थिए ।
त्यहाँदेखि समय धेरै परिवर्तन भइसकेको छ । विश्वमा सैद्धान्तिक हिसाबले विविधता भएका सरकारहरूको सङ्ख्या बढिरहेको छ । ती सरकारहरू पनि पहिले संरा अमेरिकाप्रति नतमस्तक थिए तर अहिले साहसपूर्वक अमेरिकी प्रभुत्वको प्रतिवाद गर्न थालेका छन् । यसले असंलग्न राष्ट्रहरूको खेमा बलियो हुने उर्वर भूमि फराकिलो हुँदै गएको छ र युक्रेनको मामिलामा नाटोको अडानप्रति पुनर्विचार गर्ने देश बढ्दै गएको छ ।
चीन र भारतदेखि दक्षिण अमेरिका र अफ्रिकासम्मका विश्वको ठुलो जनसङ्ख्याले रुसविरुद्धको प्रतिबन्धको शासनमा सामेल भएका छैनन् र बिस्तारै पश्चिमा प्रणालीको विकल्पमा एक नयाँ र उदीयमान आर्थिक, वित्तीय र वाणिज्य प्रणालीतर्फ अघि बढिरहेका छन् । त्यतिमात्र होइन, विश्वका मुख्य शक्तिहरूको पूर्ण असक्षमता, विशेषगरी संरा अमेरिका र पश्चिम युरोपको असक्षमताले युक्रेनको द्वन्द्वलाई सम्झौतामा ल्याउन असफल भएका छन् । यो परिस्थिति लुलाजस्ता मध्यमार्गी र खुला दिमागका नेतालाई अगाडि आउने स्थान खुला गरेको छ । लुलाले आफ्नो पूरै राजनीतिक जीवनमा मजदुर र रोजगारदाताबीच र जनता र शासकहरूबीच तथा विभिन्न राजनीतिक पृष्ठभूमिका राजनीतिज्ञहरूबीच आपसी सम्झौताको निम्ति काम गरेका छन् ।

विदेश नीति अग्रमोर्चामा
अक्टोबर ३० आइतबारको लुलाको जीत बोल्सोनारोको ४९.१ प्रतिशतविरुद्ध ५०.९ प्रतिशतको झिनो मतान्तरले मात्र भएको सत्य हो । उनको पहिलेका राष्ट्रपतीय कार्यकाल
(२००३–२०१०) मा जस्तै अहिले पनि बोल्सोनारोको दलीय गठबन्धनलगायत मध्यमार्गी र दक्षिणपन्थीहरूले सदन नियन्त्रण गर्नेछन् । शक्तिको सन्तुलनको प्रतिकूलताले निश्चितरूपमा लुलालाई घरेलु शक्तिहरूसँग सम्झौता गर्न बाध्य पार्नेछ । उदाहरणको लागि निर्वाचन प्रचारको क्रममा वाचा गरेजस्तो धनीहरूमाथि उच्च दरमा कर लगाउन सक्नेछैनन् । तर, विदेश नीतिमाथि घरेलु दबाब कम मात्र पर्नेछ र लुलाले निर्वाचन अभियानका क्रममा वाचा गरेजस्तै क्षेत्रीय र विश्व मामिलाहरूमा मुख्य भूमिका निर्वाह गर्न सक्नेछन् । आफ्नो विजयपछि आइतबार साउपाउलोमा गरेको सम्बोधनमा लुलाले ब्राजिलको महत्वपूर्ण अन्तर्राष्ट्रिय भूमिका फर्काउने वाचा गरेका थिए । बोल्सोनारोको अपरिपक्व कूटनीति र विवेकहीन भनाइहरूको परिणामस्वरूप ब्राजिलको प्रतिष्ठा खस्केको थियो । बोल्सोनारोले कोभिड–१९ को लागि ट्रम्पले जस्तै चीनमाथि सिधा आरोप लगाएका थिए भने २०१९ मा अमेजनमा लागेको डढेलोका लागि हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियोमाथि आरोप लगाएका थिए ।
सन् २००३ मा लुला सत्तामा आएको केही समयपछि नै वासिङ्टनको संस्थापनले लुलालाई एक विश्वसनीय मध्यमार्गी र ह्युगो चाभेज, ते मोरालेस र नेस्टर क्रिच्नरजस्ता क्रान्तिकारीका निम्ति प्रतिवादका रूपमा लिएका थिए । मेक्सिकोका पूर्वविदेशमन्त्री जर्ज कास्टानेडाले आफ्नो चर्चित पुस्तक – ‘लेफ्टओभर्स ः टेल्स अफ टु ल्याटिन अमेरिकन लेफ्टस’ (वामपन्थ लहर ः ल्याटिन अमेरिकाका दुई वामपन्थको कथा) मा विश्वसनीय भनी लुलाको प्रशंसा गरेका थिए भने चाभेज एण्ड कम्पनीजस्ता ‘खराब वामपन्थी’ भन्दा भिन्न भएको लेखेका थिए । कास्टानेडाले चाभेजलाई ‘लोकप्रियतावादी’ र ‘अमेरिकाविरोधी’ को विल्ला भिराएका थिए । तर, लुलाको त्यस्तो सकारात्मक चरित्रचित्रण २०१० मा आएर बदलियो । लुलाको घरेलु नीतिका कारण त्यो चरित्रचित्रण बदलिएको थिएन बरु उनको विदेश नीतिका कारण थियो । लुलाले १९६७ को सिमानाका आधारमा प्यालेस्टाइन राज्यलाई मान्यता दिएपछि अमेरिकी, युरोपेली शासकहरू तथा तिनीहरूका चाटुकारहरूले लुलाको दानवीकरण सुरु गरे । राइटर्स समाचार संस्थाका अनुसार त्यही वर्ष लुलाले इरानी राष्ट्रपति मोहम्मद अहमदिनेजादसँग कुराकानी गरेर र इरानको शान्तिपूर्ण आणविक कार्यक्रमको बचाउ गरेर वासिङ्टनलाई वैरी बनाएका थिए ।
त्यसपछिदेखि लुला व्यावहारिक वामपन्थी रहेनन् बरु गैरजिम्मेवार लोकप्रियतावादी भए तर लुलाले कहिल्यै आफूलाई लोकप्रियतावादीको रूपमा आफूलाई चित्रण गरेनन् । गएको अक्टोबर २ का दिन सम्पन्न राष्ट्रपति निर्वाचनको पहिलो चरणको निर्वाचनमा ४७ प्रतिशत मतका साथ लुलाले जीत हासिल गरेपछि द वालस्ट्रिट जर्नलले – ‘ब्राजिलको निर्वाचनमा लोकप्रियतावादको जीत’ शीर्षकमा समाचारमूलक लेख प्रकाशित ग¥यो । लोकप्रियतावादलाई पश्चिमाहरू तानाशाहीको पर्यायको रूपमा लिन्छन्, यद्यपि उनीहरूसित लोकप्रियतावादको कुनै ठोस परिभाषा छैन ।
त्यस्तै वालस्ट्रिट जर्नलका सम्पादक मेरि अनास्टासिया ओग्रेडीले सम्पादकीयमा लेखिन् –राष्ट्रपति उम्मेदवार लुलाले फेरि मध्यमार्गको आफ्नो वाचा पूरा गर्नुपर्छ । उनको विनम्र लोकप्रियतावादीको छवि नै उनको लागि सबैभन्दा ठुलो फाइदा भइरहेको छ ।
भाष्य निर्माण लोकप्रियतावादको एउटा महत्वपूर्ण तत्व हो तर लुलाको सन्दर्भमा कुनै भाष्य निर्माण भएको देखिँदैन । त्यसैले लुलाको सत्तारोहणलाई लिएर संरा अमेरिकाको चिन्ता भनेको ब्राजिलको राष्ट्रपतिको रूपमा लुलाले अमेरिकी प्रभुत्वलाई चुनौती दिने कदमहरू नै हुन् । त्यस्तो चुनौती वा खतरा सबैभन्दा बढी पाँच शक्तिशाली देशहरूको आर्थिक सङ्गठन ब्रिक्सबाट उत्पन्न हुने देखिन्छ । ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका रहेका छन् ।
वासिङ्टनका सन्देहवादी अधिकारीहरू र विश्लेषकहरूले ब्रिक्सको शिखर सम्मेलनलाई अमेरिकी सरकारले ‘गफको अड्डा’ भनी बेवास्ता गर्न नहुने र त्यसमा केही कुरा पनि सामान्य नरहेको बताउँछन् । ट्रम्प प्रशासनका विदेशमन्त्री माइक पोम्पेओले जाँदाजाँदै ‘ब्रिक्सलाई सम्झन्छौ ?’ भन्दै ब्राजिलको रुसदेखिको डर र भारतको चीनदेखिको डरले नै उक्त सङ्गठन बेकार हुने बताएका थिए । तर, अहिले दुई वर्षपछि युक्रेनको स्थितिले र ब्राजिलमा लुलाको पुनरागमनपछि सन्देसवादीहरूको तर्क आधारहीन नभएको देखिएको छ ।
२०१८ मा लुलालाई भ्रष्टाचारको अभियोगमा जेलमा राखिएको थियो । लुलाका समर्थकहरूले भ्रष्टाचारको आरोपलाई बनिबनाऊ आरोप भन्दै आएका थिए । २०१९ मा जेलमा रहँदै दिएको अन्तर्वार्तामा लुलाले स्पष्ट भनेका थिए, ‘ब्रिक्स रक्षाको औजारको रूपमा होइन बरु आक्रमणको औजारको सिर्जना गरिएको थियो । यस वर्ष निर्वाचन अभियानको क्रममा लुलाले ब्राजिललाई ब्रिक्समा सक्रिय बनाउने मात्र नभई ल्याटिन अमेरिकी र क्यारिबियाली राज्य समुदाय’ सेलाक र दक्षिण अमेरिकी राष्ट्रहरूको सङ्घ उनासुरमा सक्रिय पार्ने घोषणाले उनको सन्देश स्पष्ट नै छ । लुलाको जीतको एकदिनपछि नै साउपाउलो पुगेर उनलाई जीतको बधाई दिएका अर्जेन्टिनाका राष्ट्रपति अल्वर्टो फर्नान्डेजले भने, ‘लुला भएपछि अहिले हामीलाई ब्रिक्समा आबद्ध हुने प्रयासमा एक अभियन्ता मिलेको छ ।’
वासिङ्टनले भने ब्रिक्सको विस्तारलाई रुस र चीनले सदस्यताको माध्यमबाट उत्पन्न गरेको खतराको रूपमा लिएको छ । ब्राजिलको निर्वाचन सम्पन्न हुनुअघिको सप्ताहान्तमा अमेरिकी विदेश मन्त्रालयको सहायता संस्था ‘नेशनल इन्डोमेन्ट अफ डेमोक्रेसी’ (एनईडी) ले लेख्यो ‘ब्रिक्सको विस्तारबाट अर्जेन्टिना, इरान र सम्भवतः इजिप्ट, साउदी अरेविया र टर्कीएलाई सदस्य बनाएर रुसले आफ्ना साझेदारहरू बढाउनेछ र त्यसको साथसाथै उल्लेख्य प्रतिशत कुल ग्राहस्थ उत्पादन र विश्व जनसङ्ख्याको ठुलो प्रतिशत आफ्नो पक्षमा पार्नेछ ।’

लुला कति स्वतन्त्र ?
युक्रेन द्वन्द्वबारे लुलाको विचारले वासिङ्टन खुसी हुन सक्दैन । लुलाले युक्रेन मामिला सम्झौताको माध्यमले समाधान गर्नका लागि ब्रिक्सले महत्वपूर्ण भूमिका खेल्न सक्नेमा जोड दिँदै आएका छन् र मौका मिलेमा आफू स्वयम्ले पनि शान्ति सम्झौताको लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न तयार रहेको बताएका छन् । टेलेसुरका अनुसार लुलाले भनेका छन् – यदि युक्रेनका प्रतिनिधिहरूलाई ब्राजिलको कूटनीतिक टेबुलमा अप्ठ्यारो अनुभव भएमा बार (भट्टी) को टेबलमा बसेर पनि शान्तिमा पुग्न सकिन्छ । तर, लुलालाई लिएर संरा अमेरिकाको डर एउटै मात्र छैन । रुस र चीनसितको लुलाको नजिकपनले अमेरिकी नीति निर्माताहरूलाई राति पनि सुत्न दिएको छैन । वासिङ्टनको भन्दा भिन्न मत राख्दै लुलाले ह्वाँ ग्वाइडोलाई नभई भेनेजुयलाको प्रजातन्त्र र निकोलस माडुरोलाई वैध मानेको छ । पत्रकार बेन नोर्टनले अमेरिकाका स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार संरा अमेरिकाले मान्यता दिएका ह्वाँ ग्वाइडो युद्धपिपासु अपराधी हुन् जसलाई जेलमा हाल्नुपर्छ । दोस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा लुलाले ‘दि इकोनोमिस्ट’ सित कुरा गर्दै मानिसहरूले निकारागुवा, क्युवा र भेनेजुयलाको कुरा गर्छन् तर कोही पनि कतारको बारेमा कुरा गर्दैनन्, कसैले संरा अमेरिकाको बारेमा कुरा गर्दैनन् ।
वास्तविक असंलग्न अन्दोलन १९५० मा संस्थापन हुँदा त्यसमा नेताहरू जोसिप ब्रोज टिटो, अब देल नास्सेर र क्वामे एनक्रुमा सबैजना वामपन्थी र समाजवादप्रति कटिबद्ध थिए । उक्त आन्दोलनले विउपनिवेशीकरण (उपनिवेशबाट स्वतन्त्रता) को पक्षमा वातावरण सिर्जना गर्न, निःशस्त्रीकरण गर्न, जातिवाद र रङ्गभेदको विरोध गर्नमा मुख्य भूमिका खेलेको थियो ।
असंलग्न आन्दोलन अझै बाँकी छ तर असंलग्न देशहरूले आबद्ध हुन अस्वकिार गरेकामध्ये एक ध्रुवको नेतृत्व गरेको सोभियत सङ्घको अन्त भइसकेको छ । अहिले संरा अमेरिकामात्र बाँकी छ । लुलाले संरा अमेरिकाप्रतिको आफ्नो आलोचना कहिल्यै लुकाएका छैनन् । आफूलाई जेलमा राख्नका लागि ब्राजिलका सरकारी वकिलहरूसँगै अमेरिकी अनुसन्धानकर्ताहरूले पनि सहकार्य गरेको आशङ्का लुलालाई लागेको छ । तथ्यप्रमाणसहितको उनको आरोप ‘ब्रासिलवायर’ समाचारपत्रमा राम्ररी प्रकाशित भएको छ ।
लुलालाई ल्याटिन अमेरिकामा आउन लागेको प्रगतिशील लहरको नेता हुनबाट रोकियो तर २०१८ मा मेक्सिको आन्ड्रेज म्यानुअल लोपेज ओब्राडरको विजयले त्यसको थालनी ग¥यो । अहिले ल्याटिन अमेरिकाको वास्तविक प्रश्न भनेको के लुलाले नेतृत्वकारी भूमिका निर्वाह गरेर ल्याटिन अमेरिकाको प्रगतिशील ब्रान्ड र संरा अमेरिकालाई चुनौती दिन विश्वमा नै बढिरहेको बहुध्रुवीयताको आन्दोलनलाई अगाडि बढाएर आफ्नो राजनीतिक उचाइ कायम राख्न सक्लान् ? र विश्वभर आफ्नो राजनीतिक प्रभुत्व घटेपछि वाशिङ्टनले कसरी प्रतिक्रिया जनाउला ? भन्ने हो ।
अनुवाद :प्रकाश
ब्रिक्स मुद्रा

Leave a Reply

Your email address will not be published. Required fields are marked *